Khadya Bibhag

रेशम चौधरी र काँग्रेसबीच भएको त्यो ‘एग्रिमेन्ट’

नागरिक उन्मुक्ति पार्टी गठन गर्नुभएका रेशम चौधरी अहिले जेलमा हुनुहुन्छ । मधेश आन्दोलनको क्रममा भएको टिकापुर घटनाको मुख्य आरोपीको रुपमा जेलमा भएपनि उहाँले त्यहींबाट नेपालको राजनीतिमा बर्चस्व जमाई रहनु भएको छ । जेल बाहिर रहेर गर्न नसकेको काम उहाँ जेलभित्रैबाट नै गरिरहनु भएको छ । प्रतिनिधि सभामा जेलबाट नै ४ वटा सीट जिताउन सफल रेशम चौधरीको वरिपरी अहिले नेपालको राजनीति घुमिरहेको छ । सदुरपश्चिम प्रदेशमा उहाँले खेल्नु भएको भूमिका कारण देशकै सत्ता समिकरणमा असर परेको छ ।
डिल्लीबजार सदरखोर रेशम चौधरीका लागि जेल होइन, सुरक्षित पार्टी कार्यालयमा परिणत भएको छ । बाहिर एउटा पार्टीका अध्यक्ष जति व्यस्त हुन्छ, त्यो भन्दा बढी व्यस्त उहाँ जेलमा हुनुहुन्छ । दिनभर बैठक र भेटघाट भइरहेका हुन्छन् भने पार्टीका हरेक निर्णय त्यहीबाट हुन्छ । पार्टीको केन्द्रीय समिति, सचिवालय, पदाधिकारी, संसदीय दलको बैठक पनि जेलभित्र नै हुन्छ । देशका ठूला ठूला नेता तथा विदेशीहरु पनि उहाँलाई जेलमै लाइन लागेर भेट्न गइरहेका हुन्छन् ।
जेलमा रेशम चौधरीका लागि हरेक सेवा उपलब्ध छ । उहाँले जतिबेला पनि जसलाई भेट्न पाउनु हुन्छ । उहाँका लागि न विदा, न दिन, न रात, उहाँका लागि जेलको ढोका जतिबेला पनि खुल्ला हुन्छ । उहाँका श्रीमती रञ्जना श्रेष्ठलाई त्यहाँ कुनै रोकटोक हुँदैन, जतिखेर मन लाग्छ, त्यतिखेर जानुहुन्छ, जतिखेर मन लाग्छ त्यति खेर आउनुहुन्छ ।
यी सबै सुविधा रेशम चौधरीले पक्कै पनि त्यतिकै पाउनु भएको होइन होला । कुनै ठूलै दल वा शक्ति केन्द्रले उहाँलाई सहयोग पुर्याइरहेका छ । अर्थात उहाँलाई कुनै ठूलै शक्तिको आशिर्वाद प्राप्त छ भनि राजनीतिवृतमा चर्चा छ ।
नेपाली काँग्रेसले रेशम चौधरीको रिहा चाहेको छ । प्रदेशदेखि केन्द्रसम्मका नेताले रेशम चौधरी रिहा हुनुपर्ने पक्षमा छन् । सुदुरपश्चिम प्रदेशका काँग्रेसका नेताहरुले पनि रेशम चौधरी रिहा हुनुपर्छ भनि काँग्रेसका सभापति शेरबहादुर देउवालाई दवाव दिँदै आएका छन् ।
रेशम चौधरी जेलमा जति दिन रहनु हुन्छ, त्यति घाटा काँग्रेसलाई मात्र हुने ती नेताहरुको निष्कर्ष छ । जति छिट्टो हुन्छ, रेशम चौधरीलाई जेलबाट रिहा गराउनुपर्छ भनि सभापति देउवालाई दवाव छ ।
काँग्रेसका नेताहरु किन रेशम चौधरीको रिहाई चाहन्छन् त भनि जिज्ञासामा एक नेताले भन्नुभयो, रेशमजी जति दिन जेलमा बस्नुहुन्छ, त्यति दिनसम्म उहाँले जनताको ‘सेम्पेथी’ मत पाउनु हुन्छ र उहाँको पार्टी बलियो हुँदै जान्छ । २०७४ मा पनि रेशम चौधरी ‘सेम्पेथी’ मतबाट चुनाव जित्नु भएको थियो भने अहिलेको चुनाव पनि उहाँका पार्टीले जनताको ‘सेम्पेथी’ मत पाएको छ ।’ रेशम चौधरी जेलबाट बाहिरिएपछि त्यो अवस्था नरहने काँग्रेसका नेताहरुको बुझाई छ । रेशम चौधरी जेलमा रहेसम्म देवता रहिरहनु हुनेछ, जेलबाट निस्केपछि मात्र पथ्थर बन्नुहुनेछ, त्यसैले रेशमलाई पथ्थर बनाउनुछ भने जेलबाट निकाल्नु नै पर्छ भनि काँग्रेस नेताहरुको ब्रिफिङ रहेको छ ।
रेशम चौधरी जेलबाट निस्केपछि उहाँको पार्टी नै बाँकी रहदैन, उहाँसँग कुनै नेताले काम गर्न सक्दैन र केही दिनमै पार्टी समाप्त हुन्छ । त्यही भएर काँग्रेसले रेशम चौधरीलाई रिहा गर्नका लागि हतारिएको छ । यसअघि पनि सभापति देउवा प्रधानमन्त्री भएको बेला रेशम चौधरी रिहाका लागि प्रयास भएको हो । कानुनी प्रकृया सुरु पनि भइसकेको थियो तर चुनावपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेपछि त्यो प्रकृया सेलाएको हो ।
सुदुरपश्चिम प्रदेशमा एमाले पार्टीका मुख्यमन्त्रीलाई हटाउनमा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिको महत्वपूर्ण भूमिका छ । रेशम चौधरी चाहेको भए एमालेबाट मुख्यमन्त्री बन्नुभएका राजेन्द्रसिंह रावलले पदबाट राजिनामा दिनुपर्दैन्थ्यो तर उहाँको पार्टीले रावललाई विश्वासको मत नदिएपछि राजिनामा दिनुभयो र काँग्रेसबाट कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभयो ।
रेशम चौधरीले यसरी काँग्रेसलाई साथ दिनुको कारण आन्तरिक सहमति हो । रेशम चौधरीका श्रीमती रञ्जना श्रेष्ठ जो उन्मुक्ति पार्टीका अध्यक्ष तथा सांसद हुनुहुन्छ । उहाँ र काँग्रेसका सभापति देउवाबीच छलफल भयो । छलफलमा सभापति देउवाले सत्ता समिकरण परिवर्तन हुने बित्तिकै रेशम चौधरीलाई रिहा गर्ने वचन दिनुभएको छ । सत्ता समिकरण हेरफेर भएर आफू प्रधानमन्त्री हुने बित्तिकै पहिलो काम रेशम चौधरीलाई रिहा गर्ने नै हो । यी मौखिक सहमतिपछि रेशम चौधरीले बनाएको नागरिक उन्मुक्ति पार्टीले सभापति देउवालाई साथ दिनेभएको छ ।

तपाईको प्रतिक्रिया