Khadya Bibhag

यज्ञले गरेको विकास (सम्पादकीय)

संसारमा धर्मको नाममा धेरै ठूला ठूला ट्रष्टहरु छन् । जसले समाजिक विकासमा सहयोग पुर्याइरहेका हुन्छन् । अर्बौ सम्पत्ति भएका ट्रष्टहरु छन् । देशका ठूला ठूला विकास निर्माणमा सहयोग पुर्याई रहेका हुन्छन् । गाउँघर तर शहर बजारमा पनि महोत्सव, पूजापाठ, यज्ञ, महायज्ञा, जात्रा, हवन गरेर त्यसबाट प्राप्त दक्षिणा, चन्दा, उपहारले ठूला ठूला काम भएको प्रशस्त उदाहरणहरु पाइन्छ ।

स्कूल तथा क्याम्पस भवन निर्माण, सडक निर्माण, मन्दीर तथा विभिन्न सार्वजनिक स्थल जस्तै खानेपानी, शौचालय, पार्टी पौवा जस्ता कामहरु पनि गरेका हुन्छन् । पछिल्लो समय यो चलनले तीब्रता लिएको छ । ठूला ठूला मेला, महोत्वस, यज्ञ लगाउने पनि चलन बढ्दै गएका छन् । चलन शहरभन्दा बढी ग्रामिण क्षेत्रमा प्रचलन जस्तै भएको छ । एउटा गाउँमा यज्ञ भएको छ, त्यसको देखासिखी गरि अर्को गाउँमा पनि गरेका हुन्छन् । त्यसको देखासिखी फेरि अर्को गाउँमा गरेका हुन्छन् । यसरी मेला तथा यज्ञहरु गाउँगाउँमा भइरहेको देखिन्छ ।

तर कतिपय यज्ञ धार्मिक दृष्टिकोणले गरेका हुन्छन् । त्यसबाट धार्मिक लाभ मात्र भएको हुन्छ । पुरोहित दान दक्षिणा लिएर अनुष्ठान सम्पन्न गरेका हुन्छन् । कतिपय यज्ञ तथा महोत्सवहरु व्यक्तिलाई ठग्नका लागि पनि गरेका हुन्छन् । यज्ञ गर्यो, त्यहाँ दक्षिणा तथा चन्दा उठायो र पछि आयोजकहरु आपसमा बाँडफाँट गरि खायो । त्यस्ता समाचारहरु पनि आइरहेका हुन्छन् ।

कतिपय यज्ञ–महायज्ञ धार्मिक लाभका साथै विकास निर्माणका काम पनि गरेका हुन्छन् । यज्ञ तथा मेलाबाट भएका आम्दानी गाउँको विकासमा लगाएका थुप्रै उदाहरणहरु छन् । पछिल्लो समय सिरहाको वरियारपट्टी गाउँमा भएको यज्ञबाट उठेको रकमले त्यहाँ क्याम्पस निर्माण गर्ने निर्णय गरेको छ । तर त्यही औरही गाउँमा भएको दुईटा यज्ञ तथा मेला धार्मिक प्रयोजनमा भए । २०७९ चैत ४ गते शिवगुरु महोत्सव सम्पन्न भयो । चैत २६ गते गायत्री महायज्ञ सम्पन्न भयो । त्यो यज्ञबाट पनि केही रकम दान तथा चन्दा उठ्यो तर रकमले विकास निर्माणमा खर्च गरेनन् ।

तर त्यसअघि चैत १२ गतेदेखि वरियारपट्टीमा विष्णु महायज्ञ भयो । त्यो महायज्ञ क्याम्पस स्थापना उद्देश्यले नै गरेको थियो । सो महायज्ञबाट एक करोडभन्दा बढी रकम उठेको छ । ती सबै रकम क्याम्पस निर्माणमा लगाउनेछ । त्यस्तै, सुनसरीको धरान–१० मा रहेको श्री सिंह बाहिनी भगवती मंदिरको ५० औँ वर्षगाठ स्वर्ण महोत्सवको अवसरमा लगाईएको सप्ताह महाज्ञान पुराणबाट उठेको रकमले मन्दिरको अर्को भवन निर्माणमा खर्च गर्यो । सशस्त्र द्वन्द्वका बेला स्थानान्तरण भएको संस्कृत गुरुकुललाई गाउँमै पुनःस्थापना गर्ने उद्देश्यले सञ्चालित ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ काठमाडौँमा दुई करोड २५ लाख रुपियाँ सहयोग संकलन भयो । त्यो रकमले गुरुकुललाई पुनः गाउँमै स्थापना गर्नमा खर्च गर्ने बताइएको छ ।

यस्ता थुप्रै उदाहरण छन् कि महोत्सव वा यज्ञ गरेर गाउँमा ठूला ठूला विकास गरेका छन् । कतिपय यज्ञहरु त्यतिकै बिना अर्थको रमाइलोका लागि मात्र भएका हुन्छन् । त्यस्ता महोत्सवले समय र पैसा मात्र बर्बाद गरेका हुन्छन् । त्यसले कुनै व्यक्ति विशेष वा समूह विशेषलाई मात्र फाइदा भएको हुन्छ । धर्म कर्ममा विश्वास गर्नेहरुका लागि केही लाभ भएको होला तर दीर्घकालिन फाइदा कसैलाई भएको देखिदैन । हाम्रो देश धर्मनिरपेक्ष देश भएपनि यहाँ हिन्दु परम्परा अनुसार हरेक काम हुन्छ ।

अधिकाँश जनताको आस्थाको केन्द्र हिन्दु धर्म नै हो । धर्मको माध्यमबाट विभिन्न जागरणका कामहरु पनि भइरहेका हुन्छन् । धर्मका नाममा चन्दा र दक्षिणा दिन पनि हिचकिचाउँदैनन् । प्रत्येक धर्मालम्बीले केही नकेही दक्षिणा तथा दान गरेका हुन्छन् । त्यही भएर करौडो रकम एउटै महोत्सव तथा महायज्ञबाट संकलन भइरहेका हुन्छन् । धर्मिक संघ, संगठनहरु धनी छन् । त्यसबाट आवश्यकता अनुसार विकासका काम गरिरहेका हुन्छन् ।

तपाईको प्रतिक्रिया