भारतमा बनेको मैथिली भाषाको फिल्म ‘जैक्सन हाल्ट’ रिलिज भएको छ । चम्पारण टकिजको ब्यानरमा निर्माण भएको ‘जैक्सन हाल्ट’ फिल्म बेजोड नामको वेवसाइट र एप्सबाट रिलिज भएको हो । ‘जैक्सन हाल्ट’ को निर्देशन नितिन चन्द्राले गर्नुभएको छ भने फिल्मको कलकारहरुमा अभिषेक निश्चल, दुर्गेशकुमार, रामबहादुर रेणु, विकास सिन्हा, कुन्दन आर्य, अर्चित दामोदर रस्तोगी, निभा झा, बापी भट्टाचार्य, शान्तनु दत्त, शिवानी झाको रहेका छन् । यो फिल्ममा के देखाएको छ भने एउटा मानिस इङ्ग्लैण्डबाट घुम्नका लागि भारत आउँछन् र उनले रेलबाट आफ्नो यात्रा सुरु गर्छन् । बाटोमा एउटा ‘जैक्सन हाल्ट’ हुन्छ, जहाँ स्टेशन प्रमुख बसेका हुन्छन् । र, फिल्मको कथा त्यहीबाट सुरु हुन्छ । ‘जैक्सन हाल्ट’ सस्पेन्स थ्रिलर फिल्म हो । त्यसलाई बेजोड एपमा गएर हेर्न सकिन्छ ।
नितिन चन्द्राको एउटा फिल्म ‘मखान’ सन् २०१९ मा रिलिज भएको थियो । जसमा क्रान्ति प्रसाद मुख्य भूमिका थिए । यो फिल्म रिलिज हुनुभन्दा पहिला नै नेशनल अवार्ड जितिसकेको थियो । फिल्म रिलिज गर्ने राम्रो प्लेटफर्म नपाएको कारण समयमा रिलिज हुन पाएको थिएन ।
मैथिली भाषाको फिल्म भएको कारणले कसैले खरिद गर्न पनि चाहेनन् । अनि फिल्मको निर्माताले आफै बेजोड एप्लिकेसन बनाएर फिल्म रिलिजको एउटा प्लेटफर्म तयार गरे र त्यहीबाट फिल्म रिलिज गर्नुभयो । ‘जैक्सन हाल्ट’ को अवस्था पनि त्यस्तै भयो । मैथिली फिल्म भएको कारण रिलिज गर्नका लागि न राम्रो प्लेटफर्म प्राप्त भयो न कोही खरिददार । मे ५ तारिकको दिन बेजोड अनलाइनबाट रिलिज भएको ‘जैक्सन हाल्ट’ फिल्मलाई अहिले मैथिली भाषीहरुले निकै मन पराई रहेका छन् ।
यो फिल्मको छायांकन भारत विहारको मधुवनी जिल्लाको ब्राहमतोरा, उगना महादेवको वरिपरी भएको छ । यो फिल्म निर्माणका लागि ९५ लाख (भारु) खर्च भएको छ । सम्भवतः पहिलो पटक यति ठूलो लगानीमा मैथिली भाषाको फिल्म निर्माण भएको हो ।
तपाईको प्रतिक्रिया