काठमाडौँ पुस १६ गते । नीजि दूध डेरीले आजदेखि गरेको दूधको मूल्य वृद्धिको चौतर्फी विरोध भइरहेको छ । उपभोक्तालाई मर्का हुनेगरि केही नीजि डेरी उद्योगीहरुले आज शनिवारदेखि लागु हुने गरी मूल्य वृद्धि गरेको छ त्यसको विरोधमा सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, नेपाली डेरी एशोसिएशन र केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका छन् ।
केही डेरी उद्योगीले एकलौटी रुपमा मनमौजी रुपमा दूधको मूल्य वृद्धि गरेको प्रति ती संघ संस्थानले आपत्ति जनाएको छ । केही डेरी उद्योगीहरुले एकलौटी ढंगले उद्योग निहित हितलाई शिरोपर गर्दै किसानको लागत मूल्य समेतको सम्बोधन नगरि निर्धारण गरेकोमा आफूहरुको ध्यानाकर्षण भएको जनाएको छ ।
कृषक मूल्य वृद्धिको नाममा उपभोक्ता मूल्य बढाएकोमा उपभोक्ताको मूल्य बढाएको ठहर उनीहरुले गरेका छन् ।
मूल्य वृद्धिपछि उपभोक्ताले अब प्रति प्याकेट (आधा लिटर) ५० रुपियाँ तिर्नु पर्ने हुन्छ । यसअघि प्रति पोका ४८ रुपियाँमा विक्रि हुने दूधमा दुई रुपियाँ वृद्धि गरी ५० पुर्याएको हो । अर्थात उपभोक्ताले अब एक लिटर दूधको एकसय रुपियाँ तिर्नुपर्ने हुन्छ ।
तर यो मूल्य वृद्धि सरकारको विना अनुमति वृद्धि गरेको हो । दूध क्षेत्रको अनुगमन तथा समन्वय गर्ने निकाय राष्ट्रिय दूध विकास बोर्डसँग समन्वय गरेर मूल्य वृद्धि गर्नुपर्ने थियो तर कसैलाई जानकारी नै नदिइकन आकस्मिक रुपमा यो मूल्य वृद्धि गरेको हो ।
बोर्डका प्रमुख डा.राजेन्द्र यादवले भन्नुभयो, ‘यो मूल्य वृद्धि राष्ट्रिय दूध विकास नीति २०७८ र राष्ट्रिय दूध विकास ऐन विपरित भएको हो, यो मूल्य वृद्धिले सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।’ २०७८ माघमा सरकारले मन्त्रीपरिषद्को निर्णयबाट दूधको न्युनतम समर्थन मूल्य तोकेको थियो । मूल्य तोकेको दुई वर्षपछि मात्र मूल्य परिमार्जन गर्नुपर्ने हुन्छ । तर एक वर्ष नबित्दै डेरीवालाहरुल्े मूल्य वृद्धि गरेको हो ।
यस विषयमा सरकारको ध्यानकर्षण भएको हो । आइतवार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सचिवस्तरीय बैठक बसेर आवश्यक निर्णय गर्ने बोर्डका प्रमुख यादवले बताउनुभयो ।
नेपाली डेरी संघका अध्यक्ष राजकुमार दाहालले सरकारले तोकेको न्युनतम समर्थनमूल्यकै आधारमा नीजि डेरीले मूल्य वृद्धि गरेको बताउनुभयो । सरकारले न्युनतम समर्थन मूल्य तोकेको हो, अधिकतम मूल्य जति पनि दिन सकिन्छ र लिन सकिन्छ भन्दै उहाँले विगतमा सरकारले दूधको मूल्य तोकेपनि डेरी उद्योगीहरुले घाटामा दूध विक्रि गरेको मूल्य वृद्धि गर्न बाध्य भएको बताउनुभयो । लिटरमा १४ रुपियाँ मूल्य वृद्धि गरेका छौं त्यसमध्ये १२ रुपियाँ किसानलाई दिन्छौं भने दुई रुपियाँ डेरी उद्योग राख्छन् र त्यसैबाट बुथ कमिशनलगायतका काम हुन्छ, उहाँले भन्नुभयो, ‘एक त दूधको अभाव छ, त्यसमा पनि डेरीवालाहरुले घाटा लगाएर दूध बेचिरहेका रहेका छन् ।’
यता, नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले दूधको मूल्य वृद्धि गर्नु गलत होइन तर यसमा समन्वय नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘दूधको मूल्य वृद्धि गर्न हतार गर्नुहुँदैन्थ्यो, सरकारदेखि लिएर सबै सरोकारबालाहरुसँग छलफल गरेर मात्र वृद्धि गर्नुपथ्र्यो र सो मूल्यमा सबैले खरिद विक्रि गर्न पाउँथ्यो तर अहिले त्यस्तो भएको छैन, केही उद्योगले मात्र यो आफ्नो तरिकाले वृद्धि गरेको छ अन्य उद्योगको मूल्य हालसम्म यथावत रहेको छ ।’
नेपाल डेरी प्रा. लि. ले शुक्रवार परिमार्जित दररेट सार्वजनिक गर्दै पुस १६ गतेदेखि नयाँ मूल्य लागू हुने जनाएको छ ।
निजी डेरीबाट उत्पादित ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएमएफको आधारमा दूधको मूल्यमा वृद्धि गरेको हो । नीजि डेरीका अनुसार किसानले संकलन खर्चसमेत जोडेर प्रतिलिटर ७२ रुपियाँ पाउनेछन् । सरकारले गतवर्ष माघ १७ गतेदेखि देशभर लागू हुने गरी दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर ५६ रूपैँया ४ पैँसा समर्थन मूल्य तोकेको थियो ।


तपाईको प्रतिक्रिया