नेपाली काँग्रेस पार्टीमा इन्द्रबहादुर बानियाँलाई पार्टीका सभापति शेरबहादुर देउवालाई सबभन्दा नजिक मानिन्छ । काँग्रेसमा विनोद चौधरीभन्दा पछिको धनाढय व्यक्तिको रुपमा चिनिनु भएका इन्द्रबहादुर बानियाँले पार्टी नेतृत्वबाट धोका पाएको भन्दै गुनासो गर्दै हिड्नु भएको छ ।
कुरा सात महिना अगाडिको हो तर त्यति पुरानो कुरा पनि उहाँले बिर्सिनु भएको छैन । २०७९ पुसमा भएको कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित भएपछि बानियाँ दुखित हुनुभएको छ ।
बहादुर सिंह र इन्द्र बानियाँ दुवै जना देउवा गुटकै नेता हुनुहुन्छ । तर देउवाले इन्द्र बानियाँको बिरुद्धमा संसदीय दलको नेतामा उम्मेदवार बनाई दिनुभएको थियो । बागमती प्रदेशसभास्थित संसदीय दलको कार्यालयमा सम्पन्न निर्वाचनमा इन्द्र बहादुर बानियाँलाई ५ मतले पराजित हुनुभयो ।
लामाले २१ मत प्राप्त गर्नुभएको थियो भने पार्टी प्रदेश सभापति इन्द्र बहादुर बानियाँले १६ मत प्राप्त गर्नुभएका थियो । लामा नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ (२) बाट र बानियाँ मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभामा निर्वाचित हुनुभएको हो । काँग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि ३७ जना प्रदेश सभा सदस्यहरुले मतदान गर्नुभएको थियो ।
त्यो चुनावमा देउवा पक्षबाट आफूलाई सहयोग नभएको कुरा बनियाँले त्यतिबेला नै थाह पाउनु भएको थियो । जति प्रयास गरेपनि पाँच मतले पराजित भएपछि बनियाँलाई कम्ती पीडा भएन ।
त्यो गुनासो लिएर बनियाँ देउवा निवास धुम्बाराही पुग्नु भएको थियो । भर्खर प्रधानमन्त्रीबाट पराजित भएपछि पीडामा रहनु भएका शेरबहादुर देउवा र आरजु देउवालाई एक साथ भेट्नु भएका थियो । स्रोतका अनुसार बानियाँले भेटेर सिधै भन्नुभएको थियो, ‘संसदीय दलको चुनावमा तपाईहरुले किन असहयोग गर्नुभयो । मलाई भनेको भए उम्मेदारी दिँदैन्थे ।’ ती स्रोतले भन्छ, सभापति देउवाले घुमाउरो पारामा भन्नुभयो बहादुरले पैसा खर्च गरे, तिमीले पैसा खर्च गरेनौं पैसा खर्च गर्नुपथ्र्यो, चुनाव त्यतिकै कहाँ जितिन्छ र ।’
आफ्नै नेता तथा कार्यकर्ताका लागि के पैसा खर्च गर्नु सबै त आफ्नै हो नि भनि बानियाँले जवाफ दिएपछि सभापति देउवाले भन्नुभएको थियो, ‘त्यस्तो कहाँ हुन्छ, म आफै सांसदको चुनाव जित्न आफ्नै पार्टीका नेतालाई पैसा दिनु पर्यो, संसदीय दलको नेताको चुनाव जित्न खर्च गर्नै पर्यो चुनावमा आफ्नो वा पराय कोही हुँदैन त्यो (पैसा) मामिलामा सबै एक हुन्छ ।’


तपाईको प्रतिक्रिया