आँपलाई फलको राजा मानिन्छ । वैदिक शास्त्रमा यो फललाई अमृत भनेर उल्लेख गरिएको छ । आयुर्वेदीय दृष्टिले पनि आँप महत्वपुर्ण फल हो । काँचो वा पाकेको दुवै प्रकारको आँपमा औषधीय गुण रहेको हुन्छ । आयुर्वेद विज्ञानका अनुसार पाकेको आप स्वादिष्ट हुनुका साथै वीर्यवद्र्धक, वायुनाशक, कान्तिदायक, शीत्तल र पित्तनाशक हुन्छ ।
कस्तो स्थान र मौसममा फल्छ आँप ?
म्यांगीफेरा वर्गमा पर्ने आँप उष्ण हावापानी भएको स्थानमा हुर्कने फल हो । आँपको रुख उपयोगी, दीर्घजिवी र विशाल हुन्छ । आँप नेपालको मेचीदेखि महाकालीसम्मका तराई क्षेत्रदेखि पहाडी क्षेत्रको ३ हजार फिटसम्मको उचाईमा पाइन्छ । अनुकुल मौसम भएको खण्डमा आँपको रुख ५० देखि ६० फिटसम्म अग्लो हुन्छ । आँप उष्ण प्रदेशीय फल भएपनि समशितोष्ण हावापानीमा पनि यसको खेती गरिएको पाइन्छ । गरम, सुख्खा र बढी प्रकाश आउने स्थानमा आँपको खेती गर्नु उत्तम हुन्छ ।
आँप खेतीका लागि २४ देखि २७ डिग्री सेल्सियसको तापक्रम अनुकुल मानिन्छ तर ४८ डिग्री सेल्सियससम्मको तापक्रममा पनि यसको खेती गरिएको पाइन्छ । आँपलाई २५ देखि २५० सेन्टिमीटर वार्षिक वर्षा हुने स्थान उपयुक्त हुन्छ । आँपको विरुवा रोप्दा सामान्यतया १० देखि २० मीटरको फरकमा रोपिन्छ ।
माटोको पि.एच. मान ५.५ देखि ७.५ सम्मको हुनुपर्छ । क्षारीय र लवणयुक्त माटो आँपलाई राम्रो हुँदैन । आँपको विरुवा रोप्दा सामान्यतया १ बाई १ घनमीटरको खाल्डो खन्नु पर्छ । यसले गर्दा जमिनमा भएका सानातिना ढुंगा गेग्रान हटाउन र विरुवालाई बुरबुराउदो माटो त्यस स्थानमा राखिदिँदा आँपको कलिलो विरुवाका जराहरु फैलिन सहज हुन्छ ।
आँपलाई सिचाई
आँपको रुखलाई सिंचाईको अत्यन्तै आवश्यकता हुन्छ । नयाँ विरुवा रोप्ने बित्तिकै एक दुई वर्षसम्म प्रत्येक सुख्खा मौसममा २ वा ३ दिनको फरकमा सिंचाई गरिरहनु पर्छ । विरुवाको उमेरसँगै सिचाई गर्ने अवधिलाई बढाउँदै लैजानु पर्छ ।
आँपलाई मलखादको महत्व
आँपलाई रुखको उमेर अनुसार खाद्यतत्वको मात्र फरक पर्दै जान्छ । आँप खेतीका लागि विज्ञहरुले एक वर्षे विरुवाका लागि ५ केजी कम्पोष्ट मल, १०० ग्राम नाइट्रोजन, ५० ग्राम फोस्फोरस, १०० ग्राम पोटास सिफारिस गरिएको हुन्छ । त्यस्तै त्यही आँपको रुखलाई १० वर्षपछि ५० केजी कम्पोष्ट मल, १ केजी नाइट्रोजन, ५०० ग्राम फोस्फोरस र १ केजी पोटास सिफारिस गरिएको हुन्छ ।
आँपका प्रकार
आँपका धेरै प्रकारको खेती नेपालमा हुन्छ । तर यी धेरै जातका आँपमध्ये पनि नेपालमा मालदह, दशहरी, बम्बै ग्रीन, बम्बै यल्लो, जर्दालु, अल्फान्सो, आम्रपाली लगायतका जातका आँपको खेती धेरै गरिन्छ ।
छिटो पाक्ने आँप
जात अनुसारका आँप पाक्ने समयावधि पनि फरक फरक हुन्छ । नेपालमा फल्ने आँपहरुमा बम्बै, जर्दालु, कृष्णभोग, अल्फान्सो जातका आँपहरु चाँडै पाक्छन् । यी आँपहरु जेठ महिनादेखि नै पाक्न थाल्छन् ।
एक वर्ष बिराएर किन फल्छ आँप ?
प्राय आँप एक वर्ष बिराएर मात्रै फल्ने गर्छ । आँप यसरी फल्नुमा जातीय गुण हो । हावापानी वा व्यवस्थापनको कारणले पनि हो । तर हाल विकसित गरिएका आम्रपाली, मल्लिका जस्ता केही आँपहरु वर्षैपिच्छे नै फल्छन् ।
आँप टिप्ने समय
आँप टिप्ने समय भएको थाहा पाउन एकदमै सजिलो छ । फलेको आँपको आकारमा हुने परिवर्तनसँगै त्यसको रंगमा पनि परिवर्तन देखिन्छ । आँप परिपक्व भएपछि गाढा हरियो रंगबाट फिक्का हरियो रंगमा बदलिन्छ । आँपको रंग फिक्का हरियो भएपछि टिप्न फल उपयुक्त हुन्छ ।
आँप छिटो पकाउन के गर्ने ?
फिक्का हरियो रग भएको आँप न्यानो र प्रकाश नआउने स्थानमा राख्दा आफै पाक्छ । तर अलि चाँडो आँप पकाउनु पर्ने छ भने त्यसरी राखिएको आँपमा २५० पिपिएमको इथरेल छर्केर वा टोकरीको तल सुरक्षितरुपले कार्बाइड राखेर ५ देखि ७ घण्टा राख्दा आँप चाँडै पाक्छ ।
आँपको सत्रु किरा
आँपको सबैभन्दा ठूलो सत्रु कीरा फड्के अर्थात म्यांगो होपर हो । फूल फूल्ने बेला यो कीराले फूल नष्ट गर्ने जोखिम अत्याधिक हुन्छ । यो कीराको प्रकोपबाट आँपलाई जोगाउन फूल फूल्नु अघि र चिचिला लागिसकेपछि विज्ञको सल्लाह अनुसार मेटासिष्टक्स लगायतका विषादीको प्रयोग गर्नु पर्छ ।


तपाईको प्रतिक्रिया