Khadya Bibhag

मुख्यमन्त्री जसपाको हो कि लोसपाको ?

जनता समाजवादी पार्टी नेपालमा अचेल एउटा चर्चा हुने गरेको छ, मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव जसपा नेपालको मुख्यमन्त्री हुनुहुन्छ कि लोसपाको । सरोज यादव महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक पार्टी नेपाल छाडेर चुनावअघि जसपामा जानु भएको हो । राजेन्द्र महतोका निकट रहनु भएका सरोज यादव तत्कालिन राजपाको तर्फबाट मधेश प्रदेशका प्रदेश सभामा सभामुख बन्नुभएको थियो ।

उहाँ राजपाबाट सभामुख बनेपनि उहाँ राजेन्द्र महतोका खास मान्छे हुनुहुन्थ्यो । सभामुख पदमा रहँदासम्म उहाँ लोसपा नै हुनुहुन्थ्यो । उपेन्द्र यादव नेतृत्वको जसपाबाट टिकट कन्फर्म भएपछि मात्र उहाँले लोसपा छाड्नु भएको हो । एक त लोसपाबाट टिकट पाउन मुस्किल थियो, टिकट पाइहाले पनि चुनाव जित्न गाह्रो थियो । यी सबै कुराको हिसाब किताब गरेपछि जसपाबाट नै चुनाव लड्ने निष्कर्षमा पुगेपछि उहाँले लोसपा छाड्नु भएको थियो । उहाँले प्रदेश सभाको चुनावमा आफू मुख्यमन्त्री हुने भन्दै पोस्टर बनाएर नै प्रचार प्रसार गर्नुभएको थियो ।

चुनाव जितेपछि आखिर उहाँ संसदीय दलको नेता हुँदै मधेश प्रदेशको मुख्यमन्त्री बन्नु नै भयो । उहाँ मुख्यमन्त्री भएपछि लोसपाको सल्लाहमा चलिरहनु भएको जसपाका नेताहरुको गुनासो छ । मुख्यमन्त्री सरोज यादवसँग जसपाको भन्दा लोसपाको कुरा बढी बिक्छ । सरोज यादवलाई मुख्यमन्त्री बनाउने मुख्य योजनाकार लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो नै हुनुहुन्छ । उहाँले नै सबै ‘आइडिया’ दिएर मुख्यमन्त्री बन्न लायक बनाएको लोसपाका एक नेताले बताउनुभयो । संसदीय दलको नेता बन्नुअघि सरोज यादव दिल्ली पनि जानुभएको थियो ।

त्यहाँ भगतसिंह कोसियारीलगायत अन्य शीर्ष नेताहरुलाई भेट्नुभयो । र, यी सबै भेटघाट राजेन्द्र महतोले नै मिलाउनु भएको स्रोतको दावी छ । त्यति मात्र होइन, मुख्यमन्त्री बन्ने बित्तिकै जनकपुरमा सबभन्दा पहिले उहाँले लडु लिएर राजेन्द्र महतोलाई भेट्न पुग्नु भएको थियो । त्यति मात्र होइन, काठमाडौ आएको बेला एकपटक उहाँ लोसपाको कार्यालय पुग्नु नै हुन्छ । लोसपा कार्यालय नगएपछि उहाँ पुरानो बानेशवरस्थित राजेन्द्र महतोको घरमा पुग्नु नै भएको हुन्छ ।

अहिले पनि लोसपाका नेता अनिल महासेठ मुख्यमन्त्री सरोज यादवका अघोषित सल्लाहकार हुनुहुन्छ । उहाँले आफ्ना निकट नेताहरुलाई भन्ने गर्नुभएको छ, ‘मुख्यमन्त्री हाम्रै त हो नि ।’ त्यस्तै लोसपाकै अर्का कार्यकर्ता प्रभाकरण सिंह अहिले पनि मुख्यमन्त्री सरोज यादवको अघोषित स्वकीय सचिव हुनुहुन्छ ।

सरोज यादव सभामुख हुँदा अनिल महासेठ र प्रभाकरण सिंह उहाँको सल्लाहकार हुनुहुन्थ्यो । त्यस्तै लोसपाबाट बिद्रोह गरेर स्वतन्त्रबाट प्रदेश सभा सदस्यमा महोत्तरीबाट चुनाव जित्नु भएका सुरिता साह जसपामा प्रवेश गरेर मन्त्री पद पनि पड्काई दिनुभयो ।

पार्टीमा ल्याउने र मन्त्री बनाउने काम मुख्यमन्त्री सरोज यादवले नै गर्नुभएको छ । सरोज यादव जस्तै सुरिता साहको तन जसपामा भएपनि मन लोपामा नै रहेको काठमाडौँको बालकुमारी र बबरमहलमा चर्चा छ ।

तपाईको प्रतिक्रिया