चीनले तराई मधेशमा आफ्नो गतिविधिहरु तीब्र पारेका छ । भारतको सीमासँग टाँसिएको नेपालको मधेश क्षेत्रमा आफ्नो गतिविधि तीब्र पार्नु चीनका लागि रणनीतिक महत्वको कुरा होला तर तराई मधेशमा त्यसको नाकारात्मक असर पर्ने निश्चित छ । चीन अहिले विभिन्न माध्यमबाट मधेशमा प्रवेश गरिसकेको छ । त्यसरी प्रवेश गर्नुको मुख्य कारण हो भारत । नेपाल–चीन मामिलाका एक जानकारले भन्नुभयो, ‘भारतसँग नेपालको खुल्ला सीमा भएको कारण सो बाटो प्रयोग गर्न चीनलाई सजिलो हुने र भारतमाथि निगरानी पनि बढाउन सकिने भएकाले पनि चीन मधेशमा प्रवेश गर्न चाहेको हो ।’

पछिल्लो समय नेपाल–भारतको खुल्ला बोर्डरका कारण भारत छिर्न लाग्दा थुप्रै चिनियाँ नागरिक समातिएका छन् । यसले नै मधेशमा आफ्नो गतिविधि तीब्र गर्नुले चीनको नियत प्रष्ट भएको बुझ्न सकिने जानकारहरु बताउँछन् । पछिल्लो समय पूर्वपश्चिम (महेन्द्र) राजमार्गलाई मर्मत गर्ने नाममा मधेशमा चिनियाँको चहल पहल निकै बढेका छन् ।
चिनियाँ रेल्वे कम्पनीले राजमार्ग चौडा गर्ने काम जारी राखेको छ । राजमार्गका लागि चाहिने गिटी बालुवाका लागि जथाभावी उत्खनन् गरिरहेको छ जसले गर्दा मधेशलाई मरुभूमी हुने टिप्पणीहरु भइरहेका छन् । चिनियाँ कम्पनीले राजमार्गका लागि चाहिने गिटी, बालुवा चुरे क्षेत्रबाट जथाभावी उत्खनन् गरी प्रयोग गरिरहेको छ । कुनै ठाउँमा सरकारसँग अनुमती लिएको छ कुनै ठाउँमा लिएको छैन । सरकारसँग अनुमती लिएको ठाउँमा पनि जथाभावी उत्खनन् गरेर तराई मधेशलाई चीनले मरुभूमी बनाउन लागेको टिप्पणी सुरु भएको छ ।
राजमार्गको ठेक्का पाएपछि चिनियाँ कम्पनीले त्यसका लागि चाहिने गिटी बालुवा कहाँबाट लिने भनि सरकारसँग अनुमती मागेको थियो । त्यसका लागि सिरहाको लहान खुट्टी खोलाबाट मापदण्ड अनुसार गिटी बालुवा झिक्नका लागि अनुमति दिएको थियो । त्यहाँ पनि मापदण्ड विपरित तहस नहस गरी ठूला ठूला खल्डो खनेर बालुवा गिटी झिकिरहेको छ ।
त्यस कामका लागि लहान नगरपालिका मेयर महेश चौधरीले गोप्य ढंगले अनुमति दिएको स्रोतले जनाएको छ । स्रोतले दावी गरे अनुुसार लहान नगरपालिकाभित्र गिटी बालुवाबाट उत्खन्न गर्ने लगायत अन्य गतिविधि गर्न चीनबाट मेयर चौधरीले एक करोड रुपियाँ लिनु भएको छ । ती स्रोतले भन्यो, ‘मेयर चौधरीले त्यसरी एक करोड रुपियाँ लिएपछि उपाध्यक्ष असन्तुष्ट बन्नुभएको थियो, दुवै जनाको बीचमा बोलचाल पनि बन्द थियो । त्यसपछि मेयर चौधरीले त्यसबाट १५ लाख रुपियाँ दिनुभएको थियो । त्यो कुराका खुलासा उहाँले नगरपालिकाको एउटा बैठकमा गर्नुभएको थियो ।’
त्यो बैठकमा मेयर चौधरीले आफूले चीनबाट लिएको एक करोड रुपियाँबाट १५ लाख रुपियाँ उपमेयरलाई पनि दिएको कुरा राखेपछि काँग्रेसका नेता पदमनारायण चौधरीका छोराले यस्तो कुरा पनि बैठकमा उठाउने हो भनि झपाड्नु भएको थियो । स्रोत भन्छ, त्यो बैठकमा पदमनारायण चौधरी, जिल्ला समन्वय समितिका सभापति दिनेश महतोलगायत माओवादी, एमाले, जसपाका नेताहरु पनि उपस्थित थिए ।
यसरी चीनले तराई मधेशका स्थानीय तहका प्रतिनिधिहरु तथा विभिन्न दलका नेताहरुलाई लोभ लालचमा पारेर आफ्ना गतिविधि बढाएको छ । त्यहाँका स्थानीय प्रतिनिधिको मिलोमतोमा चिनियाँ कम्पनीले जथाभावी उत्खनन् गर्ने काम जारी राखेको छ । त्यसले गर्दा तराई मधेशमा दीर्घकालिन रुपमा प्रभाव पार्ने जानकारहरुको बुझाई छ ।

यसरी चीनले जथाभावी उत्खनन् गर्दा पनि कसैले केही बोलेका छैनन् । त्यसको कारण हो, चिनियाँ कम्पनीले सबैलाई खरिद गरिसकेको छ जो बोल्छन् त्यसैलाई पैसा दिएर चुप गराउँछ, सिरहा नगरपालिकाका एक जना पूर्व स्थानीति जनप्रतिनिधिले भन्नुभयो, ‘चुप गराउनका लागि जति पैसा खर्च गर्नुपर्छ उनीहरु गर्नका लागि तयार हुन्छ ।’
यत्रो विनाश भइरहेका छ, तर कोही बोल्दैन किन सहज बुझ्न सकिन्छ सबैलाई चुप गराइएको छ । लहानको खुट्टी खोला, धनगढीमाइमा नगरपालिमा गिटी, बालुवा जथाभावी उत्खनन् कार्य जारी राखेको छ तर कसैले आवाज उठाइ रहेको छैन । त्यसका लागि चिनियाँ कम्पनीले सिरहाको लहान र मिर्चैयामा आफ्नो क्याम्प खडा गरेको छ । त्यहाँबाट सबै कुरा परिचालन गरिरहेको बुझिएको छ । पछिल्लो समय चिनियाँ कम्पनीले लहानको वडा नम्बर २४ मा रहेको खप्ते डाँडालाई पनि उत्खनन् गर्ने तयारी गरेका छन् । त्यहाँ विभिन्न संरचनाहरु बनाउने काम भइरहेको छ ।
पुरातात्विक महत्वको त्यो डाँडा उत्खनन्का लागि सरकारसँग अनुमति लिएको छैन तैपनि त्यहाँ उत्खनन्को तयारी भइरहेको छ । यसमा पनि लहान नगरपालिकाका मेयर चौधरीले भित्रभित्रै अनुमति दिइसक्नु भएको छ तर बाहिर उहाँले यस बारेमा आफूलाई केही पनि जानकारी नरहेको बताउँदै आइरहनु भएको छ ।
सहारा टाइम्स पत्रिकाबाट


तपाईको प्रतिक्रिया