Khadya Bibhag

‘मिल्क होलिडे’ त्रास

नेपालमा यतिखेर दैनिक तीन लाख लिटरभन्दा बढी दुध अधिक भएको छ । बढी दुध भएको कारण डेरी उद्योगीले मिल्क होलिडे गर्ने कि भनि सोचि रहेका छन् । केही समयसम्म दुधको अभाव झेल्दै आइरहेका डेरी उद्योगीसँग अहिले कच्चा दुध मात्र होइन, धुलो दुध, बटर, घिउलगायत अन्य दुग्धजन्य पदार्थको मौज्दात अत्याधिक भएको छ । त्यसलाई कसरी खपत गर्ने चिन्ताले डेरी उद्योगीहरुले मिल्क होलिडे गर्ने कि तयारीमा लागेका छन् ।
तर कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले मिल्क होलिडे नगर्न डेरी उद्योगीहरुलाई आग्रह गर्नुभएको छ । डेरी उद्योगी तथा किसानका प्रतिनिधिहरुसँग साउन ३१ गते छलफल गर्दै मन्त्री भुसालले दुधको खपत बढाउन र मिल्क होलिडे नगर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘कसरी हुन्छ दुधको खपत बढाउनुस् तर मिल्क होलिडे नगर्नुस् ।’
यता, डेरी उद्योगीहरुको छाता संगठन नेपाल डेरी एशोसिएशन र डेरी उद्योग संघले संयुक्त रुपमा विज्ञप्ति जारी गरी किसानलाई मर्का पर्न नदिने गरि सरकारले तोकिएको न्युनतम समर्थन मूल्यको आधारमा नियमित रुपमा दुध खरिद गर्न सरोकारबालाहरुले डेरी उद्योगीहरुलाई आग्रह गरेका छन् । दुध बढी भएको यो अवस्थामा ‘मिल्क होलिडे’ हुन नदिई स्वदेशी ग्रामीण कृषकबाट उत्पादित दुध नियमित रुपमा खरिद गर्न आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारले गत फागुन १९ गते प्रति लिटर चार प्रतिशत फ्याट र आठ प्रतिशत एस. एन. एफ. मा कायम भएको न्युनतम् सर्मथन मूल्य भन्दा तल नगई सबै उद्योगले आफूलाई आवश्यक भन्दा बढी दूध समेत संकलन गरी बाँच र बचाउको नीति अवलम्बन गरी दूधको उत्पादन वृद्धिमा लागेका ग्रामिण कृषकहरुको आत्मबल उच्च बनाई राख्न सबै सरोकारवाला डेरी उद्योगहरुमा हार्दिक अनुरोध गरिन्छ ।’
आर्थिक मन्दीका कारण दुध तथा दुग्धजन्य पदार्थको खपत दिन दिनै घट्दै गएको उल्लेख गर्दै ती संगठनहरुले दुध खपत नभएका कारण ठूलो परिमाणमा धुलो दुध र मख्खनको मौज्दात रहेको बताएका छन् । अहिले दूधको उत्पादन कमि हुने (लिन सिजन)मा पनि देशभर दुधको उत्पादन र उपलब्धता ह्वात्तै बढेका कारण मूल्य श्रृङ्खलामा माग र आपूर्तिको समन्वय हुन नसक्दा दुध व्यवस्थापनमा समस्या भएको नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी गराउनु भएको छ ।
डेरी उद्योगीसँग धुलो दुध, मख्खनलगायतका दुग्ध पदार्थ पर्याप्त मौज्दात छन्, राख्ने ठाउँ पनि छैन त्यसैले दुध गरिद गरेर धुलो दुध बनाउने अवस्था नरहेको बताउँदै उहाँले दुध खपत कम भएको कारण किसानबाट सबै दुध खरिद गर्न निकै गाह्रो भइरहेको बताउनुभयो । गाह्रो भए पनि उद्योगीहरुलाई नियमित रुपमा दुध खरिद गर्न आग्रह गर्दै आएको उहाँले बताउनुभयो ।
डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले भन्नुभयो, ‘एक त अनौपचारिक क्षेत्रले दुध खरिद गर्न छाडेपछि औपचारिक क्षेत्रमा दुध फालाफाल भएको छ यही बोला भारतबाट लुकिछिपी दुध तथा दुग्ध पदार्थ पनि नेपाल आउन थालेपछि झन समस्या भइरहको छ ।’ भारतबाट दुध तथा दुग्धजन्य पदार्थ भइरहेको चोरी निकासीलाई सरकारले तत्काल रोक्नुपर्ने कुरामा जोड दिँदै ती संगठनहरुले भारतबाट चोरी पैठारी भइ आउने दुधलाई रोक्न सकिएन भने नेपालमा देखिएको दुधको समस्यालाई समाधान गर्न गाह्रो हुने जनाएको छ ।
साथै देश भरि नै फैलिएको लम्पी स्किन रोगका कारण किसानको अरबौंको क्षति भोग्नु परेकोले यसको रोकथाम गर्न पनि उनीहरुले सरकारसँग माग गरेका छन् ।

तपाईको प्रतिक्रिया