जातीयता र साम्प्रदायिकताको नारा दिनेहरुबाट सचेत रहन उपेन्द्र यादवको आग्रह

बारा, चैत्र ३० गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजमा जातीयता र साम्प्रदायिकताको नारा दिनेहरुबाट सचेत रहन आग्रह गर्नुभएको छ ।
बारा–२ का लागि भइरहेको उपनिर्वाचनमा उम्मेदवार बन्नुभएको अध्यक्ष यादव करैयाको सिहोर्वा, पिप्राहीलगायतका स्थानहरुमा विहीबार आयोजित जनता दर्शन कार्यक्रमलाई सम्बोधन गर्दै मतदातासँग यस्तो आग्रह गर्नुभएको हो ।
विभिन्न नाममा सामाजिक एकता र सद्भावलाई बिथोल्न खोज्ने तत्वहरुबाट सचेत रहन आग्रह गर्दै अध्यक्ष यादवले भने ‘जातीयताको कुरा गरेर जनतालाई भड्काउने र सामाजिक एकता र सद्भाव बिथोल्नेहरुबाट सावधान रहनुपर्छ, यसले न त त्यस्ता व्यक्तिको हित गर्छ न त समाजलाई नै ।’
परिवर्तनकामी शक्तिहरुको कठोर संघर्ष तथा मधेश विद्रोहकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएकोले यसको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उहाँले बताउनुभयो ।
संघीयता विरोधी शक्तिहरु विभिन्न नाममा सल्बलाई रहेकोले आमजनता सचेत रहनुपर्नेमा जोड दिँदै अध्यक्ष यादवले भन्नुभयो, ‘प्राप्त उपलब्धीहरुको रक्षा गर्न तथा बाँकी अधिकारहरुको सुनिश्चितताका लागि संघर्ष गर्नु आवश्यक छ, त्यसैले झुठा भ्रम फैलाएर मिठा सपना बाँड्ने तत्वहरुको पहिचान गरौं ।’
आफ्नै देशमा अपमानित भएर बाँच्नु परेको अवस्थाबारे स्मरण गर्दै उहाँले मधेश विद्रोहकै प्रतिफलले गर्दा देशमा संघीयता आएको र विभिन्न नाममा मधेशी जनतासँग गरिने विभेदहरुको अन्त्य भएको चर्चा गर्नुभयो । देशमै पहिचानको आधारमा आज मधेश प्रदेश नै बनेको र गर्वले मधेशी भन्न पाएको बताउँदै उहाँले लडाई लड्न अझैं बाँकी रहेकोले थप अधिकार प्राप्तिका लागि सडक र सदन दुबै आवश्यक रहेको दावी गर्नुभयो ।
‘तत्कालिन सरकार र मधेशी जनअधिकार फोरम नेपालसँग भएको सम्झौताकै आधारमा पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा ९ लाख गरी ३१ लाख सर्वसाधारण जनताले नागरिकता पाएको हो’ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका जसपा अध्यक्ष यादवले भन्नुभयो, ‘मधेशी, महिला, दलित, आदिवासी जनजाती, मुस्लिम, अल्पसंख्यक लगायतका जाती एवम् समुदायको आरक्षणको सुनिश्चितता भएको हो, त्यहीं भएर आज विभेदमा पारिएका र पछाडि पारिएका समुदायले पनि सरकारी सेवा लगायत क्षेत्रमा प्रवेशको सुनिश्चितता पाएको हो ।’
देश र मधेशका लागि कसले के गरे ? कतिको संघर्ष गरे ? कसको कति योगदान छ ? कसको संघर्षले के परिवर्तन आएको हो ? यसको लेखाजोखा न्यायप्रेमी जनताले गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘हावादारी कुरा गरी भ्रम फैलाउनेहरुले जनताको मुक्तिका लागि के गरेका छन् ? जनताले के पाएको हो ? हाम्रा भावी सन्ततीलाई कहाँ लग्दैछ ?, एकतावद्ध समाजलाई विभाजन गरेर कहाँ लान खोज्दैछ ? देशमा आज मधेश विद्रोह नभएको भए हामी कहाँ हुन्थ्यौ ?, मधेश विद्रोहको नेतृत्व कसले गरेको थियो ? आज कसरी षडयन्त्र हुँदैछ ? यसको भावी परिणामबारे समेत आममतदाताले सोच्नु जरुरी छ ।’
नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, प्रतिनिधि सभा सदस्य प्रदिप यादव, संविधानसभा सदस्यद्वय कलावती पासवान, प्रमोद गुप्ता लगायतका नेताहरु समेत जनतादर्शन कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया