Khadya Bibhag

८४ को सन्त्रास

२०८४ को आमचुनाव आउन झण्डै चार वर्ष बाँकी छन् तर साना ठूला सबै त्यो चुनावको तयारीमा जुटिसकेका छन् । २०८४ को चुनाव लिएर सबै दल त्रसित छन् । २०७९ मा वैकल्पिक शक्तिहरुको उदय भएपछि काँग्रेस, माओवादी केन्द्र, एमाले, नेकपा (एस), जसपा, लोसपा, राप्रपालगायतका दलहरु भयभित भएका छन् ।
२०८४ मा अझै के हुने भनि त्रास सबै दलमा देखिन्छन् र त्यसलाई टार्गेट गरेर अहिलेदेखि नै ती दलहरु तयारी गरिरहेका छन् । रवि लामिछने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलगायतका नयाँ पार्टीहरुले काँग्रेस, माओवादी, एमाले, लोसपा, जसपा जस्ता दलहरुको जग हलाई दिएका छन् । २०७९ मा दिएको एउटै झटकाले ती दलका नेताहरुलाई बेचैन बनाई दिएको छ ।
समाजिक अभियन्ता एवं लेखक रामरिझन यादवले भन्नुभयो, २०७९ को चुनावमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवनको आफ्नो क्षेत्र छाड्न बाध्य बनायो जब कि त्यहाँ दुई कार्यकालदेखि उहाँका छोरी रेणु दाहाल मेयर हुनुहुन्छ त्यस अवस्थामा चितवन छाडेर गोरखा जानुभयो, वैकल्पिक शक्तिबाट अहिलेका पुराना दलहरु कसरी डराएका छन् यसबाट पुष्टि हुन्छ ।’
जनमत पार्टीका अध्यक्ष राउतले उपेन्द्र यादवको विरासत हलाई दिनुभयो । उपेन्द्र यादवलाई सप्तरीको चुनावमा सिके राउतले स्वयं पराजित गर्नुभयो । सप्तरीबाट हारेपछि बारामा चुनाव लड्न जानु भएका उपेन्द्र यादवलाई त्यहाँ पनि सिके राउतले हालत खराब गर्नुभएको थियो ।
जसपाका अध्यक्ष उपेन्द्र यादव मधेश आन्दोलनबाट जन्मिनु भएका नेता हुनुहुन्छ । उहाँलाई उहाँका कार्यकर्ताले मधेशको मसिहा भन्नुहुन्छ । मधेश आन्दोलनमा ज्यान गुमाउने परिवारलाई ५० लाख रुपियाँ दिने घोषणा उपेन्द्र यादव, महन्थ ठाकुरलगायतका मधेशी नेताले गर्नुभएको थियो । मधेश आन्दोलन सकेपछि पटक पटक सत्तामा जानुभयो । २०७४ पछि मधेश प्रदेशमा उपेन्द्र यादवकै पार्टीले नेतृत्व गर्दै आएको छ । त्यो ५० लाख रुपियाँ सहिद परिवारले अहिलेसम्म किन पाएन त भनि अभियन्ता रामरिझन यादवले गर्नुभयो ।
यिनै दलहरुको हाली मुहाली स्थानीय तहमा छन्, त्यहाँ भइरहेको भ्रष्टाचार अनियमितताका बारेमा काँग्रेस, माओवादी, एमाले, जसपा, लोसपाका नेताहरुले कहिले केही बोल्नु भएको छ ? त्यहाँ भएको भ्रष्टाचार, केन्द्रमा भइरहेको भ्रष्टाचारको जिम्मा ती दलका नेताहरुले लिनुहुन्छ त भनि प्रश्न जनताले गर्न थालेका छन् । त्यसको सही जवाफ नआएको कारणले जनता विकल्प खोज्न थालेपछि आफूलाई ठूला दल मनाउँदा नेताहरु ८४ को नाम सुन्दा तर्सिन थालेका छन् । अहिले त ती नेताहरुलाई ८४ साल नआइ दिए हुन्थ्यो जस्तो लाग्न थालेका छन् ।
कसैले मिसन ८४ चलाई रहेका छन् भने कसैले तीन महिना अभियान त कसैले संगठन सुदृढीकरण अभियान चलाएर जनताभित्र छिर्ने प्रयास गरिरहेका छन् । अगामी चुनावमा यी ठूला भनाउँदा दलहरुको हालत खराब हुने निश्चित छ भने कुरा थाह पाएर नै ८४ का लागि मिसन चलाई रहेका छन् ।
राजनीतिक विश्लेषक चन्द्रकिशोरले भन्नुभयो, ‘अहिलेको यथास्थिति अवस्थाप्रति जनतामा उकुस मुकुस छ, त्यो उकुस मुकुसले धेरैलाई डुबाउने बाला छ ।’ पुराना दलहरुलाई आफ्नो अस्तित्व बचाउनमा चिन्ता छ, अहिलेको जे अवस्था छ त्यति पनि कायम राख्न सकिन्छ भन्दै अभियानमा लागेका छन् भने नयाँ दलहरु पनि ८४ मा आफूलाई उपस्थित गराउने अभियानमा लागेका छन् ।
अहिले विभिन्न नाममा भइरहेको आन्दोलन त्यसैको संकेत हो, सबै दलले आआफ्नो ठाउँ बनाउन कसैले धर्मको आड लिएका छन् भने कसैले भ्रष्टाचार निवारणको आड लिएका छन् भने कसैले समाजिक उत्तरदायित्वको भुमिका देखाइरहेको विश्लेषक झाले बताउनुभयो । ८४ मा सबैमाथि संकट आउने संकेत ७९ ले देखाई सकेको उहाँले बताउनुभयो ।
२०४६ को जनआन्दोलनपछि आएको बहुदलीय व्यवस्थामा काँग्रेसका तत्कालिन सभापति गिरीजाप्रसाद कोइराला राजपरिवारको साथमा हुनुहुन्थ्यो । बहुदल व्यवस्था भए पनि उहाँले राजाहरुको कुरालाई बढी मान्नुहुन्थ्यो । त्यसको फाइदा माओवादीलाई भयो । यहाँ मौका पारेर माओवादीले जनयुद्ध सुरु गर्यो । माओवादीको त्यो जनयुद्धलाई समाप्त पार्न राजपरिवारसँग मिलेर गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवाहरुले निकै ठूलो मेहनत गर्नु भएको थियो । तर सक्नु भएन ।
अब आफ्नो पार्टीका अस्तित्व गुम्ने खतरा देखेपछि त्यति बेलाका दलहरु काँग्रेस, एमाले, जनमोर्चालगायत दलहरुले आन्दोलनको घोषणा गरे तर जनताले पत्याएन । पटक पटक आन्दोलनको घोषणा गरे पनि जनता सडकमा आएनन् । त्यपछि खगेन्द्र संग्रौला, कृष्ण पहाडी, निनु चापागाँई, श्याम श्रेष्ठ, दमननाथ ढुंगानालगायतका नागरिक अगुवाहरु सडकमा आएपछि जनताहरु पनि अलिअलि सडकमा आउन थाले ।
त्यतिले पनि आन्दोलन गति नलिएपछि त्यतिबेलाका काँग्रेसलगायतका दलले जंगलमा रहेको माओवादीसँग सहयोग मागेका थिए । माओवादीहरु काठमाडौँको आन्दोलनमा सहभागी भएपछि मात्र त्यो जनआन्दोलन सफल भएको थियो । यसरी सुरुदेखि नै नेपाली जनताहरुले नयाँ तथा वैकल्पिक शक्तिमाथि विश्वास गर्दै आएको हो । अहिले पनि यी दलहरुमाथि जनताले विश्वास गर्न छाडेपछि ८४ को त्रास सबैतिर देखिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका दलहरुले जनतासँग गरेका प्रतिवद्धता पुरा गरेका छैनन् । विगतभन्दा अहिलेको शासन सत्तामा भ्रष्टाचार मौलाएको छ । नेताहरुको रहनसहन, हाउभाउ निकै महँगो हुँदै गइरहेको छ । जनताको सुखसय र सुविधा भन्दा आफ्नो र आफन्तको सुखसयल र सुविधामा बढी ध्यान दिएका छन् । स्थानीय तह, प्रदेशदेखि संघसम्म भ्रष्टाचारले आफ्नो जडा गाडि सकेको छ तर त्यसलाई हटाउने प्रयास पनि दलहरुबाट देखिएको छैन । त्यसले गर्दा जनताले वैकल्पिक शक्तिको खोजीमा लागेका छन् ।

तपाईको प्रतिक्रिया