Khadya Bibhag

निर्यात हुने चियाको छैन आफ्नै प्रयोगशाला

एक मात्र वस्तुमा नेपाल आत्मनिर्भर मात्र होइन निर्यात गर्न पनि सफल चियालाई जाँच गर्ने मेसिन नेपालमा छैन । नेपाली चिया निर्यात गर्न परीक्षणका लागि भारतको भर पर्नु परेको चिया व्यवसायीहरु बताउँछन् । चिया निर्यातबाट वार्षिक तीन अर्ब बढी रकम भित्रिरहँदा पनि सरकारको स्वदेशमै प्रयोगशाला स्थापनाको पहल समेत गरेको छैन । नेपाली चिया भारतलगायत विभिन्न देशमा फेमस रहेको छ र त्यहाँ माग पनि अत्याधिक छ । तर नेपालमा परीक्षणको व्यवस्था नहुँदा किसान तथा व्यपारीहरु मर्कामा परेका छन् ।

नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिँदैन । तर स्वदेशमा प्रयोगशाला नहुँदा व्यवसायीलाई भारतकै पश्चिम बङ्गालको कोलकत्तामा परीक्षण गर्नुपर्ने बाध्यता छ । उद्योगीले तयारी चिया बोकेका कन्टेनर हप्ताँै काँकरभिठ्ठा भन्सारमा राखेर कोलकत्तामा परीक्षण गर्न लैजान्छन् । परीक्षणको ‘रिपोर्ट’ आएपछि मात्र भारतलगायत तेस्रो देशमा चिया निर्यात हुने गरेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेश मित्तलले बताउनुभयो ।

नेपाली चिया उत्पादकहरुले गुणस्तर परीक्षण गर्ने मान्यताप्राप्त ल्याब खोल्न सरकारसँग पटक–पटक माग गरेका छन् । मुलुकभित्र चियाको गुणस्तर परीक्षण गर्ने ल्याब नहुँदा भारतमा जस्तो गुणस्तर मापन हुन्छ, त्यसकै आधारमा मूल्य पाउने गरेको मित्तलले गुनासो गर्नुभयो । मुलुकको आर्थिक सूचकाङ्कमा चिया उद्योग सफल उद्योगको रुपमा चित्रित भए तापनि सरकारको नीति र दृष्टिकोण भने सकारात्मक नभएको साना किसान चिया सहकारी सङ्घका अध्यक्ष हर्क तामाङको आरोप छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड विर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले निर्यात हुने नेपाली चियाले भारतको कोलकातास्थित सेन्टर फुड ल्याबमा गुणस्तर परीक्षण गराएर मात्र निर्यातको अनुमति पाउँदै आएको बताउनुभयो । उहाँले नेपालको कूल चिया उत्पादनको ९९ प्रतिशत प्रदेश १ मै उत्पादन हुने हुँदा चिया परीक्षणको ल्याब स्थापना गर्ने तयारी भइरहेको बताउनुभयो ।

उहाँले मुलुकमै गुणस्तर परीक्षण गर्ने ल्याब सञ्चालनमा आए चिया उत्पादन पनि बढ्ने र विदेशी बजारमा नेपाली चियाले उचित मूल्यसमेत पाउने बताउनुभयो । नेपालमा २७ हजार ५०० हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेको छ । त्यसमध्ये १० हजार ५०० हेक्टर चियाखेती झापामै हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

हाल वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । कूल उत्पादित चियाको ५० प्रतिशत आन्तरिक खपत हुने गरेको र बाँकी सबै भारत तथा तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ । बोर्डका अनुसार चिया निर्यातबाट बर्सेनी तीन अर्ब ८० करोड रुपियाँ विदेशी मुद्राआर्जन हुने गरेको छ । चिया क्षेत्रमा ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् ।

नेपालमा चिया उत्पादन गर्ने ३० अर्थोडक्स र ३८ वटा सिटिसी गरी ६८ ठूला चिया उद्योग सञ्चालनमा छन् । एक सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा छन् । नेपालमा एक सय ६० भन्दा बढी चिया बगान रहेका छन् । चिया खेतीमा १५ हजार भन्दा बढी साना किसान आवद्ध छन् ।

तपाईको प्रतिक्रिया