Khadya Bibhag

राजनीतिमा उमेर हद ! (फरकमत)

केही युवाले राजनीतिमा आफ्नो ठाउँ बनाए पनि देशको नीति निर्माण तहसम्म पुगेका छैनन् । देशका नाममा सहिद भएका लिस्ट हेर्दा सबैको उमेर ४० मूनी रहेका छन् ।

–विजयकुमार यादव
बैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको बैठकपछि नेकपा (एमाले) पार्टीले जेठ २३ गते जारी गरेको अन्तरपार्टी निर्देशन अनुसार सो पार्टीले केन्द्रीय कमिटीको उमेर हद हटाएको छ । केन्द्रीय समितिमा रहेका सदस्यहरुको उमेर हद ७० वर्ष बनाएको थियो । एमालेले २०७० मा भएको नवौँ महाधिवेशनबाट केन्द्रिय कमिटी सदस्यका लागि ७० वर्ष उमेर हद लागु गरिएको थियो । जसलाई अहिलेको केन्द्रिय समितिको बैठकबाट हटाएको छ ।
यो निर्णय बाहिर आएपछि एमालेमा मात्र होइन सबै पार्टीमा हलचल ल्याई दिएको छ । पार्टीका बुढापाकाहरु जुरर्मुराउन थालेका छन् । यता, राजनीतिमा आफ्नो भविष्य हेर्ने युवा निराश भएका छन् । पार्टीमा रहेका बुढापाकाले ठाउँ नछाडेसम्म ती पार्टीमा लागेका युवाले ठाउँ पाउने छैनन् । पछिल्लो समय राजनीतिप्रति युवाको आकर्षण बढ्दै थिए । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति जस्ता पार्टी आएपछि युवाहरुको हौसला बढि रहेको थियो तर एमालेको यो निर्णयले हरेक पार्टीमा एउटा प्रश्न उब्जाएको छ । यी बुढापाखाले ठाउँ कहिले छाड्ने ?
देशका तीन ठूला दल काँग्रेस, एमाले र माओवादीमा उमेर हद छैन । अन्य दलहरुमा उमेर हद तोक्ने त झन सम्भावना नै छैन । जनता समाजवादी पार्टी नेपालको अगामि १० गतेदेखि विधान अधिवेशन हुँदैछ । आशा गरौं, जसपाले केन्द्रीय समिति सदस्यका लागि उमेर हद तोक्ने छ । हुन त जसपामा अरु ठूला पार्टी जस्तो बृद्धहरुको बाहुल्य छैनन् ।
युवाकै बाहुल्य छ । तर पार्टीमा युवा इनर्जी थप्नका लागि जसपाले पनि उमेर हद तोक्नुपर्ने आवश्यकता छ । ७०–७५ वर्ष उमेर पुगेपछि पार्टीबाट ससम्मान विदा गर्नुपर्ने व्यवस्था गर्नुपर्छ । ती विदा पाएकाहरुबाट बेलाबेलामा सल्लाह सुझाव लिइ रहनुपर्छ । त्यसरी उमेर हदमा पारेकाहरुका लागि एउटा समिति बनाई दिनुपर्छ । आवश्यक पर्यो भने त्यहाँबाट उनीहरु देश र पार्टीका लागि केही योगदान गर्न सकोस् तर त्यो अनिवार्य हुनु हुँदैन ।
जसपामा मात्र होइन, अन्य पार्टीहरुमा पनि उमेर हद तोक्नुपर्छ । उमेर हद नतोकेको कारण देश केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल जस्ता नेताहरुको कब्जामा छ । जुन अनुत्पादक हो । अब देशले यी नेताहरुको भारलाई थेग्न सक्दैन । उनीहरु डेट एस्पाइर औषधी जस्तै भएका छन् । जसलाई खाएपछि कस्तो साइड इफेक्ट गर्छ थाह छैन तर केही नकेही इफेक्ट गर्छ भनि निश्चित हुन्छ । यिनीहरुले ठाउँ नछाडेका कारण रवि लामिछाने, सिके राउत जस्ता पात्रको जन्म नेपाली राजनीतिमा भएको हो । रवि र सिकेहरु पनि यो देशका लागि घातक नै हुन् तर नेपालका युवासँग अरु कुनै विकल्प पनि छैन ।
काँग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, एमालेमा योगेश भट्टराई, विष्णु रिमाल, सूर्य थापा, माओवादीमा शक्ति वस्नेत, अमनलाल मोदी जस्ता थुप्रै नेताहरु छन् जसले केही गर्ने हुटहुटी राखेका छन् तर ती वृद्ध नेताहरु छेकबार भएर बसेका छन् । यी वृद्ध नेताहरुबाट देशले उन्नती गर्न सक्दैन भने कुरा प्रष्ट भइसकेको छ । अब ती वृद्ध नेताहरुमाथि जनताले विश्वास गर्न छाडेका छन् । वैकल्पिक राजनीतिकको आवश्यकता जस्तै वैकल्पिक नेतृत्वको आवश्यकताको पनि कुरा उठ्न थालेका छन् ।

अब देशले यी नेताहरुको भारलाई थेग्न सक्दैन । उनीहरु डेट एस्पाइर औषधी जस्तै भएका छन् । जसलाई खाएपछि कस्तो साइड इफेक्ट गर्छ थाह छैन तर केही नकेही इफेक्ट गर्छ भनि निश्चित हुन्छ ।

देशका हरेक परिवर्तनमा युवाकै योगदान रहेको छ । नारा, जुलुस लगाउनुदेखि लिएर देश ठप्प पार्ने, यहाँसम्म कि गोली चलिरहेको बेला छाती थाप्ने काम पनि युवाले नै गरेका हुन्छन् । तर राज्यको संयन्त्रमा त्यही युवाको उपस्थिति हुँदैन । आन्दोलन गरेका ती युवाहरु विदेश पलायन भएका छन् भने बाँकी रहेका केही युवा कुनै न कुनै नेताको झोले भएका छन् ।
केही युवाले राजनीतिमा आफ्नो ठाउँ बनाए पनि देशको नीति निर्माण तहसम्म पुगेका छैनन् । देशका नाममा सहिद भएका लिस्ट हेर्दा सबैको उमेर ४० मूनी रहेका छन् । यी घाइतेहरु हेर्नुस् सबै भर्खर भर्खरका छन् । हाम्रो देशले पनि १५–४० सम्मलाई युवा भनेको छ । यी समूहको जनसँख्या झण्डै ५० प्रतिशत रहेका छन् तर राजनीतिमा उनीहरुको पहुँच १५ प्रतिशत पनि छैन ।
देशका लागि रगत बगाएका हुन्छन् । आफ्ना महत्वपूर्ण जवानी दिएका हुन्छन् तर त्यसको मूल्यांकन नहुँदा निराश भएर अर्को बाटो लागेका हुन्छन् । राजनीतिप्रति युवाको वितृष्णा कम्ती छैन । नेताहरु प्रति आक्रोश पनि त्यतिकै छन् । त्यो आक्रोश र वितृष्णा अन्त्य गर्नका लागि राजनीति दलमा भूमिकासहित युवाको सहभागिता आवश्यक छ । युवालाई भुमिका दिनुपर्छ । भूमिकाविहिन युवा निकै खतरनाक हुन्छ । त्यसलाई जसले पनि जहाँ कन्भर्ट गर्न सकिन्छ ।
काँग्रेस, माओवादी, एमालेलगायतका दलहरुले युवालाई ठाउँ नदिएका कारण सिके राउतले खोलेका जनमत पार्टीप्रति आकर्षण बढि रहेको छ । सिके राउत, रवि लामिछानेहरुले युवालाई विभिन्न प्रलोभनमा पारेर आफूतिर आकर्षित गरिरहेका छन् । जुन यो देशका लागि खतरनाक संकेत हो । त्यसलाई रोक्नका लागि दलहरुले पार्टीमा युवाको भूमिकलाई बढाउनुपर्छ ।
एक जना कति पटक पदाधिकारी बन्न पाउने, एक जना कति दिनसम्म केन्द्रिय सदस्य रहन पाउनेलगायतमा पनि समय सीमा तोक्नुपर्छ । नत्र कोही अध्यक्ष भएका छन् भने वर्षौसम्म त्यो सीट खाली गरेका हुँदैनन्, कोही पदाधिकारी भएका छन् भने आजिवन पदाधिकारी भए जस्तै त्यहाँ बसिरहेका हुन्छन् । अहिले पनि कतिपय पार्टीमा हेर्नुभयो भने पार्टी स्थापना भएदेखि हालसम्म त्यो पार्टीका केन्द्रिय सदस्य भएर बसेका छन् ।
यो कुनै पनि पार्टीका लागि न्यायोचित भएन । जागिरमा उमेर हद तोकेका हुन्छन् । अनि त अरुले चान्स पाएका हुन्छन् । एक कर्मचारी रिटायर्ड भएपछि त्यहाँ अर्को कर्मचारी जान्छ । माथिल्लो तहसम्म पुग्न कर्मचारीमा एउटा आश हुन्छ तर राजनीतिक दलमा कुनै आश हुँदैन । पार्टी नेतृत्वको दाया माया भयो भने तपाईलाई माथि लान सक्छन् नत्र पार्टीको एउटा सधारण कार्यकर्ता वा अरु कुनै पदमा जिन्दगीभर झुलिरहनु पर्छ ।
फलानो नेताको उमेर पुगि सक्यो वा फलानो अध्यक्ष वा महासचिव वा कुनै पदाधिकारीको अवधि पुग्यो । उहाँ हटेपछि फलानो जान्छन् भन्ने सिस्टम भयो भने एउटा आश लिएर पार्टीमा क्रियाशिल भएर काम गर्न सक्छन् । नत्र अहिले चाकरीवाजको बोलबाला देखिएको छ । जसले जसको जति चाकरी गर्न सक्छन् उ त्यति नै माथिसम्म जान सक्छन् । जो सिधा साधा छन् उ जहीको त्यही रहन्छन् । पार्टीमा पदाअवधि, उमेर हद तोक्यो भने युवाहरुले पनि राजनीतिमा मौका पाउन सक्छन् ।
(विजय यादव जसपा संघीय परिषद्का सदस्य हुनुहुन्छ)

सहारा टाइम्स पत्रिकाबाट सभार

तपाईको प्रतिक्रिया