मुख्यमन्त्री बनाउन ठूलाबडाको दौडधुप

मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सम्पन्न भइ मत परिणाम पनि सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले मत परिणामको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तर गरिसकेको छ ।

योसँगै केन्द्रमा सरकार गठनदेखि लिएर प्रदेशसम्म कसको नेतृत्वमा सरकार गठन हुने चर्चा र चहल पहल सुरु भएको छ । सबैको ध्यान मधेश प्रदेशतिर छ । त्यहाँको सरकारलाई जसपा, लोसपा, जनमत पार्टीलगायतले पनि नेतृत्व गर्ने भनिरहेका छन् भने काँग्रेस र एमालेको सबभन्दा बढी सीट भएको कारणले उसले पनि आआफ्नो दावी गर्ने स्वभाविक नै हो । मधेश प्रदेश सरकारको नेतृत्व यसपटक काँग्रेसले गर्ने पुरै तयारी गरेको छ । सत्ता गठबन्धनको हिसाब किताब गर्दा काँग्रेसको नेतृत्वमा सरकार बन्ने पक्का छ ।

काँग्रेसबाट मुख्यमन्त्री बन्नकै लागि रामसरोज यादव, विरेन्द्र सिंह र कृष्ण यादवको प्रतिस्पर्धा रहेको छ । काँग्रेसका नेता विमलेन्द्र निधिले रामसरोज यादव (धनुषा) लाई मुख्यमन्त्री बनाउनुपर्छ भनि दौडी रहनु भएको छ भने विरेन्द्र सिंहलाई मुख्यमन्त्री बनाउनका लागि हालै लोसपाबाट काँग्रेसमा जानु भएको चन्दा चौधरीले जो समानुपातिकबाट सांसद पनि बन्नु भएको छ उहाँले पनि दौडधुप गरिरहनु भएको छ भने कृष्ण यादव (रौतहट) का लागि रमेश रिजाले दौड लगाइ रहनु भएको छ । तर यसपटक मधेश प्रदेशमा को मुख्यमन्त्री बन्ने कुरामा भारतले पनि इन्ट्रेस्ट राखेको छ ।

यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवले एकजना मुसलमान जातीका लालबाबु राउतलाई मुख्यमन्त्री बनाउनु भएको थियो । त्यसलाई मधेशमा धेरैजनाले मन पराएका थिएन । भारतलाई पनि मन परेको थिएन । यस विषयमा नेपालस्थित भारतीय दूतावासले जसपाका अध्यक्ष उपेन्द्र यादवसमक्ष पनि गुनासो गरेको थियो ।

तर उपेन्द्र यादवले कुनै सुनुवाई गर्नुभएको थिएन । यसपटक भारतले आफ्नो च्वाइस अनुसार त्यहाँ मुख्यमन्त्री बनाउने गरी लविङमा लागेको छ । चन्दा चौधरीलाई भारतको सबभन्दा नजिकको मानिन्छ ।

विरेन्द्र सिंह पनि भारतको शुभचिन्तकमध्येमा नै पर्नुहुन्छ । तर मधेश प्रदेशमा को मुख्यमन्त्री बन्छ त्यसमा फस्र्टलेडी प्रधानमन्त्री शेरबहादुर देउवाका श्रीमती एवं समानुपातिक सांसद आरजु देउवाको पनि प्रमुख हात रहनेछ । फस्टलेडी आरजु देउवालाई विरेन्द्र सिंह र चन्दा चौधरीले सर्लाहीको भ्रमण गराई सक्नुभएको छ । जोडतोडले स्वागत सत्कार गर्नुभएको छ ।

काँग्रेसका एक नेताले भन्नुभयो, ‘चन्दा चौधरी र आरजुको राम्रो दोस्ती छ । चन्दा र आरजुको भारतसँग पनि राम्रो रिलेशन भएको कारण भारतले जसलाई च्वाईस गर्छ उही त्यहाँको मुख्यमन्त्री बन्छन् र त्यसमा विरेन्द्र सिंहको सम्भावना निकै बलियो छ ।’ स्रोतका अनुसार जनमत पार्टीका अध्यक्ष सिके राउतले बालुवाटारमा मधेश प्रदेशको नेतृत्व आफ्नो दललाई दिनुस्, आफ्नो दलले नेतृत्व नपाए भने विरेन्द्र सिंहलाई मुख्यमन्त्री बनाउँदा हुन्छ भनि संकेत गरिसक्नु भएको छ । उहाँले रामसरोज यादव र कृष्ण यादवभन्दा विरेन्द्र सिंह नै उत्तम रहने भनि सकेको स्रोतले जनाएको छ ।

यद्यपी कृष्ण यादव पनि केन्द्रमा दवाव बनाई रहनु भएको छ । पर्साबाट प्रतिनिधि सभामा चुनाव जित्नु भएका रमेश रिजालको सम्बन्ध प्रधानमन्त्री देउवासँग राम्रो छ । अहिले मधेशमा रिजालले आफ्नो बर्चस्व बनाइ रहनु भएको छ । कृष्ण यादवका लागि उहाँले निकै ठूलो प्रयास गरिरहनु भएको छ । तर यहाँ कसको चाहनामा को मुख्यमन्त्री बन्ने अहिले नै निक्र्योल गर्न नसकिने बताउँछन् काँग्रेसका नेताहरु ।

समानुपातिकबाट सांसद हुनुभएका विमेन्द्र निधिले रामसरोज यादवको लागि पहल गरेपनि प्रभाव पर्ने गरि दवाव नपुगेको मधेश प्रदेशका काँग्रेसका नेताहरु बताउनु हुन्छ । काँग्रेस तथा अगामी सरकारमा आफूलाई कसरी सुरक्षित गर्नेतिर निधिको ध्यान रहेको छ । उहाँले पहिला आफूलाई सुरक्षित गर्नुहुन्छ अनि मात्र अरुको लागि केही गर्नुहुन्छ भनि मधेश प्रदेशको काँग्रेसी नेताहरुमा चर्चा हुने गरेको छ ।

-सहारा टाइम्स पत्रिकाबाट

तपाईको प्रतिक्रिया