रोपाईँ महोत्सवको महत्व

‘जलवायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मुल नाराका साथ असार १५ गते देशैभर २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव रुपमा मनाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका विभिन्न निकाय तथा विभागले विचार गोष्ठी तथा रोपाईँ गरेर धुमधामका साथ महोत्सव मनाएको कृषि विभागका महानिर्देशक एवं धान दिवस तथा रोपाईँ महोत्सव मूल आयोजक समितिका अध्यक्ष डा.हरिबहादुर के.सी.ले बताउनुभयो । ‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा पनि यो धान दिवस तथा रोपाइँ महोत्सवलाई सम्झिने गरेको छ । तराई मधेशमा यो दिनलाई गभा सङ्क्रान्तिको रुपमा मनाउने गरेको छ । खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि मनाउने गरेको बताइन्छ ।
असार १५ नेपाली समाजमा खेतमा रोपाईं गरी दही चिउरा खाएर मनाउने परम्परा छ । रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खाने गरिन्छ । रोपाईं गीतको रन्कोमा रोपाईं गर्नु असारको अर्को आकर्षण हो । असारको पहिलो सातादेखि मनसुन सुरू भएपछि असार १५ सम्म खेत ग¥हामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाईंमा व्यस्त हुन्छन् ।
लासलाई एकछिन घुमले छोपेर भएपनि असारे भेल छोप्नु पर्दछ भन्ने बुढापाकाको भनाइले पनि यसको महत्व दर्शाउँछ । त्यस्तै ‘असारमा डुल्ने पजनीमा भुल्ने’ अर्थात् असारमा काम गर्ने बेलामा त्यसै डुल्ने र सरकारको काम इमान्दारीपूर्वक नगरी पदोन्नति अर्थात् पजनीमा नपर्ने व्यक्तिले गरिखाँदैन भन्ने बुढापाकाको अर्को उखानले पनि असारको महत्वलाई पुष्टी गर्छ । रोपाईं कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ ।

रोपाईंको पहिलो दिन देवतालाई बीउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाईंको श्रीगणेश गरिन्छ । रोपाईंमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाईं गरिने भएकाले यसले सामाजिक एकता र सद्भाव बढाउन पनि ठूलो टेवा पु¥याउँदै आएको छ । कतैकतै ठूला खेती भएकाले रोपाईं गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रूमाल बाँड्ने पनि प्रचलन छ ।
धान रोपाइँ महोत्सवको अवसरमा रोपाईँ गर्ने दिन हिलो छ्यापेर पनि मनाउने गरिन्छ । पोखरा, चितवनलगायतको ठाउँमा विशेष महोत्वसको रुपमा यो दिनलाई मनाउने गरिन्छ । ती ठाउँहरुमा विदेश पर्यटकहरुको पनि सहभागित हुन्छ । रोपाईँ गर्दै गर्दा विदेशी पर्यटकहरु हिलो छ्यापेर महोत्सव मनाउने गरेको पाइन्छ ।
कृषि प्रधान देश नेपालमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्व दिँदै आएको कारण सरकारले असार १५ राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको महानिर्देशक केसीले बताउनुभयो । प्रमुख खाद्यान्न बाली धान खाद्य सुरक्षाको प्रमुख आधार रहेको बताउँदै उहाँले यसको आर्थिक, समाजिक, साँस्कृतिक र धार्मिक लगायत महत्व रहेको बताउनुभयो । धान एक बाली मात्र नभइ औसत नेपालीको जीवन पद्धती पनि हो । धानको यिनै विविध महत्वलाई दृष्टिगत गरि यसको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले २०६१ सालदेखि नियमित रुपमा प्रत्येक वर्ष असाढ १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै आएको छ ।
चालु आर्थिक वर्षमा धानको उत्पादनमा वृद्धि भएको छ । यस वर्ष ५४ लाख ८६ हजार ४७२ टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यो परिमाण २०७८÷०७९ को तुलनामा तीन लाख ५५ हजार ८४७ टन बढी उत्पादन भएको हो । अगामी आर्थिक वर्षमा पनि धान उत्पादनमा वृद्धि हुने अनुमान सरकारले गरेको छ ।
आर्थिक सर्वेक्षण अनुसार धानलगायतका वर्षे बालीको उत्पादनमा वृद्धि भए पनि हिउँदे बालीको साथै दूध, अण्डा तथा मासुको उत्पादनमा केही ह्रास भएको हुँदा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि सामान्य वृद्धि अनुमान गरिएको छ । विगत वर्षदेखि कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गइरहेको छ । आर्थिक वर्ष २०७०÷०७१ मा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३०.३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा यस्तो योगदान २४.१ प्रतिशत रहने अनुमान गरेको छ ।
आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन २.७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । गत आर्थिक वर्षमा यसको वृद्धि २.२ प्रतिशतले वृद्धि भएको थियो । पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत वृद्धि दर २.९ प्रतिशत रहेको छ । धान, गहुँ, मकैलगायत खाद्यान्न बालीको उत्पादन ३.८५ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया