Khadya Bibhag

दुई लाख रुपियाँको ३५ लाख तिरिसकेको छु अझै माग्दैछन्

–ममता राय
मेरो साथी हुनुहुन्छ सुजाता साह । उहाँ मेरो सबभन्दा मिल्ने साथी हुनुहुन्छ । हामी एकै थालमा खान्थ्यौं । आवश्यकता परेको बेलामा उहाँले मसँग पैसा साप्टी लिनु हुन्थ्यो कहिले काही म पनि लिन्थे । हाम्रो लेनदेन भइरहन्थ्यो । एकपटक मलाई रुपियाँको जरुरी पर्यो । मेरो छोराको ब्रेनको विमारी छ । मेरो छोरा पैसाकै बलमा बाँचेको छ । छोरामा निकै पैसा खर्च भइरहेको छ । छोराको उपचारका लागि सुजातासँग दुई लाख रुपियाँ मागे ।

दुई तीन दिनपछि सुजताले मलाई दुई लाख रुपियाँ दिनुभयो । मैले कागज बनाई दिएका थिए । रुपियाँ पाएपछि आफ्नो छोराको उपचारका लागि काठमाडौँ गए । एक हप्तापछि उपचार गराएर घर फर्केपछि उहाँ मेरो घरमा आउनु भयो र भन्नुभयो, ‘मेरो पैसा फिर्ता गर्नुस् मलाई पैसाको जरुरी भयो ।’ मैले भने, ‘मसँग अहिले पैसा छैन, उपचारमा सबै पैसा खर्च भयो, मैले तपाईसँग एक हप्ताको लागि मात्र रुपियाँ लिएको छैन नि । बुढोलाई फोन गर्छु, उहाँको सेलरी (तलब) छुटेको छ भने उहाँले मलाई पैसा पठाउनु हुन्छ अनि म तपाईलाई दिहाल्छु ।’

त्यसपछि उहाँ मेरो घरबाट जानुभयो । तीन चार दिनपछि मलाई उहाँले पसलमा बोलाउनुभयो । त्यहाँ तीन चार जना केटाहरु बसेका थिए । म पनि त्यही डराइ डराई बसे । केटैकेटा देखेर मलाई कता कता डर पनि लागेको थियो । सुजाताले ती केटाहरु लगाएर विभिन्न थरीका कुरा गर्न थाल्नुभयो । उहाँले जसरी पनि पैसा तिर्नै पर्छ भन्नुभयो । पुरै पैसा नतिरे पनि साढे सात हजार रुपियाँ तिर्नका लागि भन्नुभयो । मलाई लाग्यो कि मागेको त्यो साढे सात हजार रुपियाँ एक महिनाको होला ।

तर उहाँले होइन यो त एक हप्ताको ब्याज मात्र हो भन्नुभयो । म त छक्क परे । छाँगाबाट खसै झै भयो । त्यसपछि मैले भने, ‘यो कस्तो ब्याज हो, यस्तो ब्याज मलाई थाह छैन, तपाईले पनि पैसा दिने बेला यो सब कुरा भन्नुभएको थिएन ।’ अनि त्यहाँ भएको केटाहरुले यो आफूहरुको पैसा हो, जसरी पनि तिमीले तिर्नैपर्छ भनि धाकधम्की दिन थाले । जथाभावी बोल्न थाले । यदि पैसा तिरेन भने यो गर्दिन्छौं, त्यो गर्दिन्छौं जस्ता शब्दहरु बोल्न थाले ।

घरमा बस्न मुस्किल बनाइ दिन्र्छौ भन्न थाल्नुभयो । त्यसपछि मैले डराई डराई भने, ‘तपाईहरु केही नबोल्नुस्, धाक धम्की नदिनुस् म सके जति विस्तारै विस्तारै तपाईहरुको पैसा दिइहाल्छु ।’ भनेर त्यहाँबाट निस्कि हाले । त्यसपछि मैले हप्तैहप्ता उहाँको पैसा तिर्न थाले । दुई महिनासम्म तिरे ।

त्यसपछि लकडाउन भयो । सबै कुरा बन्द भयो । पैसा तिर्न गाह्रो भइरहेको थियो । तैपनि सुजाताले केटाहरु लिएर मेरो कोठामा आउनुभयो । धाक धम्की, गाली गलौज गरेर जानुभयो । त्यसपछि साथी भाइ आफन्तहरुसँग सापटी लिँदै उहाँले पैसा तिर्न थाले ।

कहिले २० हजार, कहिले ३० हजार, कहिले १० हजार रुपियाँ गरी उहाँको पैसा टाइम टाइममा तिर्दै गए । एक हप्ता १० दिन ढिलो हुँदा केटाहरु लिएर मेरो कोठामा आइपुग्नु हुन्थ्यो र टर्चर दिनुहुन्थ्यो । केटाहरुबाट जथाभावी बोल्न लगाउनु हुन्थ्यो । आफै पनि बोल्नु हुन्थ्यो । त्यहाँ मेरो छोरा–छोरी हुन्थ्यो तैपनि फोहर फोहर कुराहरु जथाभावी बोल्नु हुन्थ्यो । फेरि यताउतीबाट खोजविन गरेर उहाँलाई पैसा दिन्थे ।

अब त साथी भाइ आफन्तसँग पनि पैसा माग्न लाज लाग्न थाल्यो । विदेशमा रहनु भएको बुढोले पठाएको पैसाले पनि पुगि रहेको थिएन । सुजातालाई पैसा तिर्नु, घर व्यवहार चलाउनु कि छोरीको फि तिर्नु, घर भाडा तिर्नु निकै तनाव हुन थाल्यो । उताबाट बुढोले पनि ममाथि कराउन थाल्नु भयो । रिसाउन थाल्नुभयो । पैसाको हिसाब खोज्न थाल्नुभयो ।
आठ महिनापछि लकडाउन कम भएपछि सुजाताले पुनः पसलमा बोलाउनु भयो ।

त्यहाँ पनि केटाहरु साथमा राखेका छन् । सुजाताले भन्नुभयो, ‘तिमीले पैसा तिर्न सक्दैनौं भने हिसाब किताब गरिहाल ।’ मैले भने, ‘गर्नु न कति भयो, म कति दिएको छु, तपाईले कति लिनुभएको छ, अब कति बाँकी छ सबै हिसाब किताब गर्नु ।’ उहाँले हिसाब गर्नुभयो । उहाँले दुईलाखको १६ लाख हिसाब देखाउनुभयो ।

त्यो आठ महिनामा मोटामोटी चार लाख रुपियाँ भन्दा बढी तिरी सकेको छु । मैले भने, ‘कसरी यति रुपियाँ भयो मैले त तपाईलाई सधै पैसा तिर्दै आएको छु । चार लाख भन्दा बढी तिरी सकेको छु अनि कसरी यात्रो पैसा भयो त । मेरो हिसाबमा त तपाईको हिसाब क्लियर भए जस्तो लाग्थ्यो तर तपाईले यति हिसाब देखाउनु हुन्छ कसरी भयो यस्तो ।’

उहाँले यो मिटर ब्याजमा यस्तै हुन्छ तपाईलाई यसको बारेमा केही थाह छैन भनि मिटर ब्याजमा किन पैसा लिनुभयो भनि भन्नुभयो । अनि मैले भने, ‘तपाईले पनि दिनेबेलामा मिटर ब्याज यस्तो हुन्छ, यसरी ब्याज लाग्छ भन्नु पथ्र्यो नि म त पहिला जसरी पैसा लिन्थे त्यसरी नै सम्झेर लिए तर अहिले आएर तपाईले के के भनेर यतिको हिसाब देखाउनु हुन्छ मलाई त केही थाह छैन ।’

उहाँले कुनखालको ब्याजको हिसाब गर्नुभयो मलाई थाह छैन । मैले भने, ‘मैले यति पैसा कहाँबाट तिर्न सक्छु, तपाईलाई मेरो बारेमा हरेक कुरा थाह छ । म कस्तो अवस्थामा छु, के गरिरहेको छु, मेरो आय स्रोत के हो ती सबै कुरा तपाईलाई थाह छ अनि जानी जानी यसरी मलाई फँसाउने काम नगर्नुस् ।’

अनि उहाँले भन्नुभयो, ‘तिमीले कसरी पैसा तिर्छौ त्यो तिम्रो सरोकारको विषय हो, जहाँबाट जसरी पनि मलाई पैसा चाहियो ।’ अनि मेरो आँखामा आँसु आयो । मलाई केही समझमा आइरहेको थिएन के गरौं के गरौं भयो । मेरो साथी सुजाताले पनि कराई रहनु भएको थियो र ती केटाहरु पनि जथाभावी बोलिरहनु भएको थियो ।

म त बौलाउँछु कि जस्तो लाग्न थाल्यो । दिमाग शुन्य भयो । छाती पिटी पिटी रोइ दिउ जस्तो लाग्यो । एकछिनमा सुजाताले भन्नुभयो, ‘ल तिमी चिन्ता न ले, एउटा काम गर तिम्रो नाममा मिर्चैयामा रहेको जग्गा मेरो नाममा गरिदे, तिमीले जहिले पैसा तिर्छौ त्यो दिन म तिम्रो जग्गा फिर्ता गर्दिन्छु ।’

त्यो जग्गा मेरो मम्मीको नाममा थियो । मैले मम्मीलाई भने, ‘मम्मी छोराको लागि सुजतासँग दुई लाख रुपियाँ लिएको छु, तपाईको नाममा रहेको मेरो जग्गा उहाँको नाममा गर्दिनु, उहाँको पैसा रिटर्न गरेपछि फेरि उहाँले जग्गा फिर्ता गरि दिनुहुन्छ ।’ मम्मीलाई पनि लाग्यो छोरालाई सन्चो छैन पैसा लिएको होला । मम्मी सिरहा गएर मालपोतमा छ धुर जग्गा सुजाताको नाममा नामसारी गर्दिनु भयो । सुजाताले त्यही मेरो जग्गा दुई चार दिनमै अरुको हातबाट बेच दिनुभयो । त्यो ब्यक्तिले पनि अर्काको हातबाट पनि त्यो जग्गा बेच दिनुभयो ।

त्यो जग्गा सहकारीमा राखेर सुजाताहरुले रकम उठाउनु भएको थियो । उहाँले अरुसँग पैसा लिँदा पनि मेरो आमाबाट कागज गराउनु भएको छ । त्यसको किस्ता मम्मीलाई तिर्न लगाई रहनु भएको छ । जग्गा पनि नाममा लिएर अन्यको हातबाट बेचि सकेका छन् । विभिन्न नाममा किस्ता पनि तिराई रहेका छन् । घरमा पैसा माग्न पनि आइरहेका हुन्छन् । केटाहरु लिएर आएका हुन्छन् । विभिन्न धाकधम्की दिएर जान्छन् । सुजाताले विभिन्न केटाहरुलाई नम्बर दिनुभएको छ । रातीराती फोन गरेर हैरान पार्छन् ।

फोहर फोहर कुरा गरेका हुन्छन् । तिमी यस्तो छौं, उस्तो छौं भनि नानाथरी कुरा गरेका हुन्छन् । तिम्रो नम्बर सुजाताले दिनुभएको छ । तिमीसँग कुरा गर्न भन्नुभएको छ । फोन गरेर हैरान पारेका हुन्छन् । कति दिन त यो पिडा सहनु भन्दा राम्रो आत्महत्या गरि हालौं जस्तो लाग्छ तर दुईटा छोराछोरी छन् । त्यसको मोह मायाले अहिलेसम्म बचाएका छन् । अहिलेसम्म ३५ लाख रुपियाँ तिरीसकेको छु, तैपनि पुगेन भन्छन् दिनका दिन टर्चर दिन्छन् । केटाहरुले फोन गर्दा प्रहरीमा जान्छु भन्दा जा न त केही गर्छ प्रहरी हामी पनि हेर्छौ ।’

प्रहरीलाई पहिनाको ५० हजार दिन्छु, केटाहरुलाई महिनाको एकलाख दिन्छु तिमीलाई जहाँ जान मन लाग्छ जा भनि सुजाताले मलाई पटक पटक भन्नुभएको छ ।

पटक पटक प्रहरीमा गए । पटक पटक सिडियो कार्यालय गए । सुजाता र ती केटाहरु विरुद्धको उजुरी पनि लिन मानेनन् । प्रहरी र सिडियो पनि त्यही मिटर ब्याजीको पक्षमा बोल्छन् । हामीलाई उल्टै हप्काएर पठाउँछन् । हामी जाउँ त जाउ कहाँ । मेरी १३ वर्षकी छोरी स्कूलमा पढ्छे ।

सबै पैसा तिरेनौं भने स्कूलबाट अपहरण गर्न लगाई दिने भनि धम्की दिन थाल्नुभयो । त्यसपछि मिर्चैयाको एक स्कूलमा पाँच कक्षामा पढ्ने आफ्नी छोरीलाई स्कूलमा पढ्न जान रोकेको छु । पाँच महिनादेखि मसँगै बस्छन् । उता, श्रीमान पनि मसँग रिसाउनु भएको छ । पैसा पठाउन बन्द गर्नुभएको छ ।
(कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया