जाँदाजाँदै यसरी डामिए जसपाका मन्त्रीहरु

‘उपभोक्ताले गराएको कामको भुक्तानी दिनका लागि इन्ट्री गर्न अर्थ मन्त्रीलाई फुर्सद भएन तर चुनावपछि कमिशन खानका लागि गाउँपालिका, नगरपालिकालाई सशर्त तथा विशेष अनुदानमा पैसा वितरण गर्नका लागि फुर्सद भयो ।’
यो कुराको खुलासा मधेश प्रदेशका नव नियुक्ति मुख्यमन्त्री सरोज यादवले स्वयं गर्नुभएको हो ।

चुनावपछि मधेश प्रदेशको प्रदेश सभाको पहिलो बैठकलाई निवर्तमान सभामुखको हैसियतमा आफ्नो धारणा राख्नुहुँदै मुख्यमन्त्री यादवले जनता समाजवादी पार्टीबाट मधेश प्रदेश सरकारमा मन्त्री बन्नुभएका शैलेन्द्र साहले कमिशनमा काम गरेको कुरा प्रष्ट रुपमा राख्नु भएको थियो ।

उहाँले आफ्नो मन्तव्यको क्रममा शैलेन्द्र साहको नाम नलिए पनि पटक पटक अर्थमन्त्री भन्ने शब्द प्रयोग गर्नुभएको थियो । शैलेन्द्र साहलाई नै उहाँले भन्नुभएको कुरा प्रष्ट थियो । २०७८÷२०७९ मा उपभोक्ताले १ अर्ब रुपियाँ पाउनु पर्ने हो तर अहिलेसम्म त्यो पाएको छैन । त्यो पनि अर्थ मन्त्री साहकै कारणले नपाएको कुरा प्रष्ट रुपमा भन्नुभएको थियो ।

संसदमा पेस भएको आर्थिक विधेयक पास भएको भए उपभोक्ताले यसरी रकम लिनबाट बन्चित हुँदैन्थे तर अर्थमन्त्रीको ढिलासुस्तीका कारण त्यो विधेयक पास नभएको पनि उहाँको गुनासो थियो । उहाँले प्रष्ट रुपमा भन्नुभएको थियो, ‘मन्त्रीहरुबाट जनतालाई ठग्ने काम भएको छ । सरकारको काम जनतालाई सेवा गर्ने हो तर सरकारबाट नै जनतालाई ठग्ने काम भएको हो ।’

गत आर्थिक वर्षमा उपभोक्ताको ११५ करोड रुपियाँ बक्यौता थियो ।

उपभोक्ताले जनकपुरमा दिनदिनै आन्दोलन गरे । मुख्यमन्त्रीको कार्यालय घेराउदेखि लिएर प्रदेश सभामा पनि आन्दोलन गरे तर सम्बन्धीत मन्त्रीहरुले भुक्तानी दिलाउन नसकेको बताउँदै मुख्यमन्त्री यादवले आफूले त्यसको छानविन गरी ११५ करोडमध्ये ८५ करोड रुपियाँ भुक्तानी गर्न लगाएको र २९ करोड रुपियाँ सरकारको बचाई दिएको पनि दावी गर्नुभयो ।

उहाँले कृषि मन्त्री विजय यादवलाई पनि छाड्नु भएन । कृषि मन्त्रालयबाट मधेश प्रदेशका प्रत्येक जिल्लामा एक–एकवटा शीत भण्डार निर्माण गर्ने कार्यक्रम थियो । कतिपय जिल्लामा निर्माण पनि भयो तर अहिलेसम्म त्यसको भुक्तानी नभएको कुरा उहाँले प्रदेश सभाको बैठकमै राख्नु भएको थियो ।

सरकारको ८० प्रतिशत अनुदानमा निर्माण भएको सो शितभण्डारको भुक्तानी नपाएपछि कृषि मन्त्रालयमा तालाबन्दी पनि भएको उल्लेख गर्दै मुख्यमन्त्री सरोज यादवले सरकारबाट जनता मार्ने काम भएको टिप्पणी गर्नुभएको थियो । तर उहाँले मुख्यमन्त्री लालबाबु राउतको बारेमा केही बोल्नु भएन ।

त्यो मन्त्रीको बारेमा उहाँले टिप्पणी गर्नुभयो जुन मन्त्री चुनाव हारिसक्नु भएको थियो र अबको प्रदेश सभामा उहाँहरुको कुनै भूमिका हुँदैन, सरोज यादवलाई केही विगार्न सक्दैन थाह पाएर नै उहाँहरुमाथि जाँदा जाँदै त्यस्तो प्रहार गर्नुभयो भनि धेरैको बुझाई रहेको छ ।

सरकारले राम्रो काम गर्न सकेन त्यसको पुरा दोष तत्कालिन मुख्यमन्त्री राउतमाथि जान्छ । उहाँमाथि बेटी बचाउ, बेटी पढाउ कार्यक्रमअन्तर्गत भएको साइकल वितरणमा अनियमितता भएको आरोप पनि छ । अख्तियारले पनि अनियमितता भएको पुष्टि गरेको छ तर मुख्यमन्त्री यादवले त्यसको बारेमा एक शब्द पनि बोल्नु भएन किनभने संसदीय दलको नेता र मुख्यमन्त्री बन्नमा लालबाबु राउतको भूमिका हुनसक्छ । उहाँ चुनाव जितेर प्रदेश सभामा आउनु भएको छ । त्यही भएर लालबाबु राउतलाई डाम्नु भएन ।

पहिलो प्रदेश सभामा आफ्नो मन्तव्य दिँदा सरोज यादव संसदीय दलको नेता पनि बन्नुभएको थिएन । उहाँ संसदीय दलको नेता बनेर मुख्यमन्त्री बन्ने लाइनमा हुनुहुन्थ्यो । त्यही भएर लालबाबुको बचाउ गर्दै शैलेन्द्र साह र विजय यादवलाई जाने बेलामा डामेर पठाउनु भयो । शैलेन्द्र साह र विजय यादव पाँच वर्ष लगातार मन्त्री रहनु भयो । शुरुमा शैलेन्द्र साह कृषि मन्त्री र विजय यादव अर्थमन्त्री हुनुहुन्थ्यो ।

पछि शैलेन्द्र साह अर्थ र विजय यादव कृषि मन्त्री बन्नुभयो । तैपनि उहाँ दुवैजना चुनाव हार्नुभयो ।
उहाँ मात्र होइन, जसपाबाट मन्त्री बन्नुभएका ज्ञानेन्द्र यादव, कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, पनि चुनाव हारेका छन् । ज्ञानेन्द्र यादव आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हुनुहुन्थ्यो । तर पछि जसपा नेतृृत्वले उहाँलाई २०७८ साउनमा राजिनामा दिन लगाएर त्यो ठाउँमा माओवादी केन्द्रका भरत साहलाई राखिएको थियो ।

राज्यमन्त्री योगेन्द्र राय यादव पाँच वर्ष कृषि मन्त्रालयमा रहे तैपनि उहाँले चुनाव हार्नुभयो । प्रदेश १ मा जसपाकै स्वास्थ्य मन्त्री जयराम यादव पनि चुनाव हार्नुभएको छ । त्यस्तै लामो समय मन्त्री भएर काम गर्नुभएका रामनरेशर राय यादव र राज्यमन्त्री सुरेश मण्डल पनि चुनाव हार्नुभएको छ । उहाँहरु मधेश सरकारमा तत्कालिन राजपाबाट मन्त्री बन्नुभएको थियो । तत्कालिन जसपामा आन्तरिक विवाद हुँदा उपेन्द्र यादव समूहको जसपाले सुरेश मण्डल र रामनरेश राय यादवलाई मन्त्रीबाट हटाइएको थियो ।

पछि उहाँहरु उपेन्द्र यादव नेतृत्वको जसपामा नै रहनु भयो ।
अहिलेका मुख्यमन्त्री सरोज यादवले यसअघिका सरकारमाथि जुन आरोप लगाउनुभयो । त्यही कारणले उहाँहरु चुनाव हार्नुभएको हो कि भन्नेहरु पनि छन् ।

मन्त्रीहरुले आआफ्नो काम कुशलतापूर्वक सम्पन्न गन नसकेको, जनतालाई ठग्ने काम मात्र गरेको कुरा मुख्यमन्त्री सरोज यादवले दिनुभएको मन्तव्यले पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया