कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट मुर्रा जातको राँगो ल्याउन पशु सेवा विभागका महानिर्देशक डा.सम्झना काफ्लेको नेतृत्वमा विज्ञ टोली पठाउने भएको छ । नेपाल–भारतबीच भएको सम्झौता अनुसार भारतले नेपाललाई १५ वटा मुर्रा जातको राँगो निशुल्क उपलब्ध गराउने भएको छ । त्यही राँगो ल्याउनका लागि मन्त्रालयले चार सदस्यीय विज्ञ टोली भारत पठाउने भएको छ । टोलीमा महानिर्देशक काफ्लेका साथै राष्ट्रिय पशु प्रजनन कार्यालय लहानका प्रमुख शिवनाथ महतो, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख जगदिश पाण्डे र कृषि मन्त्रालयअन्तरर्गतको क्वारेन्टाइन महाशाखाका राजेश यादव रहनु भएको छ ।
पशु सेवा विभागका प्रवक्ता डा.चन्द्र ढकालका अनुसार मुर्रा जातको राँगो निशुल्क दिने भएको छ, तर एउटा विशेष रसिद कटाउनु पर्ने भएकाले त्यसका लागि १० हजार भारतीय रुपियाँ पनि पठाई सकेको छ । मुर्रा जातको भैंसी पठाउने प्रकृया सुरु भइसकेको छ, चाँडै नै उताबाट खबर आएपछि यताबाट टोली जाने उहाँले बताउनुभयो ।
नेपाललाई मुर्रा जातको राँगो दिनका लागि भारतले पनि केही प्राविधिक तथा प्रशासनिक कार्य मिलाउनु पर्ने हुन्छ, त्यो मिलाउने काम भारतीय पक्षबाट धमाधम भइरहेको छ । उहाँले भन्नुभयो, ‘भारतसँग हामी निमयमित सम्पर्कमा छौं, उहाँहरुको काम सकिने बित्तिकै खबर आउँछ र यताबाट टोली जान्छ ।’ यही महिनाभित्र भारत गएर मुर्रा जातको राँगो ल्याउने तयारी रहेको बताउँदै उहाँले नेपालको तर्फबाट सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत जानु भएको बेला भएको सहमति अनुसार सो मुर्रा जातको राँगो नेपाल आउन लागेको हो ।
त्यसअघि तत्कालीन कृषि मन्त्री महेन्द्रराय यादव दिल्ली गएको बेला त्यहाँको कृषि मन्त्रालयसमक्ष मुर्रा जातको भैंसी र राँगो उपलव्ध गराउन प्रस्ताव गर्नुभएको थियो । सोही प्रस्ताव अनुसार भारतले नेपालसँग सहमति गरेर सो राँगो उपलब्ध गराउन लागेको हो ।
राँगो ल्याउन गएका टोलीले लम्पी स्किन रोगका लागि तयार गर्ने खोपको बारेमा पनि छलफल गर्ने बताइएको छ । नेपालले आफै पनि खोप उत्पादन गर्न सक्छ तर आवश्यक सामाग्री नभएको कारण उत्पादन गर्न सकिरहेको छैन । विभागका प्रवक्ता ढकालका अनुसार भारत गएका विज्ञ टोलीले खोप बनाउने सीड भाइरसको बारेमा पनि छलफल गरेर आउनेछ, भारतले सीड भाइरस दिन तयार भयो भने नेपालमै खोप उत्पादन गर्न सकिन्छ ।
तपाईको प्रतिक्रिया