चैत १७ गते राष्ट्रपति भवनमा नयाँ मन्त्रीहरुको लागि सपथग्रहणको तयारी चलिरहँदा शंखमुलस्थित जनमत पार्टीको कार्यालयमा अब्दुल खानलाई खानीपानी मन्त्रालयबाट फिर्ता बोलाउनु पर्छ भनि तानाबाना बुन्ने काम भइरहेको थियो । त्यो दिन विहानैदेखि सत्ता गठबन्धनमा रहेका दलहरुले आआफ्ना दलमा मन्त्री चयन गरिरहेका थिए । स्वभाविक रुपमा जनमत पार्टी पनि उद्योग मन्त्रालयमा जाने तयारी गरिरहेको थियो । त्यो उद्योग मन्त्रालयमा सिके राउतलाई नै पठाउने कि अरु कसैलाई पठाउने त्यो पनि बहसको विषय थियो जनमत पार्टीमा ।
सिके राउत नेतृत्वको जनमत पार्टीले एउटा थप मन्त्रालय पाउने वा खानेपानी मन्त्रालयको परिवर्तन गरी उद्योग वा कृषि मन्त्रालय माग गरेको थियो । सिके राउतले उद्योग वा कृषि मन्त्रालय माग गरेपनि त्यसमा सहमति भएको थिएन । यद्यपी जनमत पार्टी विश्वस्त थियो कि प्रधानमन्त्री प्रचण्डले खानेपानी साटेर उद्योग वा कृषि मन्त्रालय दिनुहुन्छ ।
किनभने त्यस विषयमा अध्यक्ष सिके राउतले प्रधानमन्त्री प्रचण्डसँग सुरुदेखि नै कुराकानी गरिरहनु भएको थियो । त्यसको आधारमा जनमत पार्टीका नेताहरु ढुक्क थिए । तर जनमत पार्टीका अध्यक्ष सिके राउत ढुक्क थिएन । उहाँले गठबन्धनको बैठकहरुमा जाँदा आउँदा थाह पाइसक्नु भएको थियो कि जनमतलाई खानेपानीमै थन्काउनेछ । त्यही भएर उहाँ त्यो दिन निराश भएर काठमाडौं छाडेर सप्तरी गएर बस्नुभएको थियो ।
उहाँ सत्ता गठबन्धनमध्येका दल जनमत पार्टीको अध्यक्ष हुनुहुन्छ । गठबन्धन नेतृत्वको सरकारले मन्त्रीपरिषद् विस्तार गर्दैछ । त्यो सरकारमा जनमत पार्टीको पनि सहभागीता छ । तर मन्त्रीपरिषद् विस्तारकै दिन उहाँ काठमाडौँ छाडेर सप्तरी गएर बस्नुभयो ।
उहाँलाई थाह थियो, यो सरकारले उद्योग वा कृषि मन्त्रालय जनमतलाई दिँदैन खानेपानी मन्त्रालयमा नै बस्नुपर्छ । तर गठबन्धन वा सरकारसँग जनमतलाई कृषि वा उद्योग मन्त्रालयमध्ये एउटै कुनै मन्त्रालय दिने कुनै सहमति भएको थिएन । प्रधानमन्त्री प्रचण्डका निजी सचिवालयका एक सदस्यले भन्नुभयो, ‘खानेपानी मन्त्रालयको बदलामा उद्योग वा कृषि मन्त्रालय दिनु सिके राउतको प्रस्ताव थियो तर त्यसमा सहमति भएको थिएन । उहाँका नेताहरुले त्यतिकै प्रचार गर्नुभएको थियो ।’
कृषि वा उद्योग नदिए सरकार नै छाड्ने मनस्थितिमा सिके राउत पुगि सक्नुभएको थियो । यो कुरा उहाँले आफ्ना कोर टीमका नेताहरुलाई पनि भनिसक्नुभएको थियो तर तत्कालिन खानेपानी मन्त्री अब्दुल खानलाई जानकारी थिएन । उहाँ खानेपानी मन्त्रालयमा काम गरिरहनु भएको थियो ।
सिंहदवारमा शुद्ध खानेपानीको उद्घाटन गर्नुभयो । खानेपानीमा अझै काम गर्ने उत्साहपूर्ण अभिव्यक्ति पनि उहाँले दिनुभयो तर यो अभिव्यक्ति आफ्नो अन्तिम अभिव्यक्ति हो भनि उहाँलाई थाह थिए । यता, अब्दुल खानलाई मन्त्रीबाट हटाउने योजना शंखमुलको पार्टी कार्यालयमा तयार भइरहेको थियो ।
अब्दुल खान निकट एक नेताका अनुसार जनमत पार्टीमा कतिपय यस्ता नेताहरु छन् जो अब्दुल खानलाई मन्त्रीमा देख्न चाहनु भएको थिएन । अब्दुल खान समानुपातिकबाट प्रतिनिधि सभा सदस्यमा आउनु भएको हो । उहाँ पार्टीमा निकै संघर्ष गरेर यहाँसम्म आइपुग्नु भएको हो तर पार्टीमै उहाँलाई रुचाउनेहरुको कमी छ । खासगरि जनमत पार्टीमा रहेका प्रवासी नेताहरुले अब्दुल खानलाई त्यति रुचाएको देखिदैन । त्यही भएर त्यो पार्टीमा गैर सांसदलाई पनि मन्त्री बनाउनुपर्छ भनि अवाज उठिरहेको छ ।
जनमत पार्टीका अध्यक्ष सिके राउत पनि प्रवासी नेता हुनुहुुन्छ । उहाँ पनि अमेरिकाको जागिर छाडेर मधेशमा राजनीति सुरु गर्नुभएको हो । अमेरिकामा स्वतन्त्र मधेश गठबन्धन गठन गरि मधेश झरेर आन्दोलनमा लाग्नुभएका सिके राउतलाई साथ दिने अब्दुल खानलाई खानेपानी मन्त्रालयबाट हटाउने षड््यन्त्र सुरुदेखि नै भइरहेको थियो ।
सिके राउतले नै उद्योग वा खानेपानी मन्त्रालय नपाए सरकारबाट निस्किनु पर्ने निर्देशन अब्दुल खानलाई दिनुभएको थियो । तर मन्त्रालय छाड्ने पक्षमा अब्दुल खान हुनुहुन्थेन । ‘काम गर्नका लागि विकासे मन्त्रालय नै चाहिन्छ भने होइन, जुन मन्त्रालयबाट पनि काम गर्न सकिन्छ, र पार्टीले यो मन्त्रालयबाट पनि काम गरेर देखाई दिनुपर्छ’ भनि तर्क थियो अब्दुल खानको ।
तर उहाँको तर्कप्रति पार्टीका अधिकाँश नेताहरु सहमत थिएनन् । अब्दुल खानले मन्त्री भएपछि जुन हाइट लिइरहनु भएको थियो, देश विदेशमा उहाँको जुन चर्चा सुरु भएको थियो त्यो कुरा पार्टीका अध्यक्ष राउतलगायत धेरै नेतालाई पचेको थिएन । पार्टीमै अब्दुल खान धेरैका लागि खतरा भइरहनु भएको थियो । उहाँलाई त्यहाँबाट हटाउनु पर्छ भनि धेरैले दवाव दिनुभएको थियो । र, त्यही भयो उहाँलाई जबर्जस्ती राजिनामा दिन बाध्य बनायो ।
सुरुमै खानेपानी मन्त्रालय दिँदा जनमत पार्टीले सो मन्त्रालय बहिष्कार गरेको थियो । अब्दुल खान विना विभागीय मन्त्रीमा सपथ लिइसक्नु भएको थियो । मन्त्री क्वाटर र मन्त्रीको सेवा सुविधा पनि लिइरहनु भएको थियो तर पछि खानेपानी मन्त्रालय भागमा परेपछि सिके राउतले पदभार ग्रहण नगर्न निर्देशन दिनुभएको थियो ।
तर अब्दुल खान त्यतिबेला पनि कुनै पनि मन्त्रालय खराब वा राम्रो हुँदैन, काम गर्ने मान्छे जहाँबाट पनि काम गर्न सक्छ भन्दै त्यतिबेला एक हप्तापछि खानेपानी मन्त्रीकै रुपमा पदभार ग्रहण गर्नुभयो । तर प्रधानमन्त्री प्रचण्डसँग थप एउटा मन्त्रालय पाउने बार्गेनिङमा रहनु भएका जनमत पार्टीका अध्यक्ष सिके राउतले मन्त्रालयको सट्टामा आफ्नो दाजु डा.जयकान्त राउतलाई राष्ट्रिय योजना आयोगको सदस्य बनाउनुभयो ।
प्रधानमन्त्री प्रचण्ड सचिवालय स्रोतका अनुसार यदि सिके राउतले चाहेको भए त्यहीबेला एउटा मन्त्रालय पाउन सक्नु हुन्थ्यो । लगभग वन वा युवा मन्त्रालय दिने तय भएको थियो तर उहाँले नै आफ्नो दाइ जयकान्तका लागि राष्ट्रिय योजना आयोगका सदस्य माग्नुभयो र त्यो पाएपछि खानेपानी मन्त्रालयमा नै चित्त बुझाउनुभयो ।
पछि खानेपानी मन्त्रालयको बदलामा अर्को मन्त्रालय चाहियो भन्न थालेपछि सो पाएको मन्त्रालयबाट अब्दुल खानलाई राजिनामा दिन बाध्य बनायो तर राष्ट्रिय योजना आयोगमा अझै पनि सिके राउतका दाइ जयकान्त राउत बिराजमान हुनुहुन्छ । जनमत पार्टीका एक नेताले भन्नुभयो, ‘यदि अब्दुल खानले मन्त्रीबाट राजिनामा दिनुभयो भने सिके राउतले आफ्नो दाइलाई पनि योजना आयोगबाट फिर्ता बोलाउनुपर्छ ।’ तर सिके राउत अझै पनि प्रधानमन्त्री प्रचण्डसँग मन्त्रालयको बारेमा बार्गेनिङ गरिरहनु भएको छ ।
मन्त्रीबाट हटेपछि पुन अब्दुल खान मन्त्री नबनोस् भनि उहाँका अश्लिल भिडियो पार्टीकै नेताहरुबाट लिक गर्न लगायो अब यदि जनमत पार्टी केन्द्रीय सरकारमा सहभागी भएपनि अब्दुल खानलाई पठाउने छैन । (सहारा टाइम्स पत्रिकाबाट)
तपाईको प्रतिक्रिया