पुराना व्यवस्था आयो भने युवाले १० दिन पनि झेल्न सक्दैन (फरकमत)

लोकतन्त्रले दिएको स्वतन्त्रता के हो, नयाँ पिढीहरुलाई थाह छैन । अहिले गणतन्त्रमाथि धेरै आक्रमण भएको छ । गणतन्त्र कति सुन्दर व्यवस्था हो, जसमा आमजनताका छोराछोरी, गरिब जनताका छोराछोरी देशकै सर्वोच्च पदमा आसिन हुन पुगे ।

–डा.सिके राउत:-
अहिलेका सरकारले केही गरेन, अहिलेका नेता केही गरेनन् भने त्यस्ता पार्टी र प्रवृतिलाई फाल्ने अधिकार पनि जनतालाई दिएको छ । यसको मतलब यो व्यवस्था फाल्ने होइन । यदि यो व्यवस्था नै फ्याल्ने हो भने त्यो अधिकार पनि रहदैन । जुन मान्छेले यो भोगेका छन् त्यसलाई मात्र थाह कि व्यवस्था फ्याल्ने कुरा गर्दा नै राजद्रोहको मुद्दा लगाइन्थ्यो ।
अहिले खुलम खुल्ला व्यवस्था नै फ्याल्ने कुरा गर्दैछन् । तर कसैले केही भनेका छैनन् । बरु प्रहरीले समातेर घरघर पुर्याई दिन्छन् । पहिला एउटा शिक्षकले नारा नलगाई दिँदा त्यसलाई मृत्युदण्ड दिइन्थ्यो । आफ्नो मातृ भाषा बोलेको भरमा यो देशमा मृत्युदण्ड दिएको इतिहास छ । आफ्नो भाषामा समाचार वाचन गरेकै भरमा राज्यद्रोहको मुद्दा लगाएर जेलभित्र कोचिएको थियो । यो कुरा अहिलेका पिढीलाई थाह छैन ।
त्यो व्यवस्था र अहिलेको व्यवस्थासँग कुनै तुलनै हुन सक्दैन । अहिलेका जेनरेशनले त्यो व्यवस्था भोगेकै छैनन् । सामाजिक सञ्जालमा जान्छन्, हेर्छन् जे कुरामा प्रतिकृया दिएका छन्, जे कुरामा आक्रोश पोखेका छन् । पुरानो व्यवस्था कथमकदाचित आइदियो भने उनीहरु १० दिन पनि झेल्न सक्दैन । बरु पुराना नेताहरु झेल्छन् किनभने उनीहरु सबै झैल्दै आएका हुन् । उनीहरु त्यसको विरुद्धमा लडेका छन्, जेलनेल भोगेका छन्, त्यही भएर पुराना व्यवस्था आइदियो भने पुराना नेताहरुले झेल्न सक्छन् तर अहिलेका युवाले झेल्न सक्दैन ।

गणतन्त्रकै कारण एउटा मधेशीको छोरा सर्वोच्च पदमा गएका हुन् । भोली कोही आदिवासी जनजातिको छोरा जान सक्लान् । जुनकुरा असम्भव थियो त्यो कुरा गणतन्त्रले दिएको छ ।

पहिला रेडियो सुन्नका लागि पनि लाइसेन्स लिनुपथ्र्यो, साइकल चढ्नका लागि पनि लाइसेन्स लिनुपथ्र्यो । फेरि लाइसन्स लिन अहिलेको जस्तो सहज थिएन । ठूला बडा, हुनेखानेहरुले मात्र त्यो लाइसेन्स पाउन सक्थे । छोटे बडे जुन हाकिमहरु हुन्थे त्यसको अगाडिमा बस्ने कुरा कहाँ हो कहाँ, त्यसको घरको अगाडिबाट जाने पनि निषेध थियो । अहिलेका युवाले ती कुराहरु भोगेका छैनन्, त्यही भएर केही थाह छैन ।
लोकतन्त्रले दिएको स्वतन्त्रता के हो, नयाँ पिढीहरुलाई थाह छैन । अहिले गणतन्त्रमाथि धेरै आक्रमण भएको छ । गणतन्त्र कति सुन्दर व्यवस्था हो, जसमा आमजनताका छोराछोरी, गरिब जनताका छोराछोरी देशकै सर्वोच्च पदमा आसिन हुन पुगे । २५० वर्षको इतिहासमा कुनै मधेशीको छोरा शीर्ष पदमा गएका थिएनन् । गणतन्त्रकै कारण एउटा मधेशीको छोरा सर्वोच्च पदमा गएका हुन् । भोली कोही आदिवासी जनजातिको छोरा जान सक्लान् । जुनकुरा असम्भव थियो त्यो कुरा गणतन्त्रले दिएको छ ।
समाजिक सञ्जालमा युवाको कुरा हेर्दा, सुन्दा मलाई ताजुब लाग्छ । लोकतन्त्र कति सुन्दुर व्यवस्था हो त्यो चुनावमा गएपछि थाह हुन्छ । हरेक घरघर गएर, जुनसुकै जातको होस्, तल्लो माथिल्लो जुनकै जातको होस् सबैको अगाडि गएर खुट्टा ढोग्नु पर्या छ । चाहे त्यो नेता विनोद चौधरी होस् या कुनै अरबपति होस् कुनै मतलब छैन । यो प्रिभलेज अरु कुनै व्यवस्थाले दिन सक्दैन, यो लोकतन्त्रले मात्र दिनसक्छ ।
एउटै खाना सधै खानका लागि दियो भने त्यो राम्रो हो कि तीनसय वटा परिकार पकाएर चयन गर्न दियो कि ल के के खान्छौं खाउ भनि रोज्न दियो भने कुन व्यवस्था राम्रो हुन्छ ? पक्कै पनि तपाईलाई जहाँ चयन गर्ने अधिकार दिएका हुन्छन् त्यो व्यवस्था नै राम्रो हुन्छ । पहिलाको व्यवस्थामा चयन गर्न पाइदैन्थ्यो, जे आउँथ्यो त्यही खानु पथ्र्यो खाए खा नखाए घिच जस्तो हुन्थ्यो । अहिले तीन करोड जनतलाई आफ्नो प्रतिनिधि चयन गर्ने अधिकार दिएको छ । चयन गरेको व्यक्तिले केही गरेन भने त्यो व्यक्ति गलत भयो तर व्यवस्था गलत होइन ।
जनताले नै चयन गर्ने बेलामा राम्रो चयन गर्नुपथ्र्यो । जन प्रतिनिधि चयन गर्ने कुरा जनताको हातमा छ । व्यवस्थामा कुनै प्रश्न गर्न मिल्देन । कसैले दुरुपयोग गरेका छन् भने त्यसलाई सुधार्नु पर्छ । त्यसलाई हटाउन सकिन्छ, अरुअरु प्रावधानमा जान सकिन्छ तर व्यवस्थालाई दोष दिन पाइदैन ।
दुर्गा प्रसाइँहरु व्यवस्था परिवर्तन मागको खोल ओढे पनि अन्तरनिहित त्यो माग होइन । जुन दलहरु (राप्रापाहरु)को माग नै राजतन्त्र व्यवस्था थियो ती दलहरुले पनि उनीहरुलाई साथ दिएन । यदि दुर्गा प्रसाईहरुको माग नै त्यही भएको भए राप्रपालगायतका दलहरुले पनि साथ दिन्थे । त्यहाँ त आराजकता मचाउनेको नाममा ताण्डव मचाउने बाहेक अरु केही पनि थिएन किनभने राजनीतिक चरित्र त्यस्तो हुँदैन ।
राजनीतिक गर्नका लागि भिजन चाहियो । राजनीतिक गर्न विचार चाहिन्छ, भिजन चाहिन्छ । आराजकता राजनीति होइन । यसले देशलाई नै बेफाइदा पुर्याउँछ ।
(जनमत पार्टीका अध्यक्ष सिके राउतसँग गरिएको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया