सिके राउतले भने, ‘यो देश दुई तीन जना नेताले चलाएका छन्’
१७ कार्तिक २०८०, शुक्रबार १३:५१
काठमाडौँ कात्तिक १७ गते । जनमत पार्टी नेपालका अध्यक्ष डा.सिके राउतले नेपालमा संसदीय व्यवस्था भएपनि त्यहाँ संसदको कुनै पनि कुरा लागु नहुने गरेको गुनासो गर्नुभयो ।
पार्टीद्वारा शुक्रवार आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले संसदमा सांसदलाई कुरा राख्ने समय दिएका हुन्छन्, उसका सबै कुरा सुनेका हुन्छन्, रेकर्डमा राखेका हुन्छन् तर पछि कुनै पनि कार्यान्वयनमा हुँदैन दुई तीन जना नेताले जे निर्णय गर्छन् त्यही कार्यान्वय हुने गरेको गुनासो गर्नुभयो ।
दुई चार जना नेताले ३० वर्षदेखि देश चलाई रहेका छन्, त्यसको सेरोफेरोमा देश घुम्दै आएको छ, त्यसैलाई चिर्नका लागि जनमत पार्टी आएको बताउँदै उहाँले जनताले के चाहेको छ, त्यो कुराको व्यवस्था गर्न आफूहरुको पार्टी गठन भएको बताउनुभयो ।
जनमत पार्टी पहिलो प्रयासमा निर्वाचनमा भाग लिएपछि राष्ट्रिय पार्टी बन्न सफल भएको बताउँदै उहाँले आफ्नो पार्टी नै यो देशको भविष्य रहेको र वैकल्पिक धारको रुपमा विकास भएको दावी पनि गर्नुभयो । जनमत पार्टीलाई देशभर पहिचान गरिसकेको र त्यससँग जनता जोडिन लागेको बताउँदै उहाँले आफू मुक्तिनाथ गएको बेला त्यहाँका जनताले आफू र पार्टीलाई पहिचान गरेको बताउनुभयो ।
तपाईको प्रतिक्रिया