काठमाडौँ माघ २२ गते । राष्ट्रिय कृषक समूह महासंघले कृषि पेशामा संलग्न किसानले भोगेको पिडा र यसबाट किसान वर्गमा आएको चरम निराशाप्रति चिन्ता व्यक्त गरेको छ । महासंघका नवराज वस्नेतले आज एक विज्ञप्ति जारी गरी सो चिन्ता व्यक्त गर्नुभएको हो ।
झापाको व्यपारीले ऋणतिर्न नसक्दा आत्मदाह गर्नु, उत्पादनले सही मूल्य नपाउँदा चितवनका किसानले सडकमा तरकारी फ्याल्नु, रामकोटका किसानले प्रदर्शन गर्दा प्रहरीको हस्तक्षेप हुनु जस्ता घटनाप्रति महासंघका ध्यानाकर्षण भएको छ । कृषि कर्मका मर्म बमोजिम सरकारले पेसागत सम्मान नगरेको दुखद कुरा भएको बताउँदै अध्यक्ष वस्नेतले कृषि पेसालाई प्रमुखताका साथ संरक्षण एवं सवद्र्धन नगरिदा उत्पादक किसान नैरश्यता साथै पेसागत पलायनता बढेर गएको भन्दै चिन्ता व्यक्ति गर्नुभएको छ ।
महासंघले उच्चस्तरीय वार्ताटोली गठन गरी तत्काल किसानका पीडा, माग सम्बोधन गर्न माग गर्दै प्रभावित किसानलाई उचित क्षतिपूर्ती तत्काल दिन माग गरेको छ । नेपाली किसानलाई सधै वेवास्ता गरिरहने र उत्पादकको संम्प्रभुतालाई वेवास्ता गरिएका कारण हुने यस्ता घटनाको कारक बारे जिम्मेवार राज्यको भूमिकासहित थप अध्ययन साथै व्यवहारिक र नीतिगत दिगो समाधानको लागि ध्यान दिन महासंघले आग्रह गरेको छ ।
लागतको आधारमा नेपाली तरकारी उत्पादनको समर्थन मूल्य तोकी कार्यान्वयन गर्न माग गर्दै महासंघले भारतलगायतका मुलुकबाट आयात हुने खाद्यवस्तु साथै तरकारीजन्य वस्तुलाई निरुत्साहित गरी नेपाली किसानको उत्पादनको दिगो बजारीकरणको लागि तत्काल कदम चाल्न माग गरेको छ ।
तपाईको प्रतिक्रिया