Khadya Bibhag

सलहेश क्षेत्रको महिमा उजागर हुन आवश्यक

–जीवछ यादव ‘उदासी’
लहान नगरपालिका –१२ र २२ मा पर्ने सलहेश फूलवारीमा बैशाख १ गते नयाँ वर्षको अवसरमा मेला लाग्ने गर्दछ । नौ विगहामा फैलिएको फूवारीमा सलहेशको मन्दिर नजिक रहेको हारमको रुखमा सुनाखरी फूल फूल्ने धार्मिक विश्वास र जन अस्था रहँदै आएकोले भव्य मेला लाग्ने गर्दछ । जनकपूरको जानकी मन्दिरपछि दोस्रो धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको सलहेशको गथा र महिमालाई समयको गतिसँगै उजागर हुन नसक्दा वार्षिक मेलाको रुपमा मात्रै सीमित रहन पुगेको छ । शोषण उत्पीडिनमा परेका जनतालाई न्याय दिलाउन सधै शक्ति सहास देखाउने गरेकोले सलहेशलाई देउताभन्दा पनि लोकनायकको रुपमा चिन्ने गरिन्छ ।
को हुन् लोकनायक सलहेश ?
सलहेशको बारेमा एके किसिमको कुनै ऐतिहासिक दस्तावेज वा लिखत प्रमाण उपलब्ध नभएकोले जन जिब्रोमा जनश्रुतिको रुपमा जीवित छ । यसबारे अझै अनुसन्धान र खोज हुनुपर्ने आवश्यक्ता देखिन्छ । विभिन्न विद्वानहरुले सलहेशको बारेमा केही अभिलेखीकरण गरेका छन् । अधिकांशको सहमति अनुसार सलहेशको जन्म हाल सिरहा नगरपालिका–७ मिहिसोथाको दुसाध परिवारमा भएको थियो ।
बाल्यकाल त्यहि बितेको थियो भने युवाकाल लहान–१८ स्थित दुनुवार राजा कुलेश्वरको दरवारमा बित्यो । नामी शक्तिशाली कुस्ती लड्ने पहलवानको रहेको सलहेश दरवारमा सुरक्षा अधिकारीको रुपमा बिताए । राजा कुलेश्वरको अवशान पश्चात सलहेश महिसोथागढ राज्यका राजा घोषित भएका थिए । राजाको रुपमा उनले महिसोथागढ राज्यको सीमा पूर्वमा कोशी पश्चिममा कमलापारी उत्तरमा चुरेडाँडापारी र दक्षिणमा मैथिली भाषाभाषी बोल्ने क्षेत्रसम्म विस्तार गरे ।
सलहेशले आफ्नो राज्यमा सुशासन कायम गर्न, सामान रुपमा न्याय दिन,सक्षम रहेको तथ्य सलहेश सम्बन्धि नाच र लोक गीतहरुमा पाइन्छ । सलहेशको नायकत्व पकडियागढ राज्यको सुरक्षा र महिसोथा राज्यको बहादुरीपूर्ण विस्तारबाट झल्किएको प्रष्ट हुन्छ । अहिलेसम्म बैशाख १ गते सलहेशको जन्मदिन मनाउन धार्मिक मान्यता अनुसार पूजा गर्छन् ।
पकडियागढका राजा र सलहेश
लहान–१८ अम्हीमा पर्ने पकडियागढमा बैशााख २ गते मेला लाग्ने गर्दछ । पूर्वकालिक पोखरीका दुनुवार राजा कुलेश्वर धार्मिक हुनुको साथै पूजापाठमा बढी समय बिताउने गर्दथे । उनका दरवारी माली हिनपैतका पाँच छोरीहरु फूलवन्ती, सतवन्ती, रेशमा कुशमा र देउता राजाको पूजापाठको प्रयोजनको लागि नियमित फूल टिपेर दरवार ल्याउने गर्दथे । दरबारमा भारत निवासी मेकामाका चोहरमललाई दरवारमा सुरक्षाको लागि नियुक्त गरिएपनि अर्को सुरक्षाकर्मीको खोजी भइरहेको थियो ।
सोही क्रममा महिसोथा निवासी लोचन दुसाधको जेठा छोरा सलहेश र कान्छा छोरा बुधेश्वर जोराबर योद्धा कुस्तीमा पनि ख्याती प्राप्त गरेकोले पकडियागढ दरबारमा राजा कुलेश्वरले नियुक्त गरेका थिए । लोचन दुसाधको विवाह चोहरमलकी बहिनसिँग भएको र सलहेशको विवाह भारत विहार मधुवनी जिल्लाको बरुवार भने बलाटपुर निवासी राजा बलाटकी छोरी सामैर देवीसँग भएको विभिन्न विद्वानहरुको मत रहेको छ ।

राजा कुलेश्वर र रानी पल्लहास बत्तीका दुई सन्तान थिए, छोरा मोतिराम र र छोरी चन्द्रावत्ती । राजा कुलेश्वर छोरा मोतिरामलाई हृष्टपृष्ट देख्न चाहन्थे । सलहेश र मोतिरामको मितेरी लगाएर दरवारको सम्पूर्ण सुरक्षाको जिम्मा सलहेशलाई सुम्पियो । मोतिरामलाई कुस्ती खेलाउन सलहेश फूलवारीमा व्यवस्था मिलाएको थियो । त्यहि बेलादेखि मोतिराम र सलहेश नित्य हाल लहान–२४ मा रहेको मानिक दहमा स्नान गर्दथे र लहान–१८ मै रहेको खुदी बखारीमा धोती सुकाउँथे ।
मानिकदहमा राजा कुलेश्वरको हात्ती राख्ने हातीसार थियो । कुस्ती पहलवानी हुने ठाँउमा फूलका बगैचा रहेकोले नित्य फूल टिप्न पाँचै बहिनी मालिन आइपुग्थिन । सलहेशको सुन्दरता देखेर पाँचै बहिनी मोहित भई सलहेशको सुन्दरताबारे सबै खबर दिनहुँ चन्द्रावती कहाँ पुरयाउने गर्थिन् । पछि पाँचै बहिनीले सलहेशलाई फकाउन त्यहि फूलवारीमा आएर विभिन्न किसिमका चाल चल्न थालिन ।
आफूहरुसँग विहे गर्न प्रस्ताव समेत गरिन् । तर चतुर सलहेशले कुस्ती अभ्यासको दौरान विवाह ब्रम्हचर्य रहनुपर्ने सुनाएर बिहे गर्नबाट पन्छिए । देउना मालिन पाँचै बहिनीले छटपटिन थालिन के गर्ने नगर्ने भनि छटपटिन थालिन् । यता दरवारमा चन्द्रावतीको सुन्दरतामा आशक्त भई दरवारको प्रतिष्ठामाथि आघात पुरयाउन चाल चल्न खोजे । राजा कुलेश्वरले चोहरमलको गतिविधिको सुइँको पाएर नोकरीबाट अवकाश दिए । प्रतिशोध साध्न चोहरमलले दरबारमा चोरी गरयो । चोरीको सुरक्षामा खटिएका सलहेशमाथि नै आरोप लगाउन मालिनहरु लगाएर राजा कुलेश्वरले सलहेशलाई बन्दी बनायो ।
राजा कुलेश्वरको छोरा मोतिरामले सलहेशलाई छुटाउन अनेकौ प्रयास गरेपनि सफल भएन । आक्रोसित मोतिराम महिसोथा गएर लोचन दुसाधलाई सबै बृतान्त सुनाए । मित सलहेशको अभावमा तपाईको छोरा भएर बस्छु र महिसोथालाई राज्यको दर्जा दिई मित सलहेश छुटेपछि उनलाई नै महिसोथाको राजा बनाउछु भने विश्वास दिलाए ।
उता सलहेशकी श्रीमति सामैर यो कुरा खबर पाई तत्कालै पोखरीको लागि प्रस्थान गरिन् । त्यहाँ पुगि देउना मालिनहरुसँग भेट गरी सबैकुरा राम्ररी पत्ता लगाएर नातेदार चोहरमलको कर्तव्यप्रति रोष प्रकट गर्दै देउना मालिनका साथ चोहरमललाई समात्ने योजना बनाइन् । सामैर र देउना दुबै जादु विधामा निपुण थिइन् ।
नटिनको भेषमा भैसीमाथि सिरकीहरु राखी दुबै जना रातारात मुकामा पुगे । सुतेकै बेलामा चोहरमलमाथि सात डिविया जादुको निद्रा थुपारी डोरीले चोहरमलको खटिया भैसीमाथि नै बाँधी राखेर राजा कुलेश्वरको दरवारमा पुरयाइन् । राजा कुलेश्वरलाई मुक्त गर्न कर लाग्यो । त्यसपछि सलहेशलाई सामैरको जिम्मा लगाइयो । चोहरमलको निद्रा खुलेपछि उनले आफूलाई राजा कुलेश्वरको दरवारमा रहेको थाहा भयो । पछि उफ्रि उफ्रि भाग्न खोजे तर सलहेशले पुनः समाती करागारभित्र राखिदियो र आफू परिवारसहित महिसोथाको लागि प्रस्थान गरियो ।
पाँच बहिनी मालिनहरुमा रेशमाको बुधेश्वरसँग र कुशमाको मोतिरामसँग विहे भयो । फूलवन्ती, सत्वन्ती र देउना मासिलन फूलको माला लिई सलहेशको प्रतिक्षामा बसिरहेको जनविश्वास रहि आएको छ । प्रत्येक वर्ष बैशाख १ गते हारमको रुखमा फूल्ने यही फूलको माला हेर्न सलहेश फूलवारीमा नेपाल भारतका लाखौ भक्तजनहरु आउने गर्दछ ।
सलहेश फूलवारीको धार्मिक पर्यटनको रुपमा मात्रै होइन, वातावरणीय दुष्टिले अनुपम सुन्दर स्थल रहेको छ ।
पारिस्थितीय प्रणाली अनुसार सिमसार क्षेत्रभित्र हारम जातको ठूलो वृक्षदेखि लिए सानो वृक्ष लगायत दर्दमेदा र पुत्रजीवक लगायत महत्पूर्ण औषधीय गुण भएका वनस्पतिहरुको भण्डार नै रहेको सलहेश फूलबारीमा अहिलेसम्म विभिन्न समयमा पटके अनुसन्धान गर्ने विज्ञहरुआएपनि ठोस योजना ल्याउन नसकेको छैन ।
सलहेशसँग जोडिएको लहान नगरपालिका क्षेत्रमा रहेको लहान–२४ को मानिकदह,लहान–१८ मा रहेको पकडियाढ,लहान–२० मा रहेको ब्रम्हानथान, लक्ष्मीपुरपतारी गाउँपालिकामा रहेको पतारी पोखरी र सिरहा नगरपालिकामा रहेको सलहेशको जन्मस्थल मैसोथालाई जोडेर सलहेश सर्किट योजनाअन्तरर्गत निर्माण भइरहेको सडकको कार्यपनि द्रुत गतिमा भइरहेको छैन । सलहेशसँग जोडिएका यी धार्मिक स्थलहरुमा पर्यटकहरु दुई चारदिन बस्न सक्ने धर्मशाला, सलहेशसँग जोडिएका मुर्ति र अन्य मनोरञ्जनात्मक पार्क तथा बगैचाहरुको निर्माण हुन आवश्यक छ ।
सलहेशको जन्म समयकालबारे एकमत देखिँदैन । कसैले पच्चीससय वर्ष अघिका बुद्धकालिन भन्छ भने कसैको मतमा नेपालका राजा नरेन्द्र देव(६४५–६८१) का समकालिन भनिन्छ । छ सयवर्षदेखि मिथिला भाषाभाषी बोल्ने यस क्षेत्रमा मिथिलावासीको हृदयमा बास गर्दै आइरहेका सलहेशलाई लोकनायक भनेर देउताको रुपमा बैशाख १ गते स्मरण गर्दै आइरहेका छन् ।

तपाईको प्रतिक्रिया