Khadya Bibhag

राष्ट्रपतिहरुमाथि छोटा गृहमन्त्रीको यस्तो आरोप

छोटा गृहमन्त्रीको रुपमा परिचित महेन्द्र यादव एमालेका सचिव रघुवीर महासेठसँग धुनषामा चुनाव हार्नुभएको छ । गृहमन्त्री बालकृष्ण खाँणलाई लिएर उहाँले धनुषामा आफ्नो चुरीफुरी बढाउनु भएको थियो । विमलेन्द्र निधिको कार्यकर्ता भएर काम गर्नुभएका महेन्द्र यादवले उहाँलाई नै टक्कर दिन गरी राजनीतिक गतिविधि बढाउनु भएको थियो ।

गृहमन्त्री खाँणको आडमा उहाँले धनुषामा आफू शक्तिशाली रहेको र देउवा गुटमा निधिको ठाउँ आफूले लिएको पनि प्रतिकृया दिन थाल्नुभयो । तर चुनावमा गृहमन्त्री खाँण पनि हार्नुभयो र छोटा गृहमन्त्रीको रुपमा चिनिएको महेन्द्र पनि हार्नुभयो ।

महेन्द्र यादवले आफू हरेको सम्पूर्ण दोष राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राष्ट्रपति डा.रामवरण यादवलाई दिइरहनु भएको छ । उहाँ पराजित भएपछि धनुषा कांग्रेसमा विवाद सुरु भएको छ ।

उहाँले पूर्व राष्ट्रपति यादव र उहाँका छोरा डा. चन्द्रमोहन यादवले एमालेका नेता रघुवीर महासेठसँग मिलेर चुनाव हराएको आरोप लगाउनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेसका नेतृ किरण यादवलाई प्रयोग गरेर आफूलाई हराएको पनि उहाँको आरोप छ । किरण यादव राष्ट्रपति भण्डारीको सम्धीनी हुनुहुन्छ ।

रघुवीर महासेठलाई जिताउनका लागि राष्ट्रपति भण्डारीले किरण यादवलाई प्रयोग गरेको महेन्द्र यादवको दावी छ । उहाँले प्रदेशबाट निर्णय गराएर पूर्वराष्ट्रपतिका छोरा चन्द्रमोहन र किरण यादवलाई कारवाही गर्नका लागि केन्द्रमा पत्र पठाएको छ ।

अब केन्द्रले राष्ट्रपति र पूर्वराष्ट्रपतिका मान्छेलाई हात लगाउन हिम्मत गर्छ कि गर्दैन त्यो हेर्न बाँकी छ । तर महेन्द्र यादव गृहमन्त्री खाँणको आडभरोसमा कारवाही गराउनका लागि दौडधुपमा लाग्नु भएको छ । उहाँले कांग्रेसीहरुलाई रघुवीरको पक्षमा मतदान गर्न लगाएको प्रमाण समेत आफूसँग रहेको दावी गर्नुभएको छ ।

धनुषा ४ मा सचिव महासेठसँग यादव १२४ मतले पराजित हुनुभएको छ । महासेठले ३२ हजार २३६ मत ल्याउँदा यादवले ३२ हजार ११२ मत ल्याउनु भएको छ ।

–सहारा टाइम्स पत्रिकाबाट

तपाईको प्रतिक्रिया