मिसन ८४ मतदाता ठग्ने मेसो

–विजयकुमार यादव
काँग्रेसका महासचिव विश्वप्रकाश शर्माले एउटा अनलाइनको अन्तरवार्तामा भन्नु भएको छ, ‘कांग्रेसजनले अरु दलको भन्दा भिन्न र परिपक्व हेर्ने हो । कतिपय दलले मिसन–८४ भनिरहेका छन् । कांग्रेस ८४ मा चुनाव नलड्ने हो र ? लड्छ । तर कांग्रेसले संयमका साथ भनिरहेको छ, हामी अहिले मिसन ८४ को कुरा गर्दैनौं । २०८४ मा २००७ सालको जस्तो प्रजातन्त्र आउने हो र ? कि २०४६ को जस्तो परिवर्तन हुने हो ? हिंसाबाट शान्तिमा जाने पनि होइन । नेपालको नयाँ संविधान थिएन, अब बन्ने हो र ? होइन । २०८४ मा चुनाव हुने हो, अनि त्यो चुनावको चिन्ता अहिले किन गर्ने ? हामीले पनि एउटा चुनावदेखि अर्को चुनावसम्म चिन्ता गर्ने हो भने देशको चिन्ता कहिले गर्ने ?’
मिसन–८४ सुरुवात गरेका नव आगन्तुक पार्टीलाई जवाफ दिँदा यो भन्दा सटिक्क जवाफ अरु केही हुनै सक्दैन । एउटा जिवन्त पार्टीका महासचिवको परिपक्क विचार यस्तो हुन्छ । ठूलो तथा अनुभवी पार्टीका नेताको सोच नै फरक हुन्छ । एउटा मात्र चुनाव लडेका केही नयाँ पार्टीहरुले मिसन–८४ चलाएका छन् । अर्थात २०८४ मा हुने चुनावका लागि अहिलेदेखि तयारी थालेका छन् । मानौं २०८४ मा ठूलै परिवर्तन हुँदैछ, देशमा ठूलै उथल पुथल आउँदैछ जसका लागि अहिलेदेखि तयारी थालनी गरेको हो र ।
२०८४ मा अरु केही होइन, सिर्फ एउटा चुनाव हुँदैछ । जो संविधानले तय गरेका नियमित प्रकृया हो । त्यसका लागि अहिलेदेखि चिन्तित र हतोत्साहित हुने आवश्यकता नै छैन । एउटा चुनाव सम्पन्न भएको एक वर्ष पनि भएको छैन । झण्डै नौ महिना मात्र भएको छ । यतिकैमा आत्तिएर डा.सिके राउत नेतृत्वको जनमत पार्टी, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, रेशम लाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीलगायतका अन्य साना नयाँ पार्टीहरु अगामी २०८४ मा हुने आम निर्वाचनलाई लक्षित गरेर मिसन–८४ सुरु गरेका छन् । २०८४ मा न केही नयाँ परिवर्तन हुँदैछ, न संविधान बन्दैछ, न कुनै लडाई हुँदैछ सिर्फ एउटा नियमित चुनाव हुँदैछ ।
मंसिर १० गते सम्पन्न भएको चुनाव जस्तै एउटा चुनाव हुँदैछ जसका लागि पाँच वर्ष अगाडिदेखि नै मिसन चलाएको कारण ती दलहरु चुनावी राजनीति गर्न मात्र आएको कुरा पुष्टि हुन्छ । देश कसरी राम्रो बन्ने हो, देशको गरिबी, बेरोजगारी, अशिक्षा, भ्रष्टाचारलाई कसरी हटाउने हो त्यसका लागि पो चिन्ता गर्ने, त्यसका लागि पो मिसन चलाउने हो । उनीहरु त सीर्फ चुनाव जित्नका लागि अभियान चलाएका छन् जुन जनतालाई भ्रमित पार्ने काम बाहेक अरु केही होइन ।
जनताका लागि काम गरेपछि चुनाव जित्नका लागि मिसन चलाउनै पर्दैन । यो चार वर्षमा देश भ्रष्टाचार अन्त्य गर्छु, गरिबी हटाउँछु, देशलाई पूर्ण साक्षर बनाउनु छु, १० लाख युवालाई रोजगार दिन्छु, वैदेशिक रोजगारीमा गएकालाई स्वदेश फर्काउँछु, स्वास्थ्य सेवा पूर्ण निशुल्क गर्छु जस्ता थुप्रै कुराहरु छन् जसका लागि अभिायन चलाउन सकिन्छ । यीमध्ये एउटा पनि काम सफल भयो भने जनताले त्यहीं दललाई जिताउँछ ।
तर देशको विकास, परिवर्तनका लागि काम नगर्ने र आफू चुनाव कसरी जित्न सकिन्छ त्यसका लागि चिन्तित देखिन्छ । अलि केही बढी सीट ल्याउने, सरकारमा जाने, मन्त्री बन्ने बाहेक अरु केही गर्न सक्दैन । सरकार बनाउनका लागि नै यो मिसन चलाई रहेका छन्, जुन मतदाता रिझाउने मेसो मात्र रहेको पुष्टि हुन्छ । काँग्रेस, कम्युनिष्ट, जसपा, लोसपाले कहिले पनि कुनै चुनावका लागि मिसन चलाएन । चुनावको समयमा गतिविधिहरु गर्नु आम कुरा भयो तर चार–पाँच वर्ष अगाडिदेखि नै मिसन चलाउन जनतालाई विकासबाट टाढा राख्नु हो ।
संसद तथा सरकारमै रहेका दलहरुले अहिले मिसन–८४ चलाएका छन् । विकासका कामहरु छाडेर गाउँगाउँ गएर संगठन निर्माणका काममा लागेका छन् । विकासका कामहरु छाडेर गाउँगाउँ गएर संगठन निर्माणका काममा लागेका छन् । यो जनता आम जनतालाई हुन्छ । जनताले उनीहरुलाई जिताएर काम गर्नका लागि पठाएको हो, मिसन चलाउनका लागि होइन ।
त्यसो भए ती दलले स्पष्ट गर्नुपर्छ कि मिसन केका लागि ? स्वतन्त्र पार्टी र जनमत पार्टी अझै संघीयताको विषयमा स्पष्ट हुनसकेका छैन । संघीयताको विषयमा आफ्नो धारणा स्पष्ट गरेको छैन । संघीयता समाप्त गर्नका लागि मिसन चलाएको हो कि राजा ल्याउन मिसन चलाएको हो कि हिन्दु राष्ट्र बनाउन मिसन चलाएको हो । प्रदेश खारेज गर्न मिसन चलाएको हो । विगतका गतिविधिहरु हेर्दा मिसन–८४ चलाउनेमाथि आशंका गर्ने ठाउँ छ ।
(लेखक विजयकुमार यादव जसपा संघीय परिषद्का सदस्य हुनुहुन्छ)

तपाईको प्रतिक्रिया