उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटर ब्याज सम्बन्धि विधेयक दुबै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आज (साउन १२) बाट ऐन बनेको कुरा आफ्नो आधिकारिक फेसबुकबाट सार्वजनिक गर्नुभयो । राष्ट्रपति रामवरण यादवले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ लाई पारित गरेपछि गृहमन्त्री श्रेष्ठले खुशी हुँदै आफ्नो फेसबुकबाट सार्वजनिक गर्र्नुले उहाँ यस ऐन ल्याउन कति मेहनत र संघर्ष गर्नुभएको छ त्यो छर्लङ भएको छ ।
मिटरब्याजी पिडितहरु आन्दोलन गर्दै काठमाडौँसम्म आएपछि गृहमन्त्री श्रेष्ठले नै सबभन्दा पहिले त्यसलाई रेसपोन्स गर्नुभएको थियो । आन्दोलनकारीसँग भेटेर नै माग पुरा हुने आश्वासन दिनुभएको थियो । कार्यदल गठन गरेर तत्कालै प्रकृयामा पनि जानुभयो । विधेयक बन्यो तर एमालेका कारण त्यो पास हुन सकेन त्यसमा सबभन्दा बढी चिन्तित गृहमन्त्री श्रेष्ठ हुनुभएको थियो । विधेयक पारित नहुँदा मिटरब्याजी पिडितहरु फेरि काठमाडौँ आएर आन्दोलन सुरु गर्नुभएको थियो । गृहमन्त्री श्रेष्ठ आन्दोलनस्थलमै गएर आन्दोलनकारीलाई भेटेर यो विधेयक जसरी पारित हुन्छ ढुक्क भएर घर फर्किनुस् भनि आश्वासन दिनुभएको थियो । त्यो आश्वासन गृहमन्त्री श्रेष्ठले पुरा गर्नुभयो । मिटर ब्याजी पिडितहरु औधी खुशी छन् । पिडितको पक्षमा सरकारको यो ठूलो उपलब्धी हो ।
‘सामन्तवादको अवशेषको रुपमा रहेको मिटर ब्याजको शोषणबाट पिडीतलाई मुक्ति दिने अभियानलाई सफल पार्न यसले मुल आधार प्रदान गरेको छ र यो अभियानको लागि ऐन कोशे ढुङ्गा सावित भएको भन्दै सबैलाई उहाँले बधाई दिनुभएको छ । मिटर ब्याज पिडीतलाई न्याय दिन जारी ऐन कार्यान्वयनको प्रकृयालाई सहयोग पुर्याउन सबैसँग हार्दिक अनुरोध गृहमन्त्री श्रेष्ठले यो ऐन, आयोग र हरेक जिल्ला प्रशाशन कार्यालयमा रहेको सहजीकरण समितिलाई जोडेर पिडीतलाई न्याय दिलाई छाड्ने भन्दै पिडितको पक्षमा एकजुट उहाँले आग्रह गर्नुभएको छ । गृहमन्त्री श्रेष्ठको यो पहल काबिले तारिफ छ ।
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सो विधेयक राष्ट्रपतिमार्फत प्रमाणीकरण भएको छ । प्रमाणिकरण भएलगतै यो कार्यान्वयनमा आएपछि त्यसको प्रभाव खास गरि मधेशमा सकारात्मक नकारात्मक दुवै पर्न सक्छ । मिटर ब्याजी लेनदेनमा ऋण लिने मात्र पिडित छैन, दिने पनि पिडित बनेका छन् ।
अहिले कानुनी रुपमा दिएका रकम पनि तिर्न ऋणीहरु तयार छैनन् । अहिले जो कोहीले पनि साहुको बिरुद्ध सिडियो कार्यालयमा गएर उजुरी दिन थालेका छन् । गाउँघरका लागि साहु महाजन गरिब र कम आय भएका लागि ठूलो राहत थियो । छोराछोरीलाई भर्ना, विवाह, श्राद्ध, विरामी, खेती किसानीलगायतका कामका लागि तत्कालै चाहिने रकमका लागि ती साहु महाजन गाउँघरका लागि भगवान जस्तै थिए । तर ती भगवानमागि हिलो छ्याप्ने काम भएको छ ।
सबैलाई एउटो डालोमा राखेर बदनाम गराउने काम भइरहेको छ । अहिले त गाउँघरमा कसैले कसैलाई पैँचो सापटी दिन पनि मानिरहेको छैनन्, ऋण दिनु त धेरै टाढाको कुरा । अहिले वैदेशिक रोजगार जानेहरु पनि प्रभावित भएका छन् । वैदेशिक रोजगारमा जानेहरु बिना ऋणले जान सक्दैनन् । डेढ लाखदेखि दुई लाखसम्म रुपियाँ मेन पावरवालाहरुले एजेन्टमार्फत लिने गरेका छन् । त्यति रकम वैदेशिक रोजगारमा जाने कसैसँग हुँदैन सबैले ऋण नै लिनुपर्छ वा जग्गा जमिन बेच्नुपरेको हुन्छ ।
अहिले त्यस्ता ऋण दिन साहु महाजनले अहिले छाडेका छन् । सबैलाई डर पसि सकेको छ । आज ऋण दियो र भोली गएर उल्टै सिडियो कार्यालयमा गएर मुद्दा चलाई दिन्छन्े कि भनि चिन्ता सबैमा देखिन्छ । विरामीलाई उपचार गराउन जाँदा साहु महाजनबाट ऋण, पैँचो सापटी लिएर जान्थे तर अहिले त्यो पनि पाउन छाडिएको छ । अर्थात यो मिटरब्याजी पिडितको समस्या समाधान गर्न लाग्दा अर्कोतिर समस्या सुरु भएको छ । राज्यले जसरी ऐन ल्याएर त्यसको समस्या समाधान गरेको छ त्यसरी नै साहु महाजनको समस्या पनि समाधान गर्नुपर्छ ।
गाउँघरका जनताको पहुँच बैंकसम्म सहज पुर्याई दिनुपर्र्यो । ऋण प्राप्तिको प्रकृया सहज बनाई दिनुपर्यो । साहु महाजनबाट ऋण लिँदा ऋणीले सहज ढंगले कसरी फिर्ता गर्ने त्यसको पनि व्यवस्था मिलाई दिनु पर्यो । अनि मात्र समान्य न्याय हुन्छ नत्र एउटालाई न्याय दिँदा अर्कोतिर अन्याय भइरहेको छ कि जस्ता कुरामा पनि ध्यान दिन जरुरी छ ।
तपाईको प्रतिक्रिया