जसपाबाट राज्यमन्त्री प्रमिला यादव, वन मन्त्री को ?
५ जेष्ठ २०८०, शुक्रबार १७:५७
काठमाडौँ जेठ ५ गते । जनता समाजवादी पार्टी नेपालले राज्यमन्त्री प्रमिला यादवलाई चयन गरेको छ । राष्ट्रिय सभाका सदस्य रहनु भएका प्रमिला यादव राज्यमन्त्री हुने लगभग निश्चित भइसकेको जसपाका एक कार्यकारिणी सदस्यले बताउनुभयो ।
प्रमिला यादवलाई राज्यमन्त्री बनाउने लगभग निश्चित भएको छ तर कुन मन्त्रालयमा पठाउने निश्चित भएको छैन । जसपाले शिक्षा मन्त्रालय र वन मन्त्रालय गरी दुईटा मन्त्रालय पाएको छ । त्यसमध्ये एउटा उनलाई राज्यमन्त्रीमा पठाउने स्रोतले जनाएको छ ।
तर वन मन्त्रीमा कसलाई पठाउने निश्चित भएको छैन । मन्त्रीको नाम पठाउने जिम्मवारी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । पार्टीकै नेताहरु भन्नुहुन्छ, ‘अध्यक्षज्युले आजै प्रधानमन्त्री प्रचण्डलाई नाम बुझाई सक्नु भएको छ, तर कसको नाम बुझाउनु भएको छ त्यो अहिलेसम्म खुलेको छैन ।’ मन्त्री बन्ने चर्चामा राजकिशोर यादव, प्रदीप यादव र डा.विरेन्द्र महतो रहनु भएको छ ।
उहाँ तीन जनामध्ये एक जनाको नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाएको बताइएको छ । त्यसमध्ये राजकिशोर यादवको चर्चा सबभन्दा बढी रहेको छ ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजकिशोर यादव पार्टीमा लामो समयदेखि इमान्दारीपूर्वक लागेपनि उहाँलाई कुनै अवसर दिन नसकिएको कारण यसपटक उहाँलाई मन्त्री बनाउने धारणा आफ्ना निकत नेताहरु समक्ष राखिएको छ । तर डा.विरेन्द्र महतोलाई मन्त्री बनाउन अध्यक्ष यादवलाई व्यापक दबाव रहेको छ । स्रोतका अनुसार उद्योगी विनोद चौधरीदेखि लिएर उपेन्द्र महतोसम्मकाले विरेन्द्र महतोलाई मन्त्री बनाउने उपेन्द्र यादवलाई दवाव दिइरहेको स्रोतले दावी गरेको छ ।
तर उपनिर्वाचनमा प्रदीप यादवले गरेको सहयोगका आधारमा उहाँ मन्त्री हुनुपर्ने दबाव पनि अध्यक्ष यादवलाई रहेको बुझिएको छ । तर पार्टीका नेताहरु भन्नुहुन्छ, ‘जसले जति दबाव दिएपछि अध्यक्षज्यु एकजनाको नाम प्रधानमन्त्रीलाई बुझाई सक्नुभएको छ ।
तपाईको प्रतिक्रिया