उपेन्द्रलाई कम्युनिष्ट गाह्रो

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबीच एकीकरणको प्रकृया सुरु भएको छ ।

दुबै पक्षबाट पार्टीको दस्तावेजमाथि अध्ययन सुरु भएको छ । एक अर्काको विधान, राजनीतिक घोषणापत्र, राजनीतिक प्रतिवेदनलगायतका दस्तावेजहरु अध्ययन गर्ने र जुन जुन विषयमा कुरा मिल्दै जान्छन् त्यसलाई मिलाउँदै जाने र जुन विषयमा कुरा मिल्दैन त्यसलाई लिस्टिङ गर्दै छलफलको लागि शीर्ष तहमा पठाउने सहमति दुबै पक्षमा भएको छ तर एकता घोषणा गर्नुभन्दा पहिलो दुबै दलको बीचमा मोर्चाबन्दी गरौं भन्ने पनि सहमति भएको छ ।

तर मुख्य सहमति पार्टीको नाम र नेतृत्वमा अड्किने देखिएको छ । पार्टी नेतृत्वमा उपेन्द्र यादव र माधवकुमार नेपाल दुबैजनाले दाबी गर्नुभएको छ । तर त्यस विषयले अहिले वार्तामा प्रवेश पाएको छैन ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले एकीकृत पार्टीको नाममा कम्युनिष्ट कुनै पनि हालतमा राख्न नहुने अडानमा हुनुहुन्छ भने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु कम्युनिष्ट कुनै पनि हालत नछाड्ने भन्नु भएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पुस २३ गते नेकपा एकीकृत समाजवादीको कार्यालयमा गएर नै माधवकुमार नेपालसँग छलफल गर्नुभएको छ । सो छलफलमा अध्यक्ष यादवले नयाँ पार्टीको नाममा कम्युनिष्ट शब्द नराखेर चाँडै एकताको घोषणा गरौं भन्नुभएको थियो तर माधवकुमार नेपालले तपाई पनि कम्युनिष्ट पृष्ठभूमी र कम्युनिष्ट पार्टीका काम गरेर आएको कारणले कम्युनिष्ट शब्द राख्दा त्यति आपत्ति नै गर्नुपर्ने अवस्था नरहेको धारणा राख्नु भएको थियो ।

तर आफू कम्युनिष्ट पार्टी र त्यसको विचारधारा नै छाडि सकेको हुनाले कम्युनिष्ट पार्टीलाई स्विकार गर्न नसकिने धारणा अध्यक्ष यादवले राख्नुभएको स्रोतले जनाएको छ । अशोक राई, राजेन्द्र श्रेष्ठ, रकम चोम्जोङ, रञ्जु ठाकुरलगायतका नेताहरु कम्युनिष्ट पृष्ठभूमीका हुनुहुन्छ, तपाईलाई पार्टीमा यी कुरा मिलाउन गाह्रो नहुने भएकाले कम्युनिष्ट शब्दमै त्यति अल्झि राख्ने अवस्था नरहेको धारणा माधव नेपालको थियो ।

उपेन्द्र यादव लामो समय कम्युनिष्ट पार्टीमा काम गरेको हुनाले कम्युनिष्ट पार्टीको नाममा उहाँले विवाद गर्नुहुन्छ जस्तो आफूलाई नलागेको वार्ता समितिका संयोजक एवं नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले बताउनुभयो ।

उपेन्द्र यादवको राजनीतिक यात्रा २०३२ देखि अघि बढेको हो । झापा आन्दोलन चम्कीरहेको बेला उहाँ पुष्पलाल समूहको अनेरास्ववियुमा हुनुहुन्थ्यो । २०३५ मा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठबाट कम्युनिस्ट पार्टीको चौवन्नी सदस्यता लिनु भएका उपेन्द्र यादवले त्यतिबेला पनि विद्यार्थी राजनीतिमा नै हुनुहुन्थ्यो । विद्यार्थी राजनीति हुँदै उहाँ जनमत सँग्रहमा सक्रिय हुनुभएको थियो ।

तर, जनमत सँग्रहसँगै अखिल विभाजित भयो । उहाँ प्रगतिशील विद्यार्थी युनियनको दुई कार्यकाल उपाध्यक्ष पनि हुनुभएको थियो । २०४६ मा उहाँ नेपाली कांग्रेसको आह्वानमा भएको सत्याग्रहमा पनि सामेल हुनुभएको थियो त्यही कारणले उहाँलाई काठमाडौंमा गिरफ्तार गरिएको थियो ।

पछि पुष्पलाल समूहको अध्यक्ष साहना प्रधान र मनमोहन अधिकारीको पार्टी मिलेर नेकपा (माक्र्सवादी) बन्यो । उहाँले कोशी अञ्चल कमिटीमा रहेर काम गर्नुभयो । त्यसको इन्चार्ज भरतमोहन अधिकारी नै हुनुहुन्थ्यो । २०४६ को आन्दोलनमा यादव विराटनगरमा गिरफ्तार हुनुभएको थियो । प्रजातन्त्र पुर्नस्थापना भएपछि उहाँ रिहा हुनुभयो । नेकपा माले र मार्क्सवादीबीच एकता भयो र एमाले बन्यो ।

२०४८ मा यादवलाई एमालेले तत्कालिन सुनसरी–४ बाट उम्मेदवार बनायो । उहाँले जित्न सक्नु भएन पछि एमाले छाडेर माओवादीतिर लाग्नु भएको थियो । भारतको दिल्लीमा मातृका यादव र मोहन वैद्य किरणसँगै उहाँ पनि गिरफ्तार हुनुभएको थियो । तर उहाँलाई त्यतै छाडियो ।

लामो समय प्रवासमा बिताएर नेपाल फर्केपछि २०६३ मा मधेशी जनअधिकार फोरम नेपाल गठन गरेर नेपाली राजनीतिमा सक्रिय हुनुभएको थियो । अर्थात उहाँको अधिकाँश राजनीतिक जीवन कम्युनिष्ट पार्टीमा नै बितेको थियो । त्यहीं भएर उहाँलाई कम्युनिष्ट स्विकार गर्न गाह्रो नुहने एकीकृत समाजवादी पार्टीको दावी रहेको छ ।

तपाईको प्रतिक्रिया