सहारा टाइम्सको १५ वर्षः रामबालकको नाममा शैक्षिक पुरस्कारको घोषणा

सहारा टाइम्सले शिक्षक एवं समाजिक अभियन्ता स्वर्गीय रामबालक यादवको नामबाट शैक्षिक पुरस्कारको घोषणा गरेको छ । सहारा टाइम्स १४ वर्ष पुरा गरी १५औं वर्षमा प्रवेश गरेको अवसरमा सो पुरस्कारको घोषणा गरिएको प्रकाशक लाली यादवले बताउनुभयो ।
रामबालक यादव एउटा कुशल शिक्षक मात्र नभएर समाजलाई परिवर्तन गर्ने एक योद्धा हुनुहुन्थ्यो, उहाँको स्मरणमा प्रत्येक वर्ष भदौं ८ गते वा १६ गते श्री सुन्दर जनता माध्यमिक विद्यालयबाट एसइइमा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने विद्यार्थीलाई पाँच हजार नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिने उहाँले बताउनुभयो । पुरस्कृत हुने विद्यार्थीले यदि पत्रकारिता पढ्न चाहेमा कलेजहरुमा थप सहयोगका लागि पहल गरिने प्रतिवद्धता समेत उहाँले जनाउनुभयो ।
रामबालक यादव औरही स्कूलमा अध्ययनको साथै केही समय त्यहाँ अध्यापन पनि गराउनु भएको हुनाले शिक्षा क्षेत्रमा उहाँले दिएको योगदानको कदर गर्दै सो पुरस्कारको स्थापना गरिएको प्रकाशक यादवले बताउनु भयो । रामबालक यादवको निधन भदौं ८ गते भएको थियो ।
उहाँको काजक्रिया चार दिनमै सम्पन्न गरिएको हो । काजक्रियाको अन्तिम दिन भदौं ११ गते उहाँको निवासमा आयोजित शब्दश्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको थियो । सामाजिक अभियान्ता रामरिझन यादवले सहजिकरण गर्नुभएको थियो । पुरस्कारको घोषणा औरही गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामपृत यादवले गर्नुभएको थियो ।
शब्दश्रद्धाञ्जली कार्यक्रममा अभियन्ता रामरिझन यादवले रामबालक यादवको योगदान र पहिचानको चर्चा गर्नुभएको थियो । रामबालकले समाज परिवर्तकका एक योद्धा हुनुहुन्थ्यो, उहाँकै योगदान र लगनशिलताका कारण मिटरब्याजी पिडितले राहत पाएको उहाँले बताउनुभयो । उहाँ परिवर्तनका लागि लड्नु भएको कारण आफ्नो बुवाको काजक्रिया चार दिनमै सम्पन्न गर्नुभएको थियो र उहाँको काजक्रिया पनि चार दिनमै सम्पन्न गरिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया