चित्रकलाबाट सामाजिक विद्रोहमा उत्रिनु भएका रुबी कर्ण
३ जेष्ठ २०८०, बुधबार २२:१३
रुबी कर्ण मिथिला चित्रकलाको चिरपरिचित नाम हो । रुबी कर्ण एउटा गृहणी हुनुहुन्छ र त्यसबाट बचेको समय उहाँले चित्रकालामा लगाउनु भएको छ । यसको अर्थ समाजमा रहेको विकृतियुक्त परम्परा र संस्कृतिको विरुद्ध विद्रोह गरेर मिथिला चित्रकलामा जम्नु भएको छ । उहाँको चित्रकलाको मुख्य थिम भगवान भए पनि त्यसमा विद्राह र आस्था दुबै लुकेको भेटिन्छ । हालसम्म दर्जनौ प्रदर्शनीमा भाग लिइसक्नु भएका रुबी कर्णलाई चित्रकलाको सौख सानैदेखि थियो र अहिले त्यसलाई पेसा बनाई सक्नु भएको छ । मिथिला चित्रकलाका साथै विभिन्न डिजाइनका क्राफ्टहरु बनाएर त्यसलाई व्यवसायीक रुपमा दिनुभएको छ ।
घर आँगन तथा भित्तामा आमा, हजुरआमाहरुले बनाउने चित्र हेरेर त्यसप्रति आकर्षित हुनु भएका रुबी कर्णलाई लागेको थिएन कि एक दिन यही उहाँको पेसा बन्छ । आमा–बुवाले त झन छोरीले चित्रकलामा आफ्नो नाम कमाउँछन् भनि विश्वास नै गर्नुभएको थिएन । उहाँको आमा–बुवाको चाहना छोरीले राम्रो शिक्षा दीक्षा लिएपछि राम्रो घरमा विहे हुन्छ, राम्रो दुल्हा पाउँछन्सम्म थियो ।
चित्रकलामा रुची लिन थालेपछि उहाँका आमा–बुवाले बेलाबेलामा रोक्नु हुन्थ्यो, त्यसमा अब्जेक्सन जनाउनु हुन्थ्यो । तर एक किसिमले विद्रोह गरेर नै चित्रकलाको क्षेत्रमा लाग्नु भएको हो । भारतको मधुवनीमा उहाँले मिथिला चित्रकला अर्चना दासबाट तालिम लिँदा उहाँको आमा–बुवालाई मन परेको थिएन । दिदीसँग बसेर उहाँले घरबाट विद्रोह गरेर आफ्नो सुझबुझमा त्यो तालिम लिनुभएको थियो ।
बीए सकाएर भारत विहारको मधुवनीमा बसेर मिथिला चित्रकालाको तालिम पनि लिनुभयो । तालिम लिएर चित्रकलालाई नै आफ्नो मुख्य पेसा बनाउने सोच उहाँले बनाई सक्नु भएको थियो तर घर परिवारले त्यसको इजाजत दिइरहेको थिएनन् । विहे भएपछि त झन चित्रकालाबाट विदा नै लिएको जिस्तो भएको थियो । तैपनि विस्तारै त्यसलाई निरन्तरता दिएपछि आज मिथिला चित्रकलाको क्षेत्रमा रुबी कर्णले नाम र दाम दुबै कमाउन थाल्नु भएको छ । शिक्षा र रोजगार
रुबी कर्ण भारत विहार मधुवनी जिल्लाको लौफा गाउँका हुनुहुन्छ । आफ्नै गाउँको एक स्कूलमा सात कक्षासम्म अध्ययन गर्नुभएका उहाँ एस.एल.एम. हाइस्कुलबाट सन् २००० मा म्याट्रीक (एसएलसी) पास गर्नुभयो । सन् २००२ मा एच.पी.एस. मधेपुरबाट आइए र सन् २००५ मा बीए पास गर्नुभयो । उहाँ स्कूल र कलेजको पढाई घरबाट नै गर्नुभयो ।
स्कुल दुई तीन किलोमिटरको दुरीमा थियो त्यहाँसम्म हिडेर नै जानुहुन्थ्यो । कलेज अलि टाढा भएको कारणले सधै सार्वजनिक बस चढेर कलेज जानु हुन्थ्यो ।
पढाईमा राम्रो भएको कारण उहाँ आइ र बीए नियमित रुपमा पास गर्नुभयो । त्यसले उहाँको घरपरिवारमा मात्र होइन, गाउँ समाजमा पनि उहाँको चर्चा हुन्थ्यो । गाउँ समाज र घरपरिवारको अनुसार अगाडि बढेको भए आज रुबी यो अवस्थासम्म पुग्नु हुन्थेन । समाजबाट विभिन्न प्रकारको रोकावट नआएको होइन तर ती सबै कुराको सामना गर्दै उहाँ अगाडि बढ्दै जानुभयो । पछि विहे भएपछि श्रीमानले साथ दिएपछि सफलता नै सफलता हात लाग्यो उहाँलाई । तर उहाँ भन्नुहुन्छ, ‘मिथिला चित्रकलामा अझै धेरै गर्न बाँकी छन् ।’
रुबी कर्णले सन् २००५ मा ब्याचलर सकाएपछि भारत विहारको राजधानी पटनामा गएर एक वर्ष अँग्रेजी भाषा पनि सिक्नुभयो । पटनामा रुबी कर्ण आफ्नो दिदी पुनिता दासको घरमा बस्नु हुन्थ्यो । कलेज पढ्दा पनि बेला बेला पुनिताको घरमा गइ रहनुहुन्थ्यो । संयोग कलेज सकाएपछि अँग्रेजी भाषा सिक्नका लागि पुनः उहाँकै घर बस्नु पर्यो उहाँलाई । अंग्रेजी भाषाको कोर्स सकाएपछि रुबी कर्ण मधुवनी फर्केर ब्युटिसियन तालिम पनि लिनुभयो । ६ महिनाको ब्युटिसियन तालिम लिनुभएका रुबी त्यही पछि पुनः पटना पुगेर मिथिला चित्रकालाको पनि तालिम लिनुभयो ।
उहाँले चित्रमा फेस कसरी बनाउने, हात खुट्टा कसरी जोड्ने, लाइनिङ कसरी तान्ने, फूल तथा विभिन्न किसिमका बोट विरुवा कसरी बनाउने जस्ता कुरा त्यही सिक्नुभयो । मिथिला चित्रकला के हो त्यहाँबाट ज्ञान लिनुभयो । र, आज त्यही अनुसार नेपालमा आफूलाई स्थापित गर्नमा लाग्नु भएको छ ।
पटनामा लिइ रहँदासम्म चित्रकालामा नै आउँछु भनि उहाँलाई लागेको थिएन । ब्याचलर सकाएपछि आफ्नै खुट्टामा उभिने गरी केही गर्छु भनेर उहाँ त्यसको तयारीमा लाग्नुभयो तर जीवनको रंग भर्ने तिर पाइला बढ्छ भन्ने उहाँलाई लागेको थिएन । बरु सरकारी जागिर खाने भनि उहाँले अँग्रेजी भाषाको कोर्स पनि गर्नुभएको थियो ।
जागिरका लागि विभिन्न ठाउँमा प्रयास पनि गर्नुभयो उहाँले । कतिपय ठाउँमा परीक्षा पनि दिनुभयो । तर त्यसमा उहाँ सफल हुनुभएन । जागिरको सम्भावना देख्न छाडेपछि विकल्पका रुपमा रुबीले ब्युटिसियन र मैथिला चित्रकालालाई पनि लिनुभएको थियो । उहाँले भन्नुभयो, ‘ब्याचलर सकाएपछि कुनै सरकारी अथवा नीजि जागिर गरेर सेटल हुने सोच थियो मेरो त्यसका लागि मैले थुपै्र ठाउँमा ट्राइ पनि गरे तर सम्भावना कम देखेपछि विकल्पको रुपमा ब्युटिसियन र मिथिला चित्रकालालाई साथमा लिए, भोली पर्सीतिर जागिर पाइएन भने यसैलाई अगाडि बढाउने सोच थियो तर त्यतिबेला पनि यो प्राथमिकतामा परेको थिएन ।’
जागिर नपाउने लगभग निश्चित भएपछि रुबी कर्णले ब्युटिपार्लर खोल्ने र त्यसमा मैथिली चित्रकाला पनि समावेश गर्ने सोच बनाउनुभयो । दुबै पेसा सौन्दर्य र कालासँग सम्बन्धित भएका कारणले नयाँ ढंगबाट अगाडि बढ्ने सोच रुबीमा आएको थियो । किनभने रुबीसँग दुवै सीप थियो । दुवै कलालाई एक ठाउँबाट अगाडि बढाउने सोच बनाएर त्यसको तयारीमा पनि लाग्नुभयो उहाँ ।
नेपालमा विहे
त्यसको तयारीमा रहेकै बेला रुबीका लागि बिहेको कुरा घरमा सुरु भएको थियो । बिहेको कुरा चले पनि आफ्नो पेसामा खासै असर नपर्ने भन्दै रुबीले आफ्नो तयारीलाई निरन्तरता दिनुभयो । घरमा पनि एकचरण कुराकानी गरिसक्नु भएको थियो । कति लगानी गर्ने, कहाँ गर्ने त्यसको बारेमा सोचहरु बनि रहेको थियो । सन् २००९ मा मिथिला पेन्टिङको तालिम लिएर आफ्नो व्यवसायी नै सञ्चालन गर्ने सोच बनाइरहेको बेला सन् २०१० मा सप्तरी राजविराजका शरदचन्द्र कर्णसँग रुबीको बिहे भयो ।
बिहेपछि रुबी कर्णले बनाएको सोचमा ब्रेक लाग्यो । ब्याचलरसम्म अध्ययन गर्नुभएका रुबीले त्यो अनुसारको जागिर पाउनु भएन अनि विकल्पको रुपमा उहाँले ब्युटिपार्लर र चित्रकालाको व्यवसाय गर्ने सोच बनाउनु भयो । त्यसमा अगाडि बढी रहेको बेला उहाँको बिहे भयो र उहाँले देख्नु भएको सबै सपना चकनाचुर भयो ।
रुबी कर्णको बिहे सप्तरी राजविराजका शरदचन्द्र कर्णसँग भारत विहारको दरभङ्गामा भयो । शरतचन्द्र कर्णको पुख्र्यौली घर भारतको दरभङ्गामा रहेको छ । नेपालबाट बिहे गर्न जाने टाढा भएको कारणले त्यही पुख्र्यौली घरबाट बिहे भएको थियो उहाँहरुको । बिहे भएपछि चार दिन मात्र आफ्नो घर (मधुवनी)मा बस्नु भएका रुबी कर्ण सप्तरीको राजविराजस्थित श्रीमानको घर आउनु भयो ।
रुबी कर्ण राजविराजमा पाँच दिन मात्र बस्नुभयो । त्यसपछि श्रीमान शरदचन्द्रसँग काठमाडौँ आउनुभयो । जोरपाटीमा शरदचन्द्रको आफ्नै घर छ । रुबी त्यही घरमा बस्न थाल्नुभयो । नयाँ दुल्हीको रुपमा उहाँको समय घरमै बित्न थाल्यो । लालनपालन, पढाई लेखाई सबै भारतमा भएको कारण रुबीालाई काठमाडौँमा गाह्रो भइरहेको थियो । सबभन्दा बढी समस्या उहाँलाई भाषाको थियो ।
नेपाली भाषा उहाँले फिटिक्कै बुझ्नु हुन्थेन । त्यसले गर्दा कतै बाहिर जान, किनमेल गर्न उहाँलाई गाह्रो हुन्थ्यो । रुबीलाई हरहमेशा लाग्थ्यो कि कतै बाहिर जान परोस् । रुबीका श्रीमान शरदचन्द्र जागिरे भएका कारणले उहाँका पहाडी साथीहरु पनि बिहेको बधाई तथा शुभकामना दिन घरसम्म आउँथे, त्यसरी आउँद रुबीलाई मन पर्दैन्थ्यो कारण थियो भाषा ।
भेट्न आउनेहरु नेपाली भाषामा कुरा गर्नुहुन्थ्यो तर रुबीलाई फर्काउन त के कुरा बुझ्न गाह्रो भइरहेको थियो । उहाँ भन्नुभयो, ‘बिहे गरेर काठमाडौँ आएपछि केही दिन मेरो लागि निकै गाह्रो समय थियो । त्यो समय कसरी काटे मलाई नै थाह छ । श्रीमान्सँग घुम्न जाँदा भाषाका कारण ‘गिल्टी’ महसुश हुन्थ्यो, घरमा पहाडी साथीहरु आउँदा किन आउँछन् जस्तो लाग्थ्यो ।’
शरदचन्द्रले घरमा हिन्दी तथा नेपाली भाषाका पत्रपत्रिका ल्याएर दिनुहुन्थ्यो । जसले गर्दा रुबीको टाइम पास हुन्थ्यो । घरमा भएका केटाकेटीहरुसँग कुराकानी गर्नुहुन्थ्यो ।
तर बाहिर उहाँलाई बोल्न आउँदैन्थ्यो । घरमा खाना पकाउनु, घर सफा गर्नु, लुगा धुनुबाहेक उहाँको कुनै काम थिएन, उहाँले भन्नुभयो, ‘दुई तीन वर्ष मैले एउटा दुल्हीनको रुपमा घरमा समय काटे, कहिले काहीं चिन्ता पनि लाग्थ्यो कि यति पढे लेखे, तालिमहरु लिए आज त्यो केही कामको भएन जस्तो लागि रहेको थियो सायद भारतमै भएको भए यो भन्दा राम्रो हुन्थ्यो कि पनि मनमा आउथ्यो तर फेरि समाज, घरपरिवार जहाँका पनि यस्तै हुन्छ भनि चित्त बुझाएर बस्थे ।’
उहाँसँग ब्युटिसियन र मिथिला चित्रकलाको सीप थियो तर घरपरिवारको कारण त्यसलाई निरन्तरता दिन सकिरहनु भएको थिएन । ताना, सिरानी खोलहरुमा चित्र बनाउने गर्नुहुन्थ्यो तर आफ्नो सीपलाई निखार दिन सकि रहनु भएको थिएन ।
घरमा आमा बुवाले पनि छोरी पढुन् लेखुन् र अन्त्यमा राम्रो घरमा बिहे गरेर जाओस् भन्ने चाहना हुन्छ तर छोरी पनि आफ्नो खुट्टा उभियोस्, आफै केही गरोस् भनि छोरीका लागि प्राय आमा बुवाको हुँदैन । बिहे गरेर आएपछि सासु, सासुराले पनि बुहारी कतै नजाओस्, घरमै बसोस्, चुल्हो चौकामा सिमित होस् भनि चाहना हुन्छ । धेरैजसो श्रीमानको चाहना पनि आफू कमाउँदै छु, श्रीमती बाहिर जानु हुँदैन घरको भाडा बर्तनमै सिमित रहोस् भनि चाहना हुन्छ । कतै न कतै रुबी पनि यो कुराबाट पिडित हुनुहुन्थ्यो । तर ती सबबाट उहाँले बिद्रोह गरेर अगाडि बढि रहनु भएको छ ।
ठमेलमा चित्रकाला बेच्दा
रुबी ब्याचलरसम्म पढ्नु भएको थियो । अँग्रेजी भाषाको एक वर्षे कोर्स गर्नुको साथै ब्युटिसियन र मिथिला चित्रकालाको तालिम पनि लिनु भएको थियो । यी सब उहाँले आफू आफै केही गर्नका लागि गर्नुभएको थियो तर बिहे गरेर नेपाल आएपछि सबै खेर गइरहेको थियो । लगभग तीन वर्ष त्यतिकै खेर गएको थियो । त्यही बीचमा रुबीलाई एउटा बच्चा भयो ।
रुबी कर्ण आफ्नो श्रीमानसँग कहिले काहीं बजारतिर घुम्न जाँदा ठमेलमा पेन्टिङ बिक्रि भइरहेको पसल देख्नु भएको थियो । उहाँले त्यो पसल सम्झेर राख्नु भएको थियो । २०७३ तिर एक दिन आफूले बनाएको पेन्टिङ लिएर उहाँ एक्लै ठमेल जानुभयो । आफ्नो पेन्टिङ देखाउँदै त्यसलाई खरिद गर्न रुबी कर्णले आग्रह गर्नुभएको थियो ।
मिथिला चित्रकला भएको कारण ठमेलका एउटा व्यपारीले श्यामसुन्दर यादवलाई भेट्न सुझाव दिनुभएको थियो । उहाँसँग भेट्नु हुन्छ भने यो विषयमा धेरै जानकारी दिनुहुन्छ र सहयोग पनि गर्नुहुन्छ भनि त्यो व्यपारीले भन्नुभएको थियो । ठमेलमै मिथिलायें आर्ट ग्यालेरी खोलेर बस्नु भएका श्यामसुन्दर यादवलाई मिथिला पेन्टिङको अनुभवी कलकार मनिन्छ ।
त्यसपछि रुबीले श्यामसुन्दरलाई ठमेलमा खोज्न थाल्नुभयो । त्यतिबेला रुबीसँग फोन थिएन । श्यामसुन्दरको सम्पर्क नम्बर पनि थिएन । मिथिलायें आर्ट ग्यालिरी नाम लिँदै ठमेलमा खोज्न थाल्नुभयो । त्यो दिन रुबी कर्णले श्यामसुन्दरलाई खोज्दा गल्ली गल्ली भौतारिनु भएको थियो । अन्ततः श्यामसुन्दर यादवलाई फेला पार्नुभयो । त्यहाँ पनि रुबीले आफ्नो पेन्टिङ देखाउनुको साथै यो क्षेत्रमा काम गर्न इच्छुक रहेको कुरा पनि राख्नुभएको थियो ।
श्यामसुन्दर यादवले रुबी कर्णले बनाउनु भएको चित्रकलाको प्रशंसा गर्नुभएको थियो । ‘तपाई अगाडि बढ्नुस् त्यसमा हरहमेशा मेरो सहयोग रहन्छ’ श्यामसुन्दरले भन्नुभएको कुरा रुबीले अहिले पनि सम्झिनु हुन्छ । रुबी खुशी खुशी आफ्नो घर फर्किनु भएको थियो । ठमेलबाट फर्किदा चित्र बनाउने समाजहरु पनि खरिद गरेर ल्याउनु भएको थियो ।
त्यसपछि उहाँले मिथिला चित्रहरु बनाउन सुरु गर्नुभएको थियो । एक महिनासम्म विभिन्न मिथिला पेन्टिङ बनाउनुभयो । हरेक साइजको तीन वटा पेन्टिङ लिएर एक महिनापछि रुबी श्यामसुन्दरको ग्यालेरीमा जानुभयो । त्यहाँ प्रदर्शनी पनि जारी थियो । रुबीले पनि आफ्नो पेन्टिङ त्यहाँ राख्नुभयो । केही दिन प्रदर्शनी चल्यो । सो प्रदर्शनीबाट रुबी कर्णको एउटा पेन्टिङ तीन हजारमा बिक्रि भयो, त्यो पेन्टिङ गणेश भगवानको थियो ।
पहिलो पटक आफूले बनाएको पेन्टिङ यसरी बिक्रि हुँदा रुबी कर्ण निकै खुशी हुनुभयो । रुबीलाई लाग्यो कि बल्ल कामको मूल्यांकन भयो अब यसै क्षेत्रमा जम्नु पर्छ भनि सोचाई उहाँ झन बलियो भएर आयो । त्यो पैसाले पेन्टिङका लागि केही समान खरिद गर्नुभयो । घर फर्केर आफ्नो श्रीमानलाई पनि पेन्टिङ बिक्रि भएको कुरा सुनाउनु भएको थियो । श्रीमान शरदचन्द्र पनि खुशी हुनुभएको थियो । घरका अन्य सदस्य पनि रुबीको कामको प्रशंसा गर्दै खुशी भएका थिए ।
पेन्टिङबाट यसरी आम्दानी गर्न सकिन्छ भनि रुबीलाई पनि त्यति राम्रोसँग थाह थिएन उहाँको श्रीमानलाई थाह हुने कुरै भएन । त्यसपछि शरदचन्द्रलाई पनि लाग्यो कि रुबीले पेन्टिङकै क्षेत्रमा केही गरोस् । मिथिला पेन्टिङको क्षेत्रमा रुबी कर्ण आज जे हुनुहुन्छ त्यसमा उहाँको श्रीमान शरदचन्द्रको ठूलो सहयोग रहेको छ ।
ललितकलामा सम्पर्क
रुबी कर्ण आफ्नो घरधन्दा भ्याएर बाहिर निस्किने मौका पाउने बित्तिकै ठमेलस्थित मिथिलायें ग्यालेरी जानु हुन्थ्यो । त्यहाँ नयाँ नयाँ कुरा सिक्नुको साथै अन्य ठाउँमा सम्पर्क पनि बनाउन थाल्नुभयो उहाँ । श्यामसुन्दर यादवले मिथिला यादवसँग सम्पर्क गराउनुभयो । त्यतिबेला मिथिला यादव ललितकला प्रतिष्ठानमा हुनुहुन्थ्यो । रुबी कर्ण सिधै मिथिला यादवलाई भेट्न पुग्नु भएको थियो । त्यहाँ उहाँले आफ्नो पेन्टिङ देखाउनु भएको थियो ।
मिथिला यादव आफै मिथिला चित्रकलाको चर्चित कलाकार हुनुहुन्छ । उहाँले पनि रुबी कर्णको पेन्टिङको प्रशंसा गर्दै उहाँलाई अगाडि बढ्न सुझाव दिनुभएको थियो । रुबी कर्णले भन्नुभयो, ‘मिथिला म्याम निकै सजिलो र सहयोगी हुनुहुन्छ, उहाँले मेरो पेन्टिङको प्रशंसा मात्र गर्नुभएन केही पेन्टिङ यही छोडदिनुस् प्रदर्शनी भयो भने त्यसमा राखिदिन्छु भन्नु भएको थियो मैले त्यहाँ त्यहाँ छाडेको पेन्टिङहरु विभिन्न समयमा प्रदर्शनीमा उहाँले राखि दिनुहुन्थ्यो ।’ त्यो पेन्टिङ बिक्र भयो कि भएन, त्यो अहिले कहाँ छ के अवस्थामा छ रुबीलाई थाह छैन ।
ललितकाला र मिथिला यादवबाट पनि चित्रकाला क्षेत्रमा राम्रै सहयोग पाउनु भएका रुबी कर्ण क्राफ्टका समानहरु पनि बनाउन सुरु गर्नुभयो । मिथिला यादवले दिएको सुझाव अनुसार उहाँले क्राफ्ट बनाउन सुरु गर्नुभएको थियो । नारी दिवसको उपलक्ष्यमा ललित कलामै भएको वर्कशपमा पेन्टिङहरु प्रदर्शनीमा राखिएका थिए । रुबी आफूले बनाएको मिथिला चित्रकाला र क्राफ्टहरु त्यहाँको प्रदर्शनीमा राख्नु भएको थियो ।
त्यहाँ ४–५ हजार रुपियाँको पेन्टिङ तथा क्राफ्टहरु बिक्रि भएको थियो । त्यस लगतै पोखरामा भएको एउटा पाँचे दिने वर्कशपमा भाग लिन पनि उहाँ जानुभयो । काठमाडौँबाट १० जनाको टीम गएको थियो । त्यसैमा सहभागी भएर रुबी पनि जानुभएको थियो ।
त्यहाँ पनि रुबी कर्णले आफ्नो पेन्टिङ प्रदर्शनीमा राख्नुभएको थियो । उहाँले भन्नुभयो, ‘मेरा लागि काठमाडौँ नौलो थियो नै, त्यहाँ स्ट्रगल चलि नै रहेको थियो पोखरा झन मेरो लागि नयाँ भयो । पोखरा जाने अबसर मिथिला म्यामले जुराई दिनुभएको थियो । त्यहाँको वर्कशपमा मैले बनाएको कमल दहको चित्र प्रदर्शनमा राखेको थिए, त्यसको निकै प्रशंसा भएको थियो त्यसले मलाई झन हौसला प्रदान गरयो ।’ पोखरा जानका लागि शरदचन्द्रले पनि हौसला दिनुभएको थियो, त्यो कुरा पनि रुबीले सम्झिनु हुन्छ ।
ललित कलाबाट पोखरा जाने अवसर प्राप्त भएपछि सबभन्दा पहिले उहाँले आफ्नो श्रीमानलाई सुनाउनु भएको थियो । श्रीमानले पनि खुशी हुँदै भन्नुभएको थियो, ‘यस्तो अवसरहरु छोड्नु हुँदैन जानुस् म यता घरमा सबै सम्हाल्छु ।’
रुबी करण विभिन्न वर्कशपमा काठमाडौँलगायत विभिन्न ठाउँमा जान थाल्नुभयो । कतिपय ठाउँमा उहाँ आफ्नो श्रीमानको साथमा जानु हुन्थ्यो भने कतिपय ठाउँमा एक्लै पनि जानु हुन्थ्यो ।
नेपाल आर्ट काउन्सिल र नेपाल एकेडेमी अफ फाइन आर्टसले विभिन्न चारणमा गरेको वर्कशप तथा प्रदर्शनीमा भाग लिनुभयो । आफ्नो चित्रकाला तथा क्राफ्टहरु प्रदर्शनमा राख्नु हुन्थ्यो । कहीं बिक्रि हुन्थ्यो, कहिं हुँदैन्थ्यो तर उहाँले कोर्नु भएको चित्रको प्रशंसा सबै ठाउँमा हुन्थ्यो ।
तर महत्वपूर्ण कुरा उहाँ मिथिला चित्रकलामा बाहिर जति व्यस्त भए पनि घरको काममा कहिले डिस्टर्ब हुन दिनुभएन ।’ घरका अन्य सदस्यलाई सेवा सत्कारमा कुनै कमी आउन दिनुभएन । छोरीलाई देखभाल, स्यहार सुसार गरेर बाँकी समय मिथिला चित्रकलामा दिनुहुन्थ्यो ।
कहिले काहीं घरको काममा यति व्यस्त हुनुपथ्र्यो कि राम्रा राम्रा अवसर गुमाउनु हुन्थ्यो । चितवन, सिरहा, सप्तरीलगायत विभिन्न ठाउँमा तालिम दिन जानुपर्ने, वर्कशपमा भाग लिन जानुपर्ने अवसर उहाँलाई पटक पटक आएका थिए तर उहाँ घरको व्यस्तताका कारण निस्कन सकिरहनु भएको थिएन । उहाँ अहिले पनि आफ्नो घरपरिवारलाई प्राथमिकतामा राख्नु भएको छ, त्यसबाट बचेको समयलाई चित्रकलामा लगाउनु भएको छ ।
पुरस्कार
रुबी कर्णले २०७७ मा मधेश सरकारबाट लोक कलामा प्रादेशिक चित्रकला पुरस्कार प्राप्त गर्नुभएको छ भने २०७८ मा लोककला विशेष राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित हुनुभएको छ । त्यसबाहेक अन्य सानातिना सम्मान र पुुरस्कारहरु पनि विभिन्न कार्यक्रमबाट पाउनु भएको छ । उहाँले ब्युटिसियन र मिथिला चित्रकालाको तालिम लिनुको साथै इम्ब्रोइडेरी, स्क्रीन प्रिन्टलगायत चित्रकला सम्बन्धी थुप्रै तालिम लिनुभएको छ ।
परिवार
भारत विहार मधुवनी जिल्लाका लौफा गाउँका उमेशचन्द्र दास र देवी लिला दासका छोरी रुबी कर्ण सात दाजु भाइ तथा दिदी बहिनी हुनुहुन्छ । अनिलकुमार दास, विमलेशकुमार दास, मनिष कुमार दास, पुनिता देवी, निसा दास र सोनी दास दाजु भाइ तथा दिदी वहिनीहरु हुनुहुन्छ । बुवा उमेशचन्द्र भारतको रजिष्ट्रि कार्यालयमा कार्यरत हुनुहुन्छ भने आमा पनि आँगन बारी (स्वंयसेविका) मा कार्यरत हुनुहुन्छ । रुबीका दुई छोरी सुदिक्षा कर्ण र श्रेयसी कर्ण हुन् । श्रीमान शरदचन्द्र पेसाले इन्जिनियर हुनुहुन्छ उहाँ सरकारी जागिरे हुनुहुन्छ ।
तपाईको प्रतिक्रिया