यसरी प्राप्त गर्न सकिन्छ नोबेल पुरस्कार

नोबेल शान्ति पुरस्कार देशहरूबीच भाइचारा प्रवर्धन गर्न, सैन्य तनाव हटाउन वा घटाउन र (द्वन्द्व निवारण गर्ने उद्देश्यले) शान्ति भेला गर्ने वा त्यसलाई प्रवर्धन गर्ने व्यक्तिलाई प्रदान गरिन्छ । प्रत्येक वर्ष भौतिकशास्त्र, रासायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र शान्ति गरी छ विधामा नोबेल पुरस्कार प्रदान गरिन्छ ।
विगत १२ महिनामा “मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका” व्यक्तिलाई ती पुरस्कारबाट सम्मानित गरिन्छ । स्वीडिश व्यापारी तथा डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले यी पुरस्कारहरू स्थापना गरेका थिए । उनले आफ्नो अधिकँंश सम्पत्ति पुरस्कार दिने उद्देश्यले कोष स्थापना गरी त्यसमा राखेका थिए ।
नोबेल पुरस्कार सबैभन्दा पहिले सन् १९०१ मा प्रदान गरिएको थियो । सन् १९६८ मा स्वीडनको केन्द्रीय बैंकले अर्थशास्त्रका लागि छुट्टै पुरस्कारको स्थापना गरेको थियो । नोवेलपीस डट ओआरजीका अनुसार सन् १९०१ र सन् २०२२ बीचमा नोबेल पुरस्कार र अल्फ्रेड नोबेलको सम्झनामा स्वीडेनको केन्द्रीय बैंकले दिने पुरस्कार गरेर ६१५ पटक कुल ९८९ व्यक्ति र संस्थाहरूलाई प्रदान गरिएको छ ।
केहीले एकभन्दा बढी पटक नोबेल पुरस्कार पाएका छन् । त्यस हिसाबमा कुल ९५४ व्यक्ति र २७ संस्थाले नोबेल पुरस्कार पाएका छन् । सन् २०२२ सम्म महिलाहरुले ६३ पटक नोबेल पुरस्कार पाएका छन् । फ्रान्सकी मरी क्युरी दुई पटक यो पुरस्कार पाउने एकमात्र महिला वैज्ञानिक हुनुहुन्छ । उहाँले सन् १९०३ मा भौतिकशास्त्र र सन् १९११ मा रासायनशास्त्रका लागि यो पुरस्कार जित्नु भएको थियो । त्यसको अर्थ सन् २०२२ सम्म नोबेल पुरस्कार पाउने महिलाको कुल सँख्या ६२ थिए ।
कसले छान्छ विजेता
शोध संस्थानका सदस्यहरू, विश्वविद्यालयका प्राध्यापकहरू, वैज्ञानिकहरू, पूर्वविजेताहरू र अन्यले मनोनयन दर्ता गर्छन् । नोबेल फाउन्डेशनको नियमानुसार ५० वर्षसम्म अन्तिम छनोट सूची प्रकाशित गरिँदैन । कसैले आफैँलाई मनोनयन गर्न पाउँदैन ।
पुरस्कार विजेतालाई लरेट भनिन्छ । उक्त शब्दले प्राचीन ग्रीसमा कुनै प्रतियोगितका विजेताहरूलाई दिइने प्रतिष्ठित पुष्पहारको सङ्केत गर्छ । एउटा पुरस्कार बढीमा तीन जनाले पाउन सक्छन् । केही वर्ष नोबेल पुरस्कार प्रदान गरिएन । खास गरी दुई विश्व युद्धताका पुरस्कार घोषणा गरिएको थियो ।
नोबेल फाउन्डेशनको नियमानुसार यदि कुनै विधामा त्यस वर्ष पुरस्कृत हुन कोही योग्य भएनन् भने त्यो घोषणा हुँदैन र त्यसको पुरस्कार रकम अर्को वर्षका लागि राखिन्छ ।
कहाँ हुन्छ निर्णय
भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्टकहोम, स्वीडनमा प्रदान गरिन्छ । नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ । त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँच सदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ ।
विजेताहरूले के पाउँछन् त?
प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले निम्न लिखित कुरा पाउँछन् –
-एउटा नोबेल डिप्लोमा, प्रत्येकमा मौलिक कला हुन्छ
-एउटा नोबेल पदक, जसका बेग्लाबेग्लै ढाँचा हुन्छन्
-नगद पुरस्कारमा १ करोड १० लाख स्वीडिश क्रोना (९,९०,००० अमेरिकी डलर) ।
यदि एकभन्दा बढी विजेता भएमा उक्त रकम उनीहरूबीच भाग लगाइन्छ । उक्त रकम पाउनका लागि उनीहरूले एउटा मन्तव्य दिनुपर्छ ।
नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ । उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृतिदिवस पर्छ ।
चर्चित विजेताहरू
भूतपूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले सन् २००९ मा “अन्तर्राष्ट्रिय कूटनीति र मानिसहरू बीचको सहकार्यलाई सुदृढ पार्न अभूतपूर्व प्रयास गरेकाले“ नोबेल शान्ति पुरस्कार पाएका थिए ।
शान्ति पुरस्कार पाएको सुनेपछि राष्ट्रपति ओबामाले आफू “आश्चर्यचकित र अत्यन्त अनुगृहीत“ भएको र त्यसलाई आफूले “काम गर्न आह्वान“ का रूपमा लिने बताएका थिए । तर उनलाई पुरस्कार दिइएकोमा आलोचना पनि भएको थियो । किनभने नोबेल पुरस्कारका लागि मनोनयन गर्ने मिति सकिनु केही दिनअघि मात्र ओबामा अमेरिकाका राष्ट्रपति बनेका थिए ।
अन्य उल्लेख्य विजेताहरूमध्येमा जिमी कार्टर (सन् २००२), युरोपेली सङ्घ (सन् २०१२), संयुक्त राष्ट्रसङ्घ र त्यसका तात्कालिक महासचिव कोफी अन्नान (सन् २००१ मा संयुक्त रूपमा) र भारत कोलकत्ताको मदर टेरेसा (सन् १९७९) हुनुहुन्छ ।
नोबेल पुरस्कार पाएका दुई अग्रणी वैज्ञानिकमध्ये अल्बर्ट आइन्स्टाइन (भौतिकशास्त्रतर्फ सन् १९२१ मा) र मरी क्युरी (सन् १९०३ मा भौतिकशास्त्र र सन् १९११ मा रसायनशास्त्रतर्फ) छन् ।
बालबालिकाको शिक्षासम्बन्धी अभियान चलाउनु भएको मलाला युसुफजाई (सन् २०१४ मा साझेदारी) यो पुरस्कार पाउँदा १७ वर्षकी मात्र हुनुहुन्थ्यो र उहाँ अहिलेसम्मकै सबैभन्दा कम उमेरकी विजेता हुनुहुन्छ ।
जोन बी गुडइनफ सबैभन्दा बढी उमेरका विजेता हुनुहुन्छ । सन् २०१९ मा ९७ वर्षको उमेरमा उहाँले रसायनशास्त्रमा नोबेल पुरस्कार पाउनु भएको थियो । फ्रेन्च लेखक तथा दार्शनिक जाँन–पल सार्त्रले सन् १९६४ मा र भियतनामी राजनीतिज्ञले डूक टोले सन् १९७३ मा नोबेल पुरस्कार लिन अस्वीकार गर्नुभएको थियो । अन्य चार जनालाई उनीहरूको देशले नोबेल पुरस्कार अस्वीकार गर्न बाध्य पारेका थिए ।
सन् २०१६ मा गायक बब डिलनले साहित्यतर्फको पुरस्कार स्वीकार गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने अन्योल देखा परेको थियो । अन्ततः उहाँले सन् २०१७ को जुन महिनामा उक्त पुरस्कारका लागि मन्तव्य दिनुभएको थियो ।
-२०२१–डेभिड जुलिअस र आर्डम पाटपूटिअनलाई शरीरले स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियाबारे अनुसन्धान गरेकाले
-२०२०–ब्रिटिश वैज्ञानिक माइकल हाउटन तथा दुई अमेरिकी अनुसन्धानकर्ता हार्भी अल्टर र चार्ल्स राइसलाई हेपाटाइटिस सी भाइरस पत्ता लगाएकाले
-२०१९–पिटर ¥याट्क्लिफ र संयुक्त राज्य अमेरिकाका विलियम काएलिन एवम् ग्रेग सिमेन्जा । कोषहरूले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अङ्गीकार गर्छन् भन्ने पत्ता लगाएकाले
– २०१८–जेम्स पी एलिसन र तासुकु होन्जोको । शरीरको रोगप्रतिरोधी क्षमताको प्रयोग गरेर क्यान्सरको उपचारविधि पत्ता लगाएकाले
– २०१७–जेफ्री हल, माइकल रोस्ब्याश र माइकल यङ् । शरीरले कसरी सर्कीडीअन रिदम अर्थात् ‘जैविक घडी’ कायम राख्छ भन्ने अनुसन्धानका लागि
– २०१६–योशिनोरी ओहसुमी । विकार पुनप्रयोग गरेर कोषहरू कसरी स्वस्थ रहन्छन् भनेर पत्ता लगाउने अनुसन्धानका लागि
– २०१५–विलियम सी क्याम्पबेल, सातोशी ओमुरा र यूयू टू । परजीवी नियन्त्रण गर्ने औषधिका लागि
– २०१४–जन ओ’कीफ, मे–ब्रिट मोजर र एड्वार्ड मोजर । मस्तिष्कको परिगमन प्रणाली पत्ता लगाउने अनुसन्धानका लागि
-२०१३–जेम्स रथ्म्यान, ¥यान्डी शेक्म्यान र थोमास स्युड्होफ । कोषले कसरी पदार्थहरू परिवहन गर्छन् भने अनुसन्धानका लागि
-२०१२–जन गर्डन र शिन्या यामानाका । कोषलाई स्टेम सेल बनाउन सफल भएकोमा
विजेताले के गरे ?
मरी र पिअर क्युरीले सन् १९०३ मा भौतिकशास्त्रतर्फ पाएको पुरस्कार रकम थप वैज्ञानिक अनुसन्धानमा प्रयोग गर्नुभएको थियो । सन् २००६ मा भौतिकशास्त्रतर्फको पुरस्कार पाएका जोन माथरले सो रकम आफ्नो फाउन्डेशनलाई दान दिनुभयो ।
सन् १९९३ मा ब्रिटिश वैज्ञानिक रिचर्ड रोबर्ट्सले चिकित्साशास्त्रमा पाएको रकम ’क्रोके लन’ का लागि खर्च गरे भने उहाँसँगै पुरस्कार पाएका फिलिप शार्पले १०० वर्ष पुरानो घर किन्नुभयो ।
सन् २००१ मा चिकित्साशास्त्रतर्फ पुरस्कार हात पानुभएकोसर पोल नर्सले आफ्ना लागि एउटा महँगो मोटरसाइकल किन्नुभएको थियो । त्यसै गरी सन् २००६ मा साहित्यतर्फका विजेता ओर्हान पामुकले इस्तानबुलमा एउटा सङ्ग्राहलय स्थापना गर्नुभएको थियो ।
स्वतन्त्र रुसी पत्रिका नोभया गजेटाका प्रधान सम्पादक दिमित्री मुरातोभले आफ्नो नोबेल शान्ति पुरस्कारको पदकलाई लिलाम गर्नुभयो । त्यसबाट प्राप्त १० करोड ३५ लाख अमेरिकी डलरमा उहाँले युद्धबाट विस्थापित युक्रेनी बालबालिकालाई सघाउन प्रयोग गर्ने बताउनु भएको छ ।
कोभिड खोप बनाउनेलाई पुरस्कार
यो वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड खोप निर्माण गर्न बाटो खोलिदिने प्रविधि विकास गर्ने दुई वैज्ञानिकले पाउनु भएको छ । उहाँहरु काटालिन कारिको र ड्रू भाइस्मान हुनुहुन्छ ।
कोभिड महामारी फैलिनुअघि उक्त प्रविधि प्रयोगात्मक अवस्थामा मात्रै थियो । तर महामारी फैलिएपछि कोभिड खोप निर्माण गरी संसारभरि करोडौँ मानिसलाई दिइयो । अहिले अरू रोग र क्यान्सरको उपचारका लागि सोही एमआरएनए प्रविधिको प्रयोग गर्न सकिन्छ कि भनी अनुसन्धान भइरहेको छ । खोपले मानिसको प्रतिरक्षा प्रणालीलाई भाइरस वा ब्याक्टेरियाबाट हुने खतरा चिन्न र त्यसविरुद्ध लड्न तालिम दिन्छ ।
परम्परागत खोप प्रविधिमा संक्रमण गराउने कीटाणुका मृत वा निष्क्रिय कोष वा कुनै अवयव प्रयोग गरिएको हुन्छ । तर एमआरएनए प्रविधिले नितान्त भिन्न तरिका अवलम्बन गरी खोप निर्माण गर्छ । कोभिड महामारीका बेला मोडर्ना र फाइजर÷बायोएन्टेकले एमआरएनए प्रविधि प्रयोग गरी खोप बनाएको थियो।
त्यस्ता खोप नेपालमा पनि प्रयोग भएका थियो । नोबेल पुरस्कार समितिले भनेको छ, “पुरस्कार विजेताहरूले आधुनिक समयमा मानवस्वास्थ्यले सामना गरेको सबैभन्दा ठूलोमध्येको जोखिमका बेला अभूतपूर्व गतिमा गरिएको खोप विकासका लागि योगदान दिए ।”
वैज्ञानिकद्वय कारिको र भाइस्मानको पहिलो भेट अमेरिकाको यूनिभर्सिटी अफ पेन्सल्भेनियामा काम गर्ने क्रममा सन् १९९० को दशकको सुरुतिर भएको थियो । एमआरएनएमा उहाँहरूको रुचि त्यस बेला वैज्ञानिक क्षेत्रको असामान्य काम थियो ।

स्रोतः बीबीसी

तपाईको प्रतिक्रिया