प्रकाशकीयः हामी १५ वर्षमा

२०६६ भदौं १६ गतेदेखि प्रकाशन सुरु भएको यस सहारा टाइम्स राष्ट्रिय पाक्षिक पत्रिकाले सफलतापूर्वक १४ वर्ष पुरा गरि १५ वर्षमा प्रवेश गरेको छ । यस सुखद अवसरमा सबैलाई धन्यवाद तथा शुभकामना । एउटा आन्दोलनको रुपमा जन्म लिएको यो पत्रिका अझै आन्दोलनमै छ । १४ वर्षमा एक दिन पनि थकाइ नमारिकन ३०७ अंक पत्रिका प्रकाशन भएका छन् ।

हरेक ३०७ अंक विशेष अंक हुन् । समानुपातिक समावेशी, लोकतन्त्र, संघीयता, गणतन्त्रको पक्षमा डटेर लड्यो र आउने दिनमा पनि लडि रहेने विश्वास दिलाउन चाहन्छु । सहारा टाइम्स पत्रिकाले समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्रका लागि कहिले कुनै सम्झौता गरेन । मधेशी, आदिवासी, जनजाति, दलित, महिला, पिछडिएको समुदायका पक्षमा सदैव अवाज उठाइ रह्यो । र, यी सब तपाईहरुको माया र सद्भावको कारणले मात्र सम्भव भयो ।

नाकाबन्दी, भुकम्प त्यसपछि कोरोनाका कारण नेपालको अर्थतन्त्रलाई निकै प्रभावित पार्यो । त्यसबाट कुनै क्षेत्र अछुतो रहेन । सञ्चार क्षेत्रको झन ढाड नै भाँचे जस्तो भयो । अहिलेसम्म त्यसको मारबाट मिडियाहरु उठ्न सकेका छैनन् । थुप्रै मिडिया बन्द पनि भइसकेका छन् । साना लगानीका मिडियालाई त झन गाह्रो भइरहेका छन् ।

त्यस अवस्थामामा पनि तपाईहरुको माया पाएर दुख कष्ट झेल्दै यहाँसम्म आइपुगेका छौं । अगामी दिनमा पनि तपाईहरुको माया, सद्भाव पाइरह्यौं भने अगाडि बढ्न हामीलाई कुनै समस्या हुनेछैन । समय समयमा तपाईहरुबाट आउने प्रत्यक्ष, अप्रत्यक्ष सुझाव र गुनासाहरुले हामीलाई अझ गम्भिर भएर अगाडि बढ्न बाटो देखाउँछ ।

डिजिटियल मिडियाको सुरुवाती यस युगमा पक्कै पनि प्रिन्ट मिडियाका लागि ठूलो चुनौती आएको हो । र, प्रिन्ट मिडियाका लागि झन चुनौती थपिदै गइरहेका छन् । पाठकको स्वाद फेरिएको छ । रुची फेरिएको छ । यो कुराको ज्ञात हामीलाई राम्रोसँग छ र त्यसमा हामी गम्भिर छौं । पाठकको स्वाद अनुसार र रुची अनुसार कसरी सामाग्री दिन सकिन्छ, डिजिटलको यो भिडमा सहारा टाइम्सलाई कसरी पढाउन सकिन्छ त्यसले हामीलाई चौबीसै घण्टा कुतकुत्याई रहेका हुन्छन् । र, त्यही कारणले हरेक अंक, हरेक पृष्ठमा केही नयाँ दिने प्रयास हुन्छ हाम्रो ।

३० सकेण्ड, ६० सेकेण्डको रील र टिकटक हेर्न अभ्यस्त भइसकेका पाठकलाई प्रिन्ट मिडियामा टिकाउन कम्ती गाह्रो छैन । पत्रिका हातमा लिएपछि कुनै पनि सामाग्री पढ्न बाध्य कसरी पार्ने, एक चोटी नजर लगाएपछि एउटा सामाग्री कसरी पढी सक्ने त्यसको बारेमा पनि हामी योजना बनाइरहेका छौं । सोची रहेका छौं । र, अन्त्यमा तपाईहरुको सुझाव र प्रतिकृयाको हर हमेशा इन्तजार हुन्छ । १५ वर्षसम्म माया गरिदिनुभयो, आउने दिनमा यस्तै माया गरि दिनुहुन्छ भनि अपेक्षा गरेको छु । धन्यवाद ।
–प्रकाशक, लाली यादव

तपाईको प्रतिक्रिया