–डा.मधु गिरी
मुसहर समुदायको सशक्तिकरण, उत्थान, संगठन र अधिकारका लागि मुसहर अगुवाहरुले झण्डै ३० वर्षदेखि विभिन्न जिल्लामा संगठित र संस्थाग स्वरूपमा काम गरेका छन् । २०६३÷०६४ सालको जनआन्दोलन र मधेश आन्दोलनपछि जातीय समुदायहरू आफ्नो प्रतिनिधित्व पहिचान र समावेशिताका लागि सक्रिय हुने क्रमसँगै सिरहा, सप्तरी, धनुषा र महोत्तरीमा मुसहर समुदायका संस्था र सङ्गठित स्वरूप बढ्दै गए । २०४८ सालदेखि नेपाल ऋषिवंशी जनकल्याण संघ, मोरङ र नेपाल ऋषिवंशी विकास संघ, झापाले मुसहरहरूलाई सङ्गठित गरी सामूहिक हक–अधिकारका लागि काम गरेको देखिन्छ ।
सिरहामा नेपाल ऋषिकुल सदाय कल्याण समाज र सवरी सङ्कल्प समाजले साठ्ठीको दशकदेखि मुसहरहरूलाई सङ्गठित गर्ने र मुसहरी बस्तीहरूमा टोल सुधार समिति गठन गरेको पाइन्छ । सिरहाको गोलबजारमा अवस्थित सवरी सङ्कल्प समाजले नेपालका सबै मुसहरको एकता र भाइचारा सम्बन्ध स्थापना गर्न २०६६ सालदेखि निरन्तर माटो दिवसको आयोजना गर्दै विभिन्न ख्यातिप्राप्त व्यक्तिलाई बोलाएर मुसहरहरूको अर्थ राजनीतिक अवस्थातिर राज्यको ध्यानाकर्षण गर्दै आएको छ ।
त्यसैगरी, नेपाल ऋषिकुल सदाय कल्याण समाज सिरहाले २०६६ सालमा लहानमा राष्ट्रिय सम्मेलन गरी तराईका विभिन्न जिल्लाका हजारौं अभियानकर्मीलाई अधिकार, न्याय, प्रतिनिधित्व र समुदायको शिक्षा सशक्तिकरणमा परिचालन गर्ने निर्णय गयो । धनुषा र महोत्तरीमा २०६६ सालमा स्थापना भएका राष्ट्रिय मुसहर उत्थान समाज नेपाल र २०६६ सालदेखि नै भोर संस्थाले सङ्गठित हिसाबले मुसहर समुदायको क्षमता अभिवृद्धि, वकालत र अभिलेखमा काम गरिरहेको पाइन्छ ।
ती दुवै संस्थाले मधेशका विभिन्न जिल्लाका मुसहरलाई सङ्गठित गर्दै आफ्ना हक अधिकारका लागि सङ्गठित भएर आन्दोलन गर्न र समुदायका कुनै पनि समस्यालाई सङ्गठित भएर उठाउन प्रशिक्षण दिँदै आएका छन् । मुसहर समुदायको उत्थानका लागि गएको दशकयता चल्दै आएको ‘शक्तिविहीनको सशक्तिकरणःमुसहर समुदायको समग्र उत्थान अभियान’ नाम दिइएको कार्यक्रमका संयोजक पचुलाल माझी मुसहरले मुसहर उत्थान अभियानलाई प्रदेश र जिल्ला स्तरमा समेत संयोजक तोकी समिति गठन गरिसकेका छन् ।
मुसहर संघको आन्दोलन
अध्यक्ष चन्द्रेश्वर सदाको संयोजनमा २०७३ जेठ २५ गते जनकपुरको बारह बिघामा आयोजना गरिएको नेपालका मुसहरहरूको प्रथम महाधिवेशनमा दशौं हजार सँख्यामा मुसहर जम्मा भएका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि रहेका विहार राज्य, भारतका पूर्व मुख्यमन्त्री जीतनराम मांझी (मुसहर) ले नेपालका मुसहरलाई शिक्षित र संगठित भएर अन्यायविरुद्ध आवाज उठाउन आह्वान गरेका थिए ।
मुसहर समुदायका यी संस्थाबाहेक मधेश केन्द्रित गैरसरकारी संघ संस्थाको कार्यक्रमले पनि मुसहरहरूलाई संगठित र सशक्तिकरण गर्नमा योगदान दिएको तथ्य यस अनुसन्धानकर्ताले विद्यावारिधि अध्ययनको क्रममा पनि पाएको थियो । यसरी संगठित र आन्दोलित हुने क्रममा, पुस्तौंदेखि बसोबास र भोगचलन गरिरहेको जग्गाको लालपूर्जाको माग गर्दै २०७३ सालमा १५ जिल्लाका मुसहरले १५ वटै जिल्ला प्रशासन कार्यालयमार्फत तत्कालीन प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । ती तीन माग पूरा नभए अर्को चरणको आन्दोलन गर्ने भन्दै राष्ट्रिय मुसहर संघका महासचिव रामस्वरूप सदाले वक्तव्य निकालेका थिए ।
नेपाल राष्ट्रिय मुसहर उत्थान संघले विभिन्न जिल्लामा संयोजक र कार्यसमिति गठन गरेको छ । त्यसैले मुसहरका हरेक जिल्लामा भएका घटनालाई न्यायिक आवाज उठाउन केही सहज भएको छ । २०७७ असार १९ गते विराटनगर दरहियाका राजेश ऋषिदेव (सदा) लाई आँगनमा कुलदेवता दिना–भद्रीको मन्दिर बनाउँदा आफ्नो जग्गा मिचेको भन्दै छिमेकीले कुटपिट गरी मारेर झुण्ड्याएका थिए । त्यसको विरोधमा उत्थान संघको अगुवाइमा विभिन्न जिल्लाका मुसहरले ठूलो सँख्यामा विराटनगरमा जम्मा भएर विरोध–सभा गरेका थिए ।
त्यस प्रकारका विरोधका कार्यक्रममा जिल्ला संयोजकहरूले संयोजन गरेर मुसहरलाई परिचालन गर्दछन् । यस्ता घटनामा मुसहरहरूलाई आफ्ना जातीय अन्यायका सवालमा ऐक्यबद्ध जनाउन र सहयोग जुटाउन उनीहरू विभिन्न जिल्ला जाने गर्छन् ।
यस प्रकारका घटना र हस्तक्षेपले मुसहरहरूबीच विभिन्न जिल्ला र देशबीच एकता बढाएको बुद्धिजिवी राम सुफल सदाको दाबी छ । हुन पनि मुसहरहरूले नेपालभित्र मात्र होइन, भारतका मुसहर भुईया समाजसँगै पनि समन्वय गरेको देखिन्छ । उमेश माझी मुसहर अन्तर्राष्ट्रिय मुसहर भुईया विकास समितिको संयोजक हुन् । उनले नेपाल र भारतमा रहेका मुसहर भुईया समुदायको उत्थानमा सहकार्य थालेका छन् ।
मुसहरका लागि संस्थागत प्रयास
२०७३ सालमा विद्या चापागाईले बीबीसी रेडियोको ‘साझा सवाल’ कार्यक्रममा डा.अरूणा उप्रेती र तत्कालीन मन्त्री लालबाबु पण्डितलाई सामेल गरी मुसहर समुदायका सवाललाई सार्वजनिक गरिन् ।” त्यस्तै, कलाकार राजेश हमालले सञ्चालन गरेको समता फाउण्डेशनको टिभी कार्यक्रम जातको प्रश्न’ र धुर्मुस–सुन्तली फाउन्डेशनले महोत्तरीमा बनाएको मुसहर एकीकृत बस्तीबाट पनि मुसहरका सवाल राष्ट्रिय तहसम्म प्रसार भएको पाइन्छ ।
भोर संस्थाको संयोजनमा १० कक्षा पास गरी उच्च माध्यमिक तहको शिक्षा लिनबाट वञ्चित विद्यार्थीहरूको तथ्याङ्क सङ्कलन गरी छात्रवृत्ति कोष खडा गरेर सहयोग गर्ने काम ५÷६ वर्षदेखि हुँदै आएको छ । कोरोनाकालमा लकडाउनका कारण रोजगार छुटेर खानाको समस्या भएका मुसहरी बस्तीमा पुगी त्यस संस्थाका अभियानकर्ताले रासन तेल बाँडेका थिए ।
मुसहर केन्द्रित यी र यस्ता कार्यक्रमले पनि उनीहरूलाई एक–आपसमा नजिक बनाए भने आपसी सम्बन्ध सहयोगी र विश्वासिलो भएकाले उनीहरू लकडाउनको वास्तै नगरी न्यायको अभियानमा होमिएका थिए ।
शम्भु सदा आन्दोलन
समुदायमाथि भएका अन्याय–अत्याचारविरुद्ध सम्पूर्ण दलित समुदायलाई शम्भु र राजु सदाको मृत्युमा थालनी भएको न्यायिक आन्दोलन दलित संघ सङ्गठित रूपले उत्रन आह्वान गर्ने संघर्षमा फेरियो । जनकपुर आन्दोलनको संयोजन गरेको बहुजन एकता समाज नेपालका केन्द्रीय संयोजक चन्द्रेश्वर दासले मुसहरलगायत अन्य दलितका संघ संगठनसँग समन्वय गरेका थिए ।
पचुलाल माझी मुसहरका अनुसार लकडाउनमै पश्चिम रुकुममा जघन्य अपराध भएकोले दलित समुदाय आन्दोलित भइरहेको अवस्थामा जनकपुरमा भएको हत्यामा दलित समुदायले साथ र समर्थन दिएकोले त्यस प्रकारको दबाबमूलक आन्दोलन गर्न सकिएको थियो । सुरुदेखि नै शम्भु सदा हत्या तराईका दलित समुदायमाथिको अत्याचार हो, त्यसलाई रुकुम हत्याकाण्डसँग जोडेर आन्दोलन गर्नुपर्ने निष्कर्ष विभिन्न जिल्लाका दलित सङ्गठनले निकालेका थिए ।
जनकपुरदेखि काठमाडौँसम्म
काठमाडौँमा शम्भु सदाको न्यायको आन्दोलन रुकुम घटनासँग जोडेर एकाध प्रदर्शन गरियो, जति ध्यान दिनुपर्ने हो दिइएको देखिएन । समग्रमा, जनकपुर आन्दोलनमा पहाड केन्द्रित दलित सङ्गठनहरूको उपस्थिति खासै भएन । अन्य कार्यक्रममा पनि शम्भु सदाको मृत्यु र जनकपुर आन्दोलनले त्यति ठाउँ पाएनन् । ।
चन्द्रेश्वर दासका अनुसार जनकपुर आन्दोलनमा मधेशका सम्पूर्ण दलितलाई संयोजन गरिकोले लामो समयसम्म आन्दोलन टिकाइएको थियो । दिउँसोभरिको आन्दोलनपश्चात् सवरी कुटीमा अगुवाहरू जम्मा भएर भोलिपल्टको रणनीति तय गरिन्थ्यो । त्यस आन्दोलनलाई निस्तेज पार्न प्रहरी प्रशासनले दलित अगुवाहरूबीचमा मतभेद सिर्जना गर्यो । अगुवामध्ये केहीले प्रशासनबाट केही नगद बुझिसकेकाले आन्दोलन सकियो भन्दै भ्रम छरेपछि आन्दोलनकारीहरूबीचमा मतभेद बढेको थियो ।
आन्दोलनका एक अगुवा पचुलाल माझीको आरोप छ, दलित समुदायमा पहिलादेखि नै मातृका यादव र कारीचन यादवहरूको राम्रो सम्पर्क थियो । आन्दोलनको क्रममा केही दलित युवाले आन्तरिक बैठकमा पनि बस्ने अनि बेलुका सबै गोप्य सूचना विपक्षलाई दिने गरे । त्यसैले विपक्षले दलितभित्र खेल्ने, झुटा मुद्दा लगाउने, फुटाउने र डरत्रास देखाउने काम गरे ।
यसरी दलितभित्रका केही व्यक्तिले आन्दोलनसम्बन्धी आन्तरिक मातृका यादव र प्रहरी प्रशासनलाई दिने गरेकाले आन्दोलन कमजोर भयो । त्यसैगरी, कोरोना लकडाउनमा ३÷४ जनाभन्दा बढी मानिस सँगै बस्न नदिने र प्रशासनले निगरानी र जासुसीमार्फत सूचना संकलनले गर्दा पनि न्यायको लडाइँ कमजोर भयो ।
क्षतिपूर्तीका लागि सिफारिस
त्यसैबीच सबैलाकी एक मुसहर महिलाले सबैलाकै एक मुसहर अगुवालाई यौन दुरव्यवहार र जबर्जस्ती करणीको अभियोग लगाइन् । विपक्षीहरूको उक्साहटमा गम्भीर अभियोग लागेपछि ती युवा बस्ती छाडेर भाग्नुपर्यो । यस प्रकारका झुटा मुद्दाले आन्दोलनलाई बिस्तारै कमजोर बनाउँदै लग्यो । त्यसो त निरन्तरको दबावपछि शम्भु र राजु सदा मृत्यु प्रकरणमा प्रदेश सरकारले छानबिन समिति गठन गर्नुप–यो । छानबिन समितिले दुवै घटनामा सरकारी पक्षलाई दोषी देखाएर क्षतिपूर्तिको सिफारिस गर्यो ।
यसै सिलसिलामा शम्भु सदाको घटना राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा उठ्न थाल्यो । २१ मार्च रङ्गभेदसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका दिन नासो कम्युनिटी अमेरिकाको आयोजनामा भएको कार्यक्रममा यस विषय महत्वका साथ उठाइयो । अमेरिकामा बस्ने नेपाली तथा अन्य देशका रङ्गभेद तथा जातीय विभेदविरुद्ध अधिकार तथा सामाजिक न्यायको पक्षमा वकालत गर्ने ६ वटा संस्था जोडिएको ‘जातीय विभेदविरुद्ध डायस्पोराको पहल’ नामक कार्यक्रम नेपालका दलितविरुद्ध भएका हत्याले ठाउँ पायो ।
त्यस कार्यक्रममा नवराज विकसहित ६ जनाको हत्या र शम्भु सदाको मृत्युको विस्तृत जानकारी दिँदै पचुलाल माझीले प्रशासनले गरेको असहयोग र दलितप्रति राज्य नकारात्मक व्यवहारलाई उजागर गरे ।
त्यसैगरी रुकुम हत्याकाण्डको वार्षिकीमा बृहत् नागरिक आन्दोलनले ‘हिंसात्मक जात व्यवस्था र प्रतिरोधी दिशा’ को विषयमा भर्चुअल प्रतिरोध कार्यक्रम गरेको थियो । कार्यक्रममा आहुतिले जात व्यवस्था र हिंसाबारे अवधारणा राखेका थिए भने पचुलाल माझीले शम्भु सदाको हत्यासँग जोडेर जात व्यवस्था हिंसात्मक भएको दाबी गरेका थिए । माझीले दलितलाई हिंसा गर्ने, तर न्याय नपाउने मुख्य कारण जात व्यवस्था हो भन्दै थपेका थिए । ‘मुसहर समुदायलाई आतङ्कित गरेको शम्भु सदाको मृत्युको मुद्दालाई बृहत् दलित आन्दोलनसँग जोड्न सकिएन भने हाम्रो आवाज र पहुँच हराउन सक्छ । मुसहर समुदायमा बोल्न सक्ने अधिकारकर्मी निकै थोरै छौं, तर पनि बोलिरहेका छौं ।’
अन्याय अनुभूत हुँदा जसको पनि बोली फुट्ने रहेछ । आफ्ना छोराका लागि न्यायको खोजीमा लाग्दालाग्दै उनकी आमा सियालीदेवी सदाको बोली र सक्रियता निकै बढेको देखिन्छ । सुरुमा उनी विभिन्न संघसंस्था, अधिकारकर्मी तथा राजनीतिक व्यक्तिलाई न्यायका लागि अनुनय गर्दै हिँडेको देखिन्छिन् । तर, केही समयपछि नै उनी सयौँ मुसहर महिला, मधेशमा क्रियाशील केही राजनीतिक दलका नेता–कार्यकर्तासहित संविधान च्यात्ने र जलाउने कार्यक्रमकी अगुवाको रूपमा देखिन्छिन् ।
सियालीदेवीको आन्दोलन
२०७७ असोज ३ गते संविधान दिवसको दिन महेन्द्र राजमार्गको ढल्केबर सडकखण्डमा सियालीदेवीको नयाँ रूप देखियो । त्यस दिन नेपालको संविधान २०७२ च्यात्ने र जलाउने कार्यक्रमको अगुवाइ गर्दै थिइन् उनी । कार्यक्रममा सानो ब्यानरको पछाडि ८–१० जना युवा थिए । ब्यानरमा ‘असोज तीन कालो दिन ः संविधान पुनः लेखनका लागि विरोध’ लेखिएको थियो । ब्यानरको पुछारमा ‘एकात्मक नस्लीय संविधान अनिवार्य पुनर्लेखन गर’ कोरिएको थियो ।
दुई जना युवाले ब्यानर फैलाएपछि संविधान जलाउने कोसिस गरियो । सियालीदेवीले नेपालको संविधान २०७२ च्यातेर भुइँमा राखी जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गर्यो । त्यसैबीच प्रहरी र मुसहर महिलाहरूबीचमा झडप भयो । धेरै सहभागी र दलका कार्यकर्ता भागे, तर मुसहर महिलाहरूले लाठी खाएर पनि प्रहरीसँग मुकाबिला गरिरहे । च्यातिएका संविधानका पाना मुठ्ठीमा लिएर सियालीदेवी प्रहरीसँगै पौंठेजोरी खेलेको दृश्य निकै नौलो लाग्छ । उनको हाउभाउमा अब शम्भु सदाकी आमाभन्दा बेसी भूमिका खेलिरहेकी मधेशी दलित महिलाको देखियो ।
प्रहरीसँग जुधिरहेकी सियालीदेवीलाई साथ दिनेमा मुसहर महिलाको हुल नै थियो । कोरोना महामारीले मानिसहरू बाहिर निस्कन डराउने बेला उनीहरूको जुझारूपनाले नयाँ सङ्केत गरेको अनुभति हुन्छ । त्यसो त प्रहरीका मुखमा मास्क थियो, तर मुसहर महिलाहरू भने स्वास्थ्य मापदण्डको प्रवाह नगरी मास्कबिना नै प्रहरीसँग चर्काचर्की गरिरहेका थिए । सियालीदेवी प्रहरीतिर हेरेर कोणसभामा बोल्दै थिइन्, ‘मेरो छोरा मार्ने पुलिस चाहिँदैन ।’
३÷४ वर्ष पुरानोजस्तो देखिने प्वाल परेको र च्यातिएको साडी लगाएकी सियालीदेवीले एउटा हातमा च्यातिएको संविधानका टुक्रा र अर्को हातमा माइक समातेर भाषण गर्दा लाग्थ्यो, उनी साँच्चैका राजनीतिक नेता हुन् । उनीसामु केही पत्रकार, अधिकारकर्मी, राजनीतिक कार्यकर्ता र प्रहरी थिए । उनमा देखिएको साहस राज्यका रक्षकहरूले शक्तिको दबाब र आर्थिक लोभको कारण आफ्नो छोराको हत्या गरपछि न्यायका लागि गरेको सङ्घर्षले जन्माएको हो ।
यसबारे सोध्दा सियालीदेवीको जवाफलाई यसरी भन्न सकिन्छ, छोराको न्यायका लागि उनले आफ्नो सांस्कृतिक, शारीरिक, सामाजिक तथा राजनीतिक शक्तिको अधिकतम प्रयोग गरिन्, तर आफूहरू शक्तिविहीन भएकाले छोराका हत्यारालाई तत्काल सजाय दिलाउन नसके पनि उनी संघर्षरत छिन् ।
उनको बुझाइमा समाजमा अर्थ–राजनीतिक हिसाबले पीँधमा रहेकाहरूले न्याय पाउने संविधान नियम केही नहुने तथा न्यायलाई शक्ति र पैसामा बिक्री गरिने चलन छ । त्यसैले उत्कृष्ट भनिएको संविधान च्यातेको उनले स्वीकार गरिन् । नेपालको संविधान २०७२ जारी भएदेखि नै केही राजनीतिक दलले यसको सशक्त विरोध गर्दै पुनर्लेखनको माग गर्दै आएका छन् ।
यसरी सियालीदेवीले आफ्नो छोराको न्यायको खातिर राजनीतिक दलका कार्यक्रममा आफ्नो माग राख्ने र त्यस मञ्चलाई न्यायको माग गर्ने सार्वजनिक थलोको रूपमा उपयोग गरिन् ।
(नेपाल मधेश फाउण्डेशनद्वारा प्रकाशित मधेश अध्ययन (वर्ष ८, अंक ८) मा डा.मधु गिरीले लेख्नु भएको ‘सांस्कृतिक प्रतिरोधको नयाँ आयामः चलु जनकपुर भरु जनकपुर’बाट केही अंश सभार)
तपाईको प्रतिक्रिया