महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा महोत्तरी सर्वाधिक शक्तिशाली भएको छ । सो शक्तिका कारण लोसपामा महन्थ ठाकुर आफै बलियो हुनु नै भएको छ अन्य नेता पनि त्यसको फाइदा उठाई रहनु भएको छ ।
महोत्तरीको शक्तिका कारण त्यहाँ कसैको केही चल्दैन चाहे त्यो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो नै किन न होस् या कार्यकारिणी सदस्य अनिल झा र लक्ष्मणलाल कर्ण किन नहोस् ।
महोत्तरीको अगाडि कसैको केही चल्दैन भने कुरा पार्टीमा चर्चाको विषय बनेको छ । त्यसको पुष्टि मधेश प्रदेशको संसदीय दलको नेता चयन गर्दा भएको छ । सुरुदेखि मधेश प्रदेशको संसदीय दलको नेता जितेन्द्र सोनल हुने निश्चित थियो । पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत अन्य शीर्ष नेताहरुले पनि आश्वासन दिइसक्नु भएको थियो तर जब मधेश प्रदेशका प्रदेश सभा सदस्य अभिराम शर्माले महोत्तरीको शक्ति चलाउनुभयो अनि त्यहाँ कसैको केही चलेन ।
संसदीय दलको नेता चयन गर्नका लागि जनकपुरमा बसेको संसदीय दलको पटक पटकको बैठकमा पनि लगभग सोनल नेता बन्ने निश्चित थियो । त्यो बैठकमा कसैले पनि नेताका लागि दावी गर्नुभएको थिएन । जब संसदीय दलको विधान अनुमोदनका लागि केन्द्र्रमा पठायो र पुस २४ गते लोसपाको कार्यकारिणी समितिको बैठक बस्यो अनि सबै कुरा बिग्रियो । समितिको बैठक सकेपछि प्रदेश सभा सदस्य रानी शर्मा तिवारी (महोत्तरी), अभिराम शर्मा (महोत्तरी), उपेन्द्र महतो (सर्लाही) एक्सनमा आउनुभयो ।
उहाँहरुले अभिराम शर्मालाई संसदीय दलको नेता बनाउन नेतृत्वलाई दवाव दिन थाल्नुभयो । उहाँहरु काठमाडौं आएर पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र शरतसिंह भण्डारीलाई भेटेर दवाव दिन थाल्नुभयो । अवस्था यस्तो सृजना भयो कि मधेश प्रदेशका प्रदेश सभाका सदस्यहरुको बैठक काठमाडौँस्थित महन्थ ठाकुरको निवासमा बस्न बाध्य भयो । अभिराम शर्माले नौ सांसदमध्ये पाँचजनालाई आफहरुसँग रहेको दावी प्रस्तुत गर्नुभयो ।
अन्य चारजना सांसद सोनललाई साथ दिनुभयो । महोत्तरीका सबै सांसद एक ठाउँमा आएपछि सोनल पछाडी हट्नुभयो । रानी शर्मा तिवारी भन्नुहुन्छ, ‘एकैजनालाई सबै पद दिनुहुँदैन, सबै पद एकजनाले लिएपछि अरु नेता के गर्छन् त उहाँ (जितेन्द्र सोनल) यसअघि पनि संसदीय दलको नेता हुनुहुन्थ्यो र मधेश प्रदेशको पार्टी अध्यक्ष हुनुहुन्छ पार्टीको कार्यकारिणी सदस्य हुनुन्छ सबै पद उहाँलाई नै चाहियो अनि हामी के गर्छौ त ।’
अभिराम शर्मालाई संसदीय दलको नेता बनाउनुपर्छ भनि आफूहरुसँग बहुमत थियो र त्यसैको आधारमा बनाएको उहाँले बताउनुभयो ।
मधेस प्रदेशमा लोसपाका नौजना सांसद छन् । त्यसमध्ये पाँचजना महोत्तरीका हुन् । लोसपाबाट रानी शर्मा र अभिराम शर्माले प्रत्यक्षबाट जित्नुभएको हो भने जैनुल राइन, रुपा यादव र रमिता प्रधान समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नुभएको हो ।
त्यसमध्ये रानीशर्मा तिवारी, अभिराम शर्मा, जैनुल राइन, रमिता प्रधान र उपेन्द्र महतो एक ठाउँमा उभिनुभयो । लोसपाको प्रतिनिधिसभामा चारजना सांसद हुनुहुन्छ । त्यसमध्ये महन्थ ठाकुर र शरतसिंह भण्डारी महोत्तरीकै हुनुहुन्छ । महोत्तरीमा लोसपाले पाँच वटा पालिका पनि जितेको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुर सर्लाही छाडेर महोत्तरी गएपछि चुनाव पनि जित्न थाल्नुभयो र त्यहाँको संगठन पनि बलियो बनाउनु भयो । उहाँले महोत्तरीमा जति ध्यान दिनुभयो, त्यति ध्यान अन्य ठाउँमा नदिएको पार्टीमा गुनासो छ । अध्यक्ष ठाकुर त्यसअघि सर्लाहीमा दुई पटक चुनाव हार्नुभएको थियो । तेस्रो पटक पनि चुनाव जित्ने सम्भावना नदेखेपछि उहाँ महोत्तरी पुग्नुभयो ।
त्यसपछि सांगठनिक रुपमा महोत्तरीमा उहाँको पार्टी बलियो भयो । लोसपाका एक नेताले भन्नुभयो, ‘लाग्छ अब लोसपा महोत्तरीमा सिमित हुन थाल्यो ।’
तपाईको प्रतिक्रिया