नार्कलाई पुनसंरचना गर्न समिति गठन

कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई पुनसंरचना गर्नका एक उच्च स्तरीय समिति गठन गर्नुभएको छ ।

नार्कका पूर्व कार्यकारी निर्देशक डा.टेकबहादुर गुरुङको नेतृत्वमा पाँच सदस्यीय नार्क पुनसंरचना उच्च स्तरीय समिति गठन गरिएको छ । नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईका अनुसार समितिको सदस्यहरुमा कृषि विश्व विद्यालयका अवकाश प्राप्त प्रोफेसर प्रा.डा. दुर्गामणी गौतम, कृषि मन्त्रालयका सहसचिव शवनम शिवाकोटी, पशु तथा मत्स्य अनुसन्धान केन्द्रका निर्देशक डा.डोजराज खनाल र सदस्य सचिवमा नार्कका प्रशासन निर्देशक नविन पौडेल रहनु भएको छ ।

यो समितिले अध्ययन गरेर तीन महिनाभित्र आफ्नो प्रतिवेदन कृषि मन्त्री भुसाललाई बुझाउने छ । समितिले असार १० गतेदेखि नै आफ्नो कार्य सुरु गरिसकेको कार्यकारी निर्देशक भट्राईले बताउनुभयो । नार्कले लामो समयदेखि कृषि क्षेत्रमा अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको छ, त्यसलाई अझै व्यवस्थित र वैज्ञानिक बनाउनका लागि समितिले अध्ययन गरी प्रतिवेदन तयार गर्ने उहाँले बताउनुभयो ।

नार्कलाई परिषद्मा राख्ने कि विभाग बनाउने, के गर्दा राम्रो हुन्छ सबै विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमै अध्ययन गरेर समितिले प्रतिवेदन तयार गर्नेछ । नार्कसँग हालसम्म आफ्नो ऐन छैन । ऐनको मस्यौदा तयार गरी कृषि मन्त्रालयमा गइसकेको छ तर मन्त्रालयबाट त्यो अगाडि बढेको छैन । ऐन, नियम, नीति, कानुन बनाउनका लागि पनि समितिको यो प्रतिवेदनले सहयोग पुर्याउने अपेक्षा मन्त्रालयले गरेको छ ।

कार्यकारी निर्देशक भट्टराईले भन्नुभयो, ‘नार्कलाई नयाँ परिवेश, नयाँ संरचनामा कसरी अगाडि बढाउने र थप अनुसन्धानमुलक कसरी बनाउने त्यसको उद्देश्य लिएर यो समिति बनाइएको हो, समितिको प्रतिवेदन आइसकेपछि नार्कलाई एउटा नयाँ ढाँचामा ढाल्ने कोशिस हुनेछ ।’

तपाईको प्रतिक्रिया