नेपाली धानको मूल्य वृद्धि हुँदा किसानले राहत पाएको बताएका छन् । नेपालमा धानको मूल्य गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल तीन सय रुपियाँले वृद्धि भएपछि किसानले थोरै भए पनि राहत पाएका हुन् ।
भारतले धान निकासीमा कोटा तोकेसँगै भारतमै मूल्यवृद्धि भएपछि नेपालमा धानको मूल्य पनि गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल तीन सय रुपियाँसम्मले बढेको छ । धानको मूल्य बढेसँगै प्रतिकेजी ४८ रुपियाँमा पाइने सोना मन्सुली चामलको मूल्य अहिले केजीको ५८ रुपियाँ पुगेको छ ।
त्यस्तै ५० रुपियाँ किलोमा पाइने मन्सुली चामलको मूल्य ६४ रुपियाँ र पहिले ६८ रुपियाँ किलोमा पाइने जिरा मसिनो चामलको मूल्य अहिले ८० रुपियाँ पुगेको छ ।
धानको पकेट क्षेत्र मानिने पर्सालगायत मधेस प्रदेशका किसान धानको उचित नपाउँदा मारमा पर्दै आएका थिए । तर यसपालि भने मूल्य बढ्दा केही भए पनि राहत पाएको वीरगञ्ज महानगरपालिका–३० लालपर्साका किसान सीताराम प्रसाद बताउनु हुन्छ । धानको उत्पादनमा लाग्ने खर्चभन्दा बिक्री गर्ने रकम जहिले पनि कम नै हुने गरेको भए पनि यसपालि भने थोरै भए पनि खुसी भएको उहाँ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “म अहिले ६५ वर्षको भएँ, १६ वर्षकै उमेरदेखि धान खेती गर्दै आएको छु । मेहनत र लगनका कारण फसल पनि राम्रै हुने गरेको छ तर फसल राम्रो उब्जाउन खाद पनि समयमा नपाउने, महँगोमा पाइने, भारतबाट ल्याउँदा दुःख पाउने, आफ्नो देशमा नपाइने अवस्था छ । बिजोग छ । त्यसमा पनि फसल उब्जाइहाले बेच्न समस्या । यस्तोमा अलि कति भए पनि धानको मूल्य वृद्धि हुँदा खुसी नै छौँ हामी किसान तर यो पर्याप्त चाहिँ छैन ।”
पर्साको सबैठवा–४ का अर्का किसान किसमतिया देवी भन्नुहुन्छ, “धान उत्पादन गर्न सिँचाइका लागि पानी किनेरै हाल्नुपर्ने, खाद पनि महँगो पर्ने, पानी नपर्दा झन धानखेतीलगायत सबै खेती नै महँगो पर्ने हुँदा धानको मूल्य वृद्धि त भएको छ । केही मात्रामा राहत भए पनि पर्याप्त भने छैन । सरकारले अझ सोच्नुपर्ने हुन्छ ।”
धानको मूल्य वृद्धि हुँदा एकातिर किसानले खुसी व्यक्त गरेका छन् भने अर्कोतर्फ चामलका उपभोक्ताले भने मारमा परेको बताएका छन् । धानमा प्रतिक्विन्टल तीन सय रुपियाँसम्म मूल्य वृद्धि हुँदा चामलमा प्रतिकिलो १५ देखि २५ रुपियाँसम्म मूल्य वृद्धि भएकाले आफूहरु मारमा परेको उपभोक्तले गुनासो गरेका हुन् ।
वीरगञ्ज महानगरपालिका–१२ मुर्लीकी सरितादेवी कुर्मी चामलको मूल्य अचानक बढेपछि भान्सा व्यवस्थापनका लागि धेरै नै समस्या भइरहेको गुनासो गर्नुहुन्छ । भारतले नेपालका लागि चालु आर्थिक वर्षमा छ लाख टन मात्रै धान निकासी गर्ने कोटा निर्धारण गरेकाले भारतमै धानको मूल्य बढेपछि नेपालमा पनि धानको मूल्य बढेको हो ।
धानसँगै चामलको मूल्य पनि बढेपछि उपभोक्ता मारमा परेका हुन् । नेपाल चामल तेल दाल उद्योग सङ्घका केन्द्रीय अध्यक्ष डा सुबोध गुप्ता भारतले गत वर्षदेखि धानको समर्थन मूल्य रु पाँचदेखि छ बढाएर बिक्री गर्ने गरेको र भारततर्फबाट धान चामल नेपालतर्फ आयात गर्दा त्यसमा नै भन्सार कर र ढुवानी भाडा जोडेर नेपालतर्फ बिक्री गर्नुपर्ने कारणले मूल्य वृद्धि भएको अवस्था रहेको बताउनुहुन्छ ।
अझ पनि नेपाल धान चामलका लागि ५० देखि ६० प्रतिशत भारततर्फ नै निर्भर रहेको उहाँको भनाइ छ । नेपाली बजारमा पनि भारततर्फकै धान चामलको समर्थन मूल्यले ठाउँ लिँदा यस्तो अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।
नेपाली बजारमा गत वर्ष यही सिजनमा सोना मन्सुली धानको मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय रुपियाँ थियो भने हाल बढेर तीन हजार रुपियाँ एक सय पुगेको छ । त्यही धानको मूल्य भारतमा तीन हजार २५० रुपियाँ रहेको अर्थात् नेपालको धान चामलको मूल्य पनि भारतीय बजारका आधारमा निर्धारण हुँदै आएको गुप्ताको भनाइ छ ।
चालु आवको साउनदेखि पुस मसान्तसम्म भारतबाट वीरगञ्ज नाका हुँदै १९ हजार आठ सय एक मेट्रिक टन अर्थात् एक अर्ब ५० करोड ५५ लाख रुपियाँ बराबरको चामल आयात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कमा छ । वीरगञ्ज नाका हुँदै यही अवधिमा धान एक लाख ९४ हजार ८१ मेट्रिक टन अर्थात् छ अर्ब ८१ करोड रुपियाँ बराबरको आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया