Khadya Bibhag

मर्जरको पक्षमा त्रिपाठी !

वामपन्थी राजनीति हुँदै मधेश राजनीतिमा प्रवेश गर्नुभएका ह्रदयश त्रिपाठीले २०७८ मंसिर २८ गते आफ्नै नेतृत्वमा नयाँ पार्टी जनता प्रगतिशिल पार्टी गठन गर्नुभयो । सो पार्टीले स्थानीय, प्रदेश सभा र प्रतिनिधि सभामा भाग पनि लियो तर स्थानीय तहमा एउटा पालिका र केही वडामा जित्नुबाहेक प्रदेश तथा प्रतिनिधि सभामा शुन्य भएको छ । पार्टी यो अवस्थामा पुगेपछि त्यसका नेता तथा कार्यकर्ताहरु निराश बनेका छन् ।

पार्टी गठन भएको ६ महिनामा स्थानीय तहको चुनावमा भाग लियो भने एक वर्षपछि प्रदेश तथा प्रतिनिधि सभा चुनावमा भाग लियो तर नतिजा हातलागि शुन्य भएपछि पार्टीका नेता तथा कार्यकर्ताहरु निराश बनेका छन् । सो पार्टीका एक केन्द्रीय सदस्य भने, ‘अब हामीसँग दुईटा विकल्प मात्र छन्, पार्टीलाई विघटन गर्ने या कुनै दलसँग मर्ज गर्ने । त्यसबाहेक अरु कुनै विकल्प छैन ।’ पार्टीका अध्यक्ष त्रिपाठीले पार्टी चलाउन सक्नु हुन्न, उहाँ एउटा राम्रो नेता हुनुहुन्छ तर पार्टी नै सञ्चालन गर्ने क्षमता उहाँसँग नरहेको ती दलका नेताहरु गुनासो गर्नुभयो ।

चुनावमा विभिन्न क्षेत्रमा अध्यक्ष त्रिपाठीले आफ्नो पार्टीबाट उम्मेदवार बनाउनुभयो तर त्यो उम्मेदवारको बारेमा कहिले चासो लिनुभएन । चुनाव अवधिभर आफ्नो क्षेत्रबाहिर कतै जानुभएन, जनता प्रगतिशिल पार्टीबाट उम्मेदवार बन्नुभएका एक नेताले भन्नुभयो, ‘हामीलाई पार्टीले उम्मेदवार बनायो तर पार्टीका अध्यक्ष त्रिपाठी एक दिनपनि हाम्रो क्षेत्रमा आउनु भएन ।’

पार्टी नयाँ भएको कारणले धेरैजना अन्योलमा थिए, नयाँ पार्टी भएको कारणले पार्टीका अध्यक्ष त्रिपाठीले अलि बढी मेहनत गर्नुपर्ने थियो तर उहाँ आफ्नो क्षेत्रभन्दा कतै बाहिर जानुभएन । उहाँले आफ्नै लागि मात्र मेहनत गर्नुभयो तर उहाँ आफू पनि जित्नु भएन, अरु कसैलाई जिताउन पनि सक्नुभएन । पार्टीका नेता तथा कार्यकर्ताको मनोबल खस्यो ।

अब पार्टी उठ्न गाह्रो देखिएको हुनाले पार्टी मर्जको अवस्थामा जानुपर्ने एक नेताले बताए । स्रोतका अनुसार अध्यक्ष त्रिपाठीले केपी शर्मा अ‍ोली नेतृत्वको एमाले र महन्थ ठाकुर नेतृत्वको लोसपामध्ये एउटा कुनै दलसँग पार्टी एकीकरण गर्ने सोचमा हुनुहुन्छ । तर उहाँका पार्टीका अध्यक्ष उपाध्यक्षदेखि लिएर महासचिवसम्मका नेताहरु एमाले र लोसपासँग एकीकरण गर्ने पक्षमा नदेखिएको स्रोतले जनाएको छ ।

लोसपा आफै कमजोर पार्टी हो, त्यो पार्टीसँग एकीकरण गरेर कुनै फाइदा हुँदैन । एमाले पार्टी जुन पार्टीसँग एकीकरण गरेको छ, त्यो पार्टीका नेता तथा कार्यकर्ताको उन्नती भएको देखिएको छैन ।

एमालेमा कुनै दल वा नेता गएपछि दुई चारदिन चुरीफुरी देखिन्छ तर विस्तारै आफै हराउँदै जान्छ, जनता प्रगतिशिल पार्टीका ती नेताले भने, ‘एमालेमा माओवादीका नेताहरुको के हालत रहेको छ सबैलाई थाह छ, मधेशी दलबाट थुप्रै नेताहरुलाई एमालेमा भित्र्याइएको थियो तर ती सबैको हालत कस्ता छन् कसैबाट लुकेका छैनन्, विगतमा त्रिपाठीजीकै स्वतन्त्र विचार समूहसँग तालमेल गरेर त्यो क्षेत्रमा आफ्नो बर्चस्व बनायो पछि त्रिपाठीजीलाई नै छाड्यो । त्यहीं भएर एमालेसँग एकीकरण सम्भव छैन । त्रिपाठीले यदि गर्नुहुन्छ त्यो उहाँको स्वतन्त्रता हो ।’

जनता प्रगतिशिल पार्टीको एकीकरण काँग्रेस, जसपा, जनमतलगायतका दलसँग हुन्छ । मधेशवादी साना दलभन्दा पनि कुनै ठूला राष्ट्रिय पार्टीसँग मर्ज नै गर्ने सोचाई अधिकाँश नेताहरुको रहेको बुझिएको छ । उपराष्ट्रतिको चुनावपछि एउटा बैठक बसेर पार्टीको विषयमा एउटा कुनै निर्णय लिएर अगाडि बढ्ने सोच नेता तथा कार्यकर्ताको रहेको छ । चुनाव सम्पन्न भएको चार महिना भन्दा बढी भइसक्यो तर हालसम्म चुनावी समिक्षा पनि भएको छैन । चुनाव सकिए लगतै अध्यक्ष त्रिपाठीले ग्रहदासा भगाउनका लागि पूजापाठमा समय दिन थाल्नुभयो र त्यस कारणले पार्टीको चुनावी समिक्षा बैठक पनि हुन सकेन ।

२०४८ सालदेखि यता दुईपटक मात्र सांसद बन्न नपाएका त्रिपाठी आत्मसमिक्षामा लाग्नुभएको बुझिएको छ । २०४८, २०५१, २०५६ मा नेपाल सद्वभाना पार्टीबाट सांसद बन्नुभएका त्रिपाठी सो पार्टी छाडेर महन्थ ठाकुरसँग मिलेर तमलोपा गठन गर्नुभएको थियो ।

२०६४ को संविधान सभा चुनाव जित्नु भएका उहाँ २०७० को दोस्रो संविधान सभा चुनाव हार्नुभएको थियो । तमलोपाबाट अलग भएर २०७४ मा स्वतन्त्र विचार समूह गठन गरेर एमालसँगको तालमेलबाट आफूसहित अन्य नेतालाई पनि चुनाव जिताउन सफल हुनुभएको थियो ।

एमाले नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री बन्न सफल त्रिपाठी नेकपाका तत्कालिन नेता केशरजंग रायमाझीसँगको संगतले कम्युनिष्ट राजनीतिमा जोडिनुु भएका उहाँले रुसमा अध्ययन गर्ने मौका पाउनुभएको थियो । रुसमा अध्ययन सकेर फर्किएपछि त्रिपाठी २०४३ सालको राष्ट्रिय पंचायतको निर्वाचनमा चुनाव लड्नु भएको थियो । तर उहाँ पराजित हुनुभएको थियो । २०४६ पछि उहाँ मधेश राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँले मधेश राजनीति छाडेर राष्ट्रिय पार्टी बनाउन कमर कसेर लाग्नु भएका त्रिपाठीका लागि ट्रनिङप्वाइन्ट आएको छ ।

तपाईको प्रतिक्रिया