Khadya Bibhag

मधेशमा ‘लु’ (सम्पादकीय)

गर्मी आउने बित्तिकै सबभन्दा पहिले तराई मधेश सम्झिन्थ्यो तर यसपटक त्यस्तो भएन । हिमालको नाम्चे, मुस्ताङको मुक्तिनाथमा पनि गर्मी महसुस भएको खबरहरु बाहिर आएका छन् । गर्मीले गर्दा हिमालको हिउँ पघ्ले खबरहरु पनि आएका छन् । अर्थात १४ वर्ष यता गर्मीको सबै रेकर्ड ब्रेक भएका छन् । विगतका दिनहरुमा जहाँ गर्मी महसुस गरिएको थिएन त्यहाँ यसपटक महसुस गरिएको छ ।

जेठ १६ गतेदेखि अत्याधिक तापक्रम बढ्न थालेको हो । यो तापक्रमको वृद्धि तराई, मधेशमा बढी देखिएको छ । तराई मधेशका अधिकाँश ठाउँमा ४० डिग्रीभन्दा माथि नै तापक्रम रहेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार अझै तातो हावाको लहर जारी रहने भएकाले ‘लु’ चल्ने सम्भावना अझै छन् । र, यसले अरु ब्रेकहरु तोड्ने सम्भावना छ । जेठ २४ गतेसम्मको तथ्याङ्कमा सबैभन्दा बढी ४३.८ डिग्री तापक्रम रेकर्ड भएको छ । सन् २०२३ को यो सबैभन्दा बढी मापन हो । यसअघि नेपालमा सन् १९९५ को जुन ५ मा धनगढीमा ४६.४ डिग्री तापक्रम मापन भएको थियो ।

यो नेपालकै सबैभन्दा बढी मापन हो । ओखलढुङ्गामा सन् १९९९ मा सबैभन्दा बढी ३०.९ डिग्री तापक्रम रेकर्ड भएकोमा यसपालि त्यहाँ पनि ‘रेकर्ड ब्रेक’ भएर ३१.९ डिग्री पुगेको छ । धरानमा सन् २०१३ मा सबैभन्दा बढी ३८.८ डिग्री तापक्रम मापन गरिएकोमा यसपालि सन् २०२३ को जुन ७ मा ३९.३ डिग्री पुगेको थियो । यस्तै इलामको कन्याममा सन् १९९३ मा २९ डिग्री रेकर्ड भएकामा यसपालि यही जुन ५ तारिखमा ३० डिग्री मापन भई ‘रेकर्ड ब्रेक’ भएको छ ।

प्रचण्ड गर्मीका कारण तराई मधेशमा अवस्था चिन्ताजनक रहेको छ । चिसोमा मर्ने मधेशीहरु यो गर्मीमा पनि आफूलाई बचाउन सकिरहेको छैन । गर्मीका कारण तराई मधेसका नागरिकको जीवन कष्टकर बन्दै गइरहेको छ ।
तातो हावाका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने जस्ता समस्या देखिएका छन् । गर्मीका कारण अस्पतालमा विरामीको पनि चाप बढेको छ ।

हुनेखानेहरुले गर्मीबाट बच्नका लागि विभिन्न उपाय गरेका छन् तर तराई मधेशमा यस्ता घर परिवार छन् जसलाई एक छाक खान समस्या भइरहेको छ ती परिवारको हालत कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । घरमा अझै बत्ती पुगेको छैन भने पंखा र एस्सी लगाउनु धेरै टाढाको कुरा हो । शुद्ध खानेपानी, नुहाउनका लागि पर्याप्त पानी, पौष्टिक खानेकुरा पनि खान पाएका हुँदैन । त्यस्ता समुदायमा यो गर्मीले धेरै असर पारेको देखिन्छ ।

तातो हावाबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहने सुझाव डाक्टरहरुले दिइरहेका छन् । तर गरिब श्रमजिवी जनताका लागि त्यो सम्भव देखिएको छैन ।

घरमा बस्दा गर्मी लाग्ने, बाहिर रुख, छहारी खोज्दै जाँदा लु लाग्ने डर हुन्छ । बाहिर तातो हावा चलेको कारण घरबाट निस्किन गाह्रो छ । घरबाट निस्केन भने गुजारा गर्न गाह्रो हुन्छ । दिनमा काम गरेपछि मात्र राती चुल्हो जल्ने समुदायका लागि यो गर्मी अभिषाप भएको छ ।

ससाना व्यवसायी गर्नेहरुका लागि पनि यो गर्मी बाधक बनेको छ । गर्मीका कारण सडक पेटीमा गुजाराका लागि गर्ने साना साना व्यपार चौपट भएका छन् । त्यसैले सरकारले गर्मीबाट पिडितका लागि राहतको व्यवस्था गर्नुपर्छ । बत्ती नियमित गरी, पंखा नहुनेको घरमा पंखा लगाई दिनुपर्छ । खानेपानीको व्यवस्था गर्नुको साथै सुकेका पोखरी तथा इनारमा पानीको व्यवस्था गरिदिनुपर्छ ।

स्वास्थ्य सेवा निशुल्क गरी अस्पतालमा डाक्टर, नर्सको व्यवस्था गर्नुपर्छ । सबभन्दा महत्वपूर्ण कुरा स्थानीय तहबाट हरेक गल्ली तथा सडकमा रुख लगाउनु पर्छ । एक घर एक रुख अनिवार्य गर्नुपर्छ । जसले रुख रोप्दैनन् त्यसलाई पालिकाबाट दिइने सेवा सुविधामा रोक लगाउनुपर्छ ।

तपाईको प्रतिक्रिया