Khadya Bibhag

उपेन्द्र र सिकेबीच के को झगडा ?

‘अरिङ्गालले पानीमुनी गए पनि छोडदैन’ गाउँघरमा सुनिएको यो थेगो अहिले जनमत पार्टीका अध्यक्ष डा.सिके राउतका लागि फिट भएको छ । डा.सिके राउत अहिले अरिङ्गाल जस्तो भएर जसपाका अध्यक्ष उपेन्द्र यादवलाई टोकि रहनु भएको छ ।
अरिङ्गालले कुनै व्यक्तिलाई टोक्न थाल्यो, यदि त्यो मान्छे पानी मुनी पनि लुक्यो भने पनि त्यसलाई छाड्दैन । अहिले उपेन्द्र यादवका लागि डा.सिके राउत त्यस्तै अरिङ्गाल हुनुभएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव २०७४ को चुनावमा सप्तरी–२ बाट चुनाव जित्नु भएको थियो । पुनः सोही क्षेत्रबाट चुनाव लड्छु भनि उपेन्द्र यादव तयारीमा लाग्नुभयो । शिक्षा, स्वास्थ्य, सडकलगाायतको क्षेत्रमा थुप्रै पूर्वाधारहरु तयार गर्नुभयो । २०७९ मंसिर ४ मा चुनाव हुने भएपछि जनमत पार्टीका अध्यक्ष डा.सिके राउत पनि त्यही क्षेत्रमा आइ पुग्नुभयो ।
दुईजनामध्ये एकजना मात्र त्यहाँ चुनाव लड्नुपर्छ भनि दुवैजनामा छलफल पनि भयो । जनमत पार्टीका अध्यक्ष सिके राउतले सार्वजनिक रुपमै भन्दै आउनु भएको छ, ‘मैले उपेन्द्रजीलाई भेटेर नै त्यो मेरो क्षेत्र हो, म त्यहाँबाट चुनाव लड्छु तपाई अर्को क्षेत्रको व्यवस्था गर्नु भनेको हुँ तर उहाँले मान्नु भएन ।’
तर जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्ना निकटका नेताहरुसँग भन्दै आउनु भएको छ कि ‘सिके राउतले सो क्षेत्रबाट चुनाव लड्ने भनि भन्न आउनु भएको थिएन, उहाँले चुनावमा गठबन्धन गरौ भन्न आउनु भएको थियो, मैले छलफल गर्दै जाउ कहाँ कहाँ कसरी तालमेल गर्न सकिन्छ । तर गएपछि कुनै छलफल नै नगरिकन सिधै सप्तरी–२ का लागि उम्मेदवारी घोषणा गर्नुभयो ।’
जनमत पार्टीका अध्यक्ष सिके राउतले कुनै पनि दलसँग तालमेल नगर्ने घोषणा गर्दै २०७९ मंसिर ४ को चुनावमा होमिनु भएको थियो । चुनाव तालमेलका लागि कसैसँग छलफल गर्न पनि तयार हुनुभएन उहाँ । सप्तरी–२ मा चुनाव भयो । उपेन्द्र यादव जसपा–एमालेका साझा उम्मेदवार थिए भने जनमत पार्टीका अध्यक्ष सिके राउत एक्लै चुनाव लड्नु भएको थियो । काँग्रेस, माओवादी, लोसपासहित पाँच दलीय गठबन्धनबाट लोसपाका जेपी ठाकुर उम्मेदवार बन्नुभएको थियो ।
तर सिके राउत दोब्बर मतले जित्नुभयो । सिके राउतले ३५ हजार ४२ मत ल्याउनु भएको थियो भने त्यही जसपाका अध्यक्ष उपेन्द्र यादव १६ हजार ९७९ मत मात्र ल्याउनुभयो । पाँच दलीय गठबन्धनबाट उम्मेदवार बन्नु भएका लोसपाका नेता जेपी ठाकुरले सातहजार ३४७ मत ल्याउनु भएको थियो ।
एकातिर दुई दलको शक्तिशाली उम्मेदवार र अर्कोतिर पाँच दलीय गठबन्धनका उम्मेदवारलाई हराउने सिके राउत चानचुने व्यक्ति पक्कै होइन भनि चर्चा सुरु भयो । त्यो कसरी सम्भव भयो । सिके राउतको लोकप्रियताले थोरबहुत काम गरेका होलान्, उहाँले मधेशी जनताका लागि ग्रासरुटमा उठाएका मुद्दा होला, १० लाखलाई रोजगारी दिने कुरा होला, किसानलाई रासायनिक मल तथा बीउ उपलब्ध गराउने कुरा होला ती सबै कुराले मात्रै सिके राउतले दोब्बर मतले पक्कै जितेको छैनन् भनि जसपाका नेताहरुको तर्क छ ।
सिके राउतलाई काँग्रेस, माओवादी, लोसपाको पनि मत गएको छ । काँग्रेस, माओवादी, लोसपाले मत नदिएको सिके राउतले जित्ने कुनै चान्स नै नरहेको जसपाका नेताहरुको दावी छ ।
जसपाका अधिकाँश नेताको दावी भनेको अन्तराष्ट्रिय शक्तिले सप्तरी–२ मा मतखरिद विक्रि गरेर उपेन्द्र यादवलाई हराएका हुन् । जसपाको चुनावी समिक्षा बैठकमा पनि त्यही निष्कर्ष निकाल्यो । अन्तराष्ट्रिय शक्तिको हातमा पार्टीकै नेताहरु बिक्रि भएर उपेन्द्र यादवलाई हराएको पनि पार्टीले रिर्पोर्ट बनाएको छ ।
तर डा.सिके राउतलाई त्यतिले मात्र पुगेन । सप्तरी–२ मा चुनाव हार्नु भएका उपेन्द्र यादव बारा–२ मा बैशाख १० गते हुन गइरहेको उपचुनावमा भाग लिनुभएको छ । तर सिके राउत उहाँलाई पछ्याउँदै त्यहाँसम्म पनि पुग्नुभएको छ ।
जब कि सिके राउतले नेतृत्व गरेको पार्टी सत्ता गठबन्धनमा छ । जसपाले नेतृत्व गरेको मधेश प्रदेशको सरकारमा पनि छ । अर्थात उपेन्द्र यादव र सिके राउत सत्ता सहकार्यका पार्टनर हुनुहुन्छ । तर त्यही सिके राउत बारा–२ मा उपेन्द्र यादवलाई हराउनका लागि कुनै कसर बाँकी राख्नुभएको छैन ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले बारा २ बाट प्रतिनिधि सभा सदस्यमा जित्नु भएका रामसहाय यादवलाई उपराष्ट्रपतिको लागि उम्मेदवार बनाउनुभयो अनि जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि आफ्नो पार्टीको तर्फबाट ममता झालाई उम्मेदवार बनाउनुभयो । जब कि गठबन्धनले रामसहाय यादवलाई उपराष्ट्रपतिका लागि साझा उम्मेदवार बनाई सकेको थियो । त्यो निर्णय विपरित उनी रामसहाय यादवको विपक्षमा उम्मेदवार उभ्याउनुभयो ।
(सहारा टाइम्स पत्रिबाट साभार)

तपाईको प्रतिक्रिया