प्रचण्डलाई ओलीभन्दा देउवाको खतरा

अहिले नेपालको राजनीतिक तीब्र रुपमा अगाडि बढिरहेको छ । नेपालको राजनीति कुनबेला दुर्घटनामा पर्ने हो कसैलाई थाह छैन । माओवादी केन्द्र र एमाले गठबन्धन सरकारको हनिमुन पिरियड पनि कटेको छैन । तर सरकार धरमराउन थालेको छ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले काँग्रेसको साथ खोजेको छ । काँग्रेसबाट विश्वासको मत लिनुभएका उहाँले राष्ट्रपतिमा सो पार्टीलाई सघाउने संकेत गर्नु भएको छ ।

तर यो खेल प्रचण्डका लागि प्रतिउत्पादक हुने देखिएको छ । प्रचण्डले अहिले काँग्रेसको आडमा खेलिरहनु भएको छ । त्यसरी नै एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसलाई साथमा लिएर प्रचण्डसँग खेलिरहनु भएको छ । अध्यक्ष ओलीले यसका लागि विभिन्न दलका नेताहरुसँग छलफल पनि चलाई सक्नु भएको छ । एमालेका एकजना स्थायी कमिटी सदस्यले भन्नुभयो, ‘के माओवादी केन्द्रले मात्र खेल्न जानेको हो र, जसरी अहिले काँग्रेसलाई साथमा लिएर एमालेसँग खेल्ने कोशिस गरिरहेको छ त्यसरी हामी पनि गर्न सक्छौं तर एमालेले अहिले त्यस्तो गर्दैन । एमालेलाई विश्वास छ कि विगतमा भएको सहमति अनुसार नै प्रचण्डजी अगाडि बढ्नु हुन्छ ।’

अहिले एमालेले नेपालको संविधान धारा १०० बमोजिम प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएमा संसदमा संविधानको धारा ७६ बमोजिम विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिँदा एमालेले विश्वासको मत दिएन भने धारा ७६ को उपधारा ३ बमोजिम सबभन्दा ठूलो दलको हैसियतले काँग्रेस स्वतः प्रधानमन्त्री बनाउन पाउँछ । उसले पनि तीस दिनभित्र संविधानको धारा ७६ को उपधारा ४ बमोजिम संसदमा विश्वासको मत लिनुपर्छ ।

त्यतिबेला काँग्रेस नेतृत्वको सरकार टिकाउने वा पुनः चुनावमा जाने एमालेको हातमा हुन्छ । काँग्रेसले त्यतिबेला भन्नसक्छ, विश्वासको मत दिने हो भनि दिउ नत्र संसद विघटन गरेर चुनावमा जान्छु । त्यसपछि चुनावमा जाने कि काँग्रेृसलाई स्विकार गर्ने दुईटा अप्सन मात्र रहन्छ एमाले र माओवादी केन्द्रसँग ।

विश्वासको मत लिन सक्यो भने काँग्रेस नेतृत्वको सरकार कायम रहन्छ । विश्वासको मत लिन सकेन भने धारा उपधारा ७ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नुहुनेछ ।

यो कुराको खतरा प्रधानमन्त्री प्रचण्डलाई छ । प्रधानमन्त्री प्रचण्ड ‘डेन्जर जोन’मा हुनुहुन्छ । एमालेले राष्ट्रपति नपाउने अवस्था आयो भने यो खेल पनि खेल्न सक्ने सम्भावना प्रवल रहेको छ । यो खेलमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले साथ दिने भएको छ । प्रधानमन्त्री प्रचण्डलाई थाह छ कि अब आफ्नो हातबाट प्रधानमन्त्री खुस्कियो भने पुनः आउँदैन । त्यसले उहाँ एमाले र काँग्रेस दुवैलाई मिलाएर लैजाने उपायको खोजीमा हुनुहुन्छ जुन सम्भव नै छैन ।

तपाईको प्रतिक्रिया