तराई मधेशमा शितलहरकै सुरुवातामा मान्छे मर्न थालेका छन् । पुसको पहिला हप्तामा मात्र मधेस प्रदेशका सिरहा, महोत्तरी, सर्लाहीलगायत चार जिल्लामा चिसोले कठ्यांग्रिएर पाँच जनाको मृत्यु भएको छ । सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा भाइजिटोलका ६० वर्षीय कोकवा महराको चिसोले कठ्यांग्रिएर मृत्यु भएको छ ।
महोत्तरीको गौशाला नगरपालिका–५ की ६५ वर्षीया रामपरीदेवी पासमान, सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारी टोलका ५० वर्षीय राजेन्द्र चौधरी, सोही जिल्लाको हरिपुर नगरपालिका–६ बस्ने लक्ष्मीपुरका ८० वर्षीय रामभगत माझीकोे चिसोले कठ्यांग्रिएर मृत्यु भएको छ । त्यस्तै, सर्लाहीकै हरिवनमा चिसोबाट जोगिन आगो ताप्ने क्रममा जलेर सोही नगरपालिका–३ की ५५ वर्षीया गोरीमाया रखालको मृत्यु भएको हो ।
यो आँकडा पुसको पहिलो हप्ताको मात्र हो । यसरी यो आँकडाको हिसाब गर्ने हो भने कोरोनाभन्दा डर लाग्दो छ । तराई मधेशमा कोरोनामा पनि यसरी छोटो समयमा यतिका मान्छे मरेका थिएनन् । तराई मधेशमा शितलहरबाट मान्छे जति त्रसित छन् त्यति कोरोनाको समयमा पनि भएको थिएनन् । कोरोनाको समयमा माक्स लगाउने, सेनिटाइजर प्रयोग गर्ने, दुरी बनाएर बसेपछि त्यसबाट जोगिने सम्भावना हुन्थ्यो तर यो शितलहरबाट बच्ने कुनै पनि उपाय छैन ।
त्यसको कारण हो गरिबी । तराई मधेसमा हुने शीतलहरलाई गरिबी र आर्थिक अवस्थासँग जोडेर हेर्न सकिन्छ । शितलहरबाट मर्ने जति सबै गरिब हुन् । आर्थिक अवस्था राम्रो नभएका व्यक्तिहरुको नै ज्यान जाने गरेका छन् । कोरोनोको समयमा पनि यस्तो भइरहेको थिएन । कोरोनोको समयमा तीनै तहको सरकारले जनतालाई बचाउनका लागि प्रयास गरिरहेका थिए । सरकारले जनतालाई विभिन्न सहयोगहरु गरिरहेका थिए तर यो शितलहरमा सरकारीस्तरबाट कुनै ठोस पहल भएको पाइदैन ।
आर्थिक अवस्था राम्रो नभएका व्यक्तिहरुको नै ज्यान जाने गरेका छन् । कोरोनोको समयमा पनि यस्तो भइरहेको थिएन । कोरोनोको समयमा तीनै तहको सरकारले जनतालाई बचाउनका लागि प्रयास गरिरहेका थिए ।
केही एनजीयोहरु केही व्यक्तिलाई केही थान कम्बल र लुगाफाटा बाँडेर फोटो देखाउने काम मात्र गरेका छन् । यसमा खास गरि स्थानीय सरकारले काम गर्नुपर्ने हो तर त्यति ध्यान नदिएको देखिन्छ । यो यसपटकको मात्र समस्या होइन । यो समस्या वर्षेणी आउने गरेका छन् । शितलहरका कारण प्रत्येक वर्ष मान्छे मर्ने गरेका छन् । अर्को वर्ष पनि यस्तै हुन्छ भन्ने कुरा सरकारलाई पनि थाह नभएको होइन ।
तर त्यसबाट जोगाउने पूर्व तयारी गरेको केही देखिदैन ।
टुटेफुटेका घरमा बसेका वृद्ध वृद्धाको मृत्यु हुने गरेको छ । लुगाफाटा नहुनेहरुको मृत्यु हुने गरेको छ । दमका रोगी, मुटु रोगी जो चिसो सहन नसकि उसको मृत्यु हुने गरेको छ । चिसो सुरु हुनुभन्दा त्यस्तो ठाउँ र व्यक्ति पहिचान गरी त्यसलाई न्यानो लुगा दिने, चिसोबाट बच्ने उपाय बताई दिने, घर टुटेफुटेको छ भने त्यसको मर्मत सम्भार गरि दिने, आगो बाल्नका लागि दाउराको व्यवस्था गरि दिने, चिसोबाट कसरी बच्ने जस्ता उपाय बताई दिने जस्ता काम सरकारले सुरुमै गर्यो भने मृत्य हुनबाट जोगाउन सकिन्छ ।
तर सुरुमा सरकार कानमा तेल हालेर बसेका हुन्छन् जब मान्छे भटाभट मर्न थाल्छन् अनि वजेट खोज्न थाल्छन् । कार्यक्रम बनाउन थाल्छन् । यी प्रकृया पुरा गर्दा गर्दै एक दुई महिना लाग्छ । त्यतिबेला मान्छे पनि मरि सकेका हुन्छन् र त्यो वजेट त्यतिकै यताउती खेर जान्छ ।
शीतलहरका कारण मधेसका विपन्न परिवार छटपटाइरहेका छन् । उनीहरू स्थानीय सरकारसँग बाक्ला लुगाफाटा र ओढ्ने ओछ्याउने कपडाको याचना गरिरहेका छन् । तर स्थानीय सरकार न्यानो कपडा जोरजाम गरिदिन कुनै चासो देखाइरहेको छैन ।
स्थानीय सरकारको उदासीनताले जाडोमा ज्यान बचाउन विपन्न र गरिबहरूलाई मुस्किल भइरहेको छ । मधेस प्रदेशअन्तर्गतका जिल्लाहरूका स्थानीय सरकार डिभिजन वन कार्यालयसँग दाउराका लागि बल्ल माग पत्र पठाउने तयारीमा छन् । यो मागपत्र सम्बन्धित ठाउँमा जाँदासम्म शितलहर नै समाप्त भइसकेको हुन्छ ।


तपाईको प्रतिक्रिया