Khadya Bibhag

मैथिली भाषा माथिको राजनीति

-डा.सुर्यप्रसाद यादव

मैथिली भारतीय आर्यभाषा परिवारको एकटा स्वतन्त्र र  सम्पन्न भाषा हो। यो भाषा विशेष गरेर दक्षिण एसियाका दुई घनिष्ट राष्ट्र नेपालको तराई र भारतको बिहार राज्यको पूर्वी तथा उत्तरी क्षेत्रमा बोलिन्छ। राष्ट्रिय जनगणना २०११ अनुसार नेपालमा मैथिलीभाषीहरूको जनसङ्ख्या ३,०९२,५३० (प्रदेश २ को मैथिलीभाषीहरूको सङ्ख्या २,४४७,९७८)  रहेको छ। यो जनसङ्ख्या नेपालको कुल जनसङ्ख्याको ११.७% हो।

यसरी हेर्दा मैथिली भाषा तराईको परिपेक्षमा पहिलो र राष्ट्रिय स्तरमा दोस्रो भाषाको रूपमा स्थापित भएको छ। अघिल्लो जनगणना (२००१) को तथ्याङ्कसँग तुलना गर्दा मैथिलीभाषीको सङ्ख्यामा बृद्धि भए पनि प्रतिशतमा ह्रास आएको देखिन्छ, जस्तो: २,८००,००० (१२.३%; २००१) र ३,०९२,५३० (११.७%;२०११)। सरसर्ती हेर्दा यसको प्रमुख कारणमा केही स्थानीय भाषाका वक्ताहरूमा आएको वृद्धि हुन सक्छ।यसको अतिरिक्त यो वर्तमान अबस्थामा लगभग तीन करोड़ मानिस द्वारा बोलिन्छ।

यो भाषा पी.इ.एन. (कवि, निबंधकार, उपन्यासकारको लागि भाषाको एउटा अंतर्राष्ट्रीय संगठन) र साहित्य अकादमीको अनुसार भारतको सोरहौं र विश्वको चौवालिसौ स्थानमा रहेको छ (http://en.wikipedia.org/wiki/List_of_languages_by_number_of_native_speakers) ।

नेपालको पूर्व, दक्षिण र पश्चिममा भारतसँग साझा सिमाना भएकाले यी क्षेत्रमा बोलिने भाषाहरू अन्तरसीमावर्ती छन्।भारतको विहार प्रदेशको उत्तरपूर्वी भागमा बोलिने मैथिली भाषा नेपालको पूर्वी तराईमा पनि बोलिने भएकाले यो भाषा दुबै राष्ट्रको साझा भाषा हो।यो भाषा नेपालका ७ जिल्लाहरू (धनुषा, सिरहा, महोत्तरी, सप्तरी, सर्लाही, सुनसरी र मोरङ) र भारतको विहार प्रदेशका मधुबनी र दरभंगा जिल्लाहरूमा मुख्यत: बोलिन्छ।यसको अतिरिक्त, विहारको पूर्णिया, भागलपुर र मुंगेर जिल्लाहरू, पश्चिम बङ्गाल, महाराष्ट्र, मध्य प्रदेश र नेपालको मध्य तराई र काठमाडौं उपत्यकामा पनि मैथिलीभाषी अल्पसङ्ख्यक समुदायको बसोवास पाइन्छ। यी क्षेत्रहरूमा मैथिली मातृभाषाका रूपमा, दोस्रो भाषाका रूपमा र सम्पर्क भाषाका रूपमा प्रयोग हुन्छ।

नेपालमा जनगणनाको सुरुवात १९६८ (१९११ ई.) देखि भए तापनि यसमा भाषाको उल्लेख २००९/११ देखिमात्रै भएको छ। यसका कारणहरूमध्ये राष्ट्रिय योजनामा भाषालाई कम महत्त्व दिइनु, अतिरिक्त राष्ट्रभाषा र सरकारी कामकाजको माध्यम भाषाका रूपमा रहेको नेपाली भाषाबाहेक अन्य भाषाहरूको अस्तित्व नस्वीकार्नु आदि हुन सक्छन् (यादव र शाक्य २०६५)।तालिका १ मा २००९/११ देखि २०६८ सम्मका जनगणनामा उल्लेख भएका मैथिली मातृभाषीहरूको सङ्ख्या प्रस्तुत गरिएको छ ।

तालिका १: विभिन्न जनगणनामा मैथिली मातृभाषीहरूको सङ्ख्या

 

जनगणना

जम्मा सङ्ख्या

प्रतिशत

टिप्पणी

१.

१९५२/५४

१०२४७८०

१२.४४ %

४४ वटा भाषाहरू

२.

१९६१

११३०४०२

१२.१०%

३६ वटा भाषाहरू

३.

१९७१

१३२७२४२

११.४९%

१७ वटा भाषाहरू

४.

१९८१

१६६८३०९

११.११%

१८ वटा भाषाहरू

५.

१९९१

२१९१९००

११.८५%

३१ वटा भाषाहरू

६.

२००१

२७९७५८२

२१.३०%

९२ वटा भाषाहरू

७.

२०११

३०९२५३०

११.७०%

१२३ वटा भाषाहरू

स्रोत: जनगणना(१९५२/५४-२०११)

तालिका १ मा उल्लेख गरिएका विभिन्न जनगणनाहरूमा मैथिली मातृभाषीहरूको सङ्ख्यामा भिन्नता देखिन्छ। यसको कैयौ कारणहरू हुन सक्छन्। तर यसको प्रमुख कारण भनेको भाषिक विविधताबारे जनचेनतको कमि हो।भाषिक विविधता बुझ्न एउटा छुट्टै अन्तर्राष्ट्रिय मान्यता छ । जस अनुसार ६० प्रतिशत समानतालाई शब्दगत समानताको मूल्याङ्कनको संघार विन्दु (cutoff point/threshold) मानिन्छ।

सो मान्यता अनुसार कुनै भाषामा सामान्यतया ६० प्रतिशत वा सो भन्दा बढी र ८५ प्रतिशत भन्दा कम समानता देखिएमा छुट्टै भाषा वा उही भाषाका भाषिका मान्ने चलन छ। यस्तो अवस्थामा रेकर्ड गरिएका पाठ (recorded text test) का आधारमा वोधगम्यता (inteligibility) परीक्षण गर्नु पर्ने हुन्छ।  भाषा बोल्ने क्षेत्रलाई मूलथलोबाट सुदूर पूर्व, सुदूर पश्चिम, सुदूर उत्तर र सुदूर दक्षिण गरी पाँच भागमा बाँडेर सर्वेक्षण गर्ने चलन छ।हरेक देशमा कुनै एउटा वा एक भन्दा बढी  भाषाले वृहत् संचारको माध्यमको रूपमा प्रयोग हुने मौका पाएका हुन्छन्।

त्यस्तो भाषामा अन्य भाषा बोल्ने वक्ताको प्रवीणताको तहको निर्क्यौल गर्नका लागि वाक्य पुनरावृत्ति परीक्षण(Sentence Repetition Test) गर्ने चलन छ।छोटा वाक्यलाई पुनरावृत्ति गर्न सके पनि लामा वाक्यहरू भने बेमातृभाषीले पुनरावृत्ति गर्न सक्दैन।उमरे, लिङ्ग र साक्षरताको तहका आधारमा लिइने यो परीक्षणले समुदायको बहुभाषिकताको प्रोफाइल छोटो अवधिमा नै प्राप्त गर्न सकिन्छ। त्यस्तैगरी भाषिक समुदायका मानिसहरूका बीचमा रहेको वोधगम्यताको तहको निर्धारण गर्नका लागि रेकर्ड गरिएका पाठ (recorded text)  का आधारमा परीक्षण गरिन्छ।यसमा सबभन्दा पहिले प्रमाणित परीक्षण (validtest)को निर्माण गरिन्छ र प्रतिनिधिमूलक वक्ताको छनोट गरी प्रयोग गरिन्छ।

यो मापदण्डको आधारमा केही महिना अगाडी मैले मैथिली, अंगिका, मगही र बज्जिका भाषाको ४०५ शब्दसूची संकलन गरेर  तुलनात्मक अध्ययन गरें। यसरी अध्ययन गर्दा यी भाषासूचीहरू बिचको शाब्दिक तथा ध्वनिगत समानता हेर्दा ७९-९० प्रतिशत रहेको देखियो। यधपी यसको थप अध्ययनको आवश्यक छ। तर नेपालमा पछिल्लो समय राजनीतिक क्रान्तिको नाममा मैले गर्ने सबै (भूगोलको नामाकरण, भाषाको नामाकरण……) कामनया हुनु पर्छ भन्ने महात्वाकान्क्षा नेताहरूमा बढदै गएकोछ।

जसको प्रभाव मधेस प्रदेसमा बहुसंख्यक रूपमा बोलिने मैथिली भाषा वक्तारूमा पर्ने देखिएकोले यस्ता प्रहारबाट भाषालाई बचाउन र यसको उन्नति, प्रगतिको वातावरण निर्माण गर्न तपाई हामी सबै मैथिलीभाषीहरूको कर्तव्य हो जस्तो मैले महशुस गरेको छु। तसर्थ, मैथिली भाषाको विभिन्न क्षेत्रमा काम गर्ने संघ-संस्थालाई स्मरण गर्दै म विशेष गरेर भाषाकै विधार्थी भएको नाताले “मैथिली भाषा उत्थान समाज नेपाल” नामक एउटा संस्था खोलौन त भन्ने मेरो मनमाविचार आयो, यो विचार ठिक हो कि होइन भन्ने सम्मपूर्ण मैथिलीभाषी तथा मैथिली प्रेमी सँग सल्लाह र सुझावको अपेक्षा गर्दछु। तपाईहरूको सल्लाह सुझाव मेरा लागि एउटा मार्गदर्शन हुन सक्छ।

(लेखक डा.सूर्यप्रसाद यादव नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभाको सदस्य हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया