Khadya Bibhag

मधेश र कम्युनिष्टको फ्युजन

–महेन्द्रराय यादव
मधेशवादी र माओवादीको संघर्ष तथा बलिदानीले मात्र यो देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । अब त्यसलाई संस्थागत गर्न पनि यी दुई शक्ति मिल्नुपर्ने अवस्था आइसकेको छ । मधेशवादी दललाई यो लायक बनाउन पनि माओवादीकै योगदान रहेको छ । अहिले विभिन्न जातजातीले आफ्नो अधिकार पाएका छन्, आफ्नो अधिकारका लागि कुरा उठाउन पाएका छन्, बोल्न पाएका छन् ती सबै माओवादीको कारणले मात्र सम्भव भएको हो ।
माओवादी जस्तै मधेशले पनि आफ्नो अधिकार र पहिचानका लागि सधै संघर्ष गर्दै आएको छ । मधेशले पनि माओवादीबाट सिकेर नै आफ्नो अधिकार र पहिचानका लागि अवाज उठाउन संक्षम भएको हो । म त यो भन्छु कि आज मधेशले जे पाएको छ, जे अवस्थामा छ त्यो माओवादीको कारणले मात्र हो । माओवादीले मधेशलाई मात्र होइन, आदिवासी, जनजाति, दलित, मुस्लिम, महिला, पिछडिएका समुदायलाई पनि जगाउने काम गरेको छ ।
जोश भर्ने काम
माओवादीको जनयुद्धअघि मधेशी के हो, आदिवासी जनजाति के हो, दलित, मुस्लिम के हो केही थाह थिएन । माओवादी जनयुद्धकै क्रममा सबैलाई जगाउने काम गरेको थियो । सबैमा जोश भर्ने काम गरेको थियो । यहाँसम्म कि सबैको लागि पहिचानसहितको राज्य स्थापना (सांगठनिक रुपमा) गरेको थियो । राज्यको अभ्यास जनयुद्धकै क्रममा भएको थियो । थरुहट, मधेशी, भोजपुरा, अवध, तामसालिङ, मगरात, किराँत, नेवा जस्ता राज्य बनाएर माओवादीले त्यतिबेला अभ्यास गरेको थियो र सबै समुदायलाई आफ्नो अधिकार र पहिचानको बारेमा अवगत गराएको थियो । दलित मुक्ति मोर्चा, मधेशी मुक्ति मोर्चा, मुस्लिम मोर्चा, थरुहट मुक्ति मोर्चा लगायत थुप्रै मोर्चा बनाएर त्यसको अधिकारका लागि संघर्ष गर्न सिकाएको थियो ।
सुरुमा माआवादीले नै मधेशी राष्ट्रिय मुक्ति मोर्चा बनाएको थियो, त्यसअघि यसरी पनि संगठन बन्दो रहेछ भनि कसैलाई थाह पनि थिएन । माओवादीले मधेशी मोर्चा बनाई सकेपछि मात्र अन्य दलले आआफ्नो पार्टीमा मधेशीलाई स्थान दिन सुरु गरेका थिए ।
सायद माओवादी जनयुद्धको क्रममा त्यसरी मोर्चा बनाएर नलडेको भए कसैलाई आफ्नो अधिकारको बारेमा थाह हुँदैन्थ्यो । आज जसरी हरेक समुदायले आफ्नो अधिकार पहिचानको कुरा उठाउँछ त्यो माओवादीकै देन हो । अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ, त्यसलाई संस्थागत गर्नका लािग र संविधानमा रहेका अधुरा विषयहरुलाई पुरा गर्नका लागि माओवादी इमान्दारीपूर्वक लागेको छ ।
संविधान संशोधन
जतिपटक संविधान संशोधनको कुरा आएका छन् । त्यसमा सहयोग गर्ने काम माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले नै गर्नुभएको छ । यसअघि मधेशवादी दलले संविधान संशोधनका लागि दबाव दिँदा संसदसम्म प्रस्ताव पुर्याउने व्यक्ति नै प्रचण्ड हुनुहुन्छ । त्यतिबेला एमालेले त्यसलाई पास हुन दिएको थिएन । मधेशवादी दलले उठाएको माग पुरा गर्न प्रधानमन्त्री प्रचण्ड पटक पटक प्रयास गर्नुभएको छ । मधेशवादी दलले उठाएको सम्पूर्ण माग जायज छ भन्ने एक व्यक्ति प्रचण्ड मात्र हुनुहुन्छ । अरु दलका अध्यक्षले आजसम्म भनेको मैले सुनेको छैन ।
तर अरु अरु दलले डिस्टर्ब गरेर त्यो पुरा हुन दिएन, हुन दिइरहेको छैन । अहिले नागरिकता विधेयक संसदबाट पास भएको छ । नागरिक ऐन संशोधन भएको छ । मधेशी जनताले नागरिकता पाइरहेका छन्, प्रचण्ड प्रधानमन्त्री भएको कारणले मात्र त्यो सम्भव भएको हो । प्रचण्ड प्रधानमन्त्री नभएको भए नागरिकताको समस्या समाधान हुन्छ भने कसैले कल्पना समेत गर्न सकिदैन्थ्यो । अहिले पनि मधेशको जति पनि मागहरु छन्, प्रचण्डबाहेक अरु कसैले पुरा गर्न सक्दैन त्यो म ग्यारेन्टीको साथ भन्छु । प्रदेश नम्बर २ लाई मधेश प्रदेश बनाउनमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको पनि योगदान गरहेको छ ।
प्रदेश नम्बर २ को नाम मधेश प्रदेश राख्ने भनि प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीबाट नै निर्णय गराउनु भएको थियो । जब कि यो कुरामा एमाले र काँग्रेस पार्टी मौन थिए । ती पार्टीमा रहेका मधेशका केही नेताहरुले त्यसका बारेमा बेलाबेलामा बोलिरहेका थिए तर पार्टीहरुले माओवादीको जस्तो ठोस निर्णय लिन सकिरहेको थिएन ।
त्यति मात्र होइन, मधेशवादी दलले मधेशका २२ वटा जिल्लालाई दुईटा प्रदेश बनाउने प्रस्ताव थियो । त्यसको समर्थन गर्ने एक मात्र पार्टी माआवादी नै हो । एक मधेश एक स्वायत प्रदेशमा पनि माओवादीले कहिले असहमति जनाएको थिएन । मधेशमा दुई प्रदेशसहितको १० प्रदेशमा मधेशवादी दल सहमति जनाएको थियो, त्यो १० प्रदेशको खाका पनि माओवादीले नै ल्याएको थियो ।
मधेश आन्दोलन र माओवादी
२०७२ संिवधान जारी भएपछि मधेश केन्द्रीत दलले त्यसमा असन्तुष्टि जनाउँदै संशोधनको माग राखेर काठमाडौँ केन्द्रीत आन्दोलन गरेको थियो । २०७३ जेठ २ गते मधेश केन्द्रीत दलले सिंहदरवार घेराउ पनि गरेको थियो । त्यसमा पनि माओवादीले साथ दिएको थियो । मधेश केन्द्रीत दलले मधेशमा होस् या काठमाडौँमा होस् जहाँ जहाँ आन्दोलन गर्थे सबै ठाउँमा माओवादी केन्द्रको साथ हुन्थ्यो । संविधान निर्माण हुने क्रममा त्यसमा पहिचानको मुद्दा लेखाउनका लागि तत्कालिन मधेशी मोर्चा र अन्य पहिचानवादी दलहरुसहित ३३ दलीय मोर्चा बनेको थियो । सो मोर्चाको नेतृत्व माओवादी केन्द्रले गरेको थियो ।
त्यो ३३ दलीय मोर्चाले देशैभर आन्दोलन गरिरहेको थियो । र, त्यो आन्दोलन माओवादी केन्द्रका कारण मात्र सम्भव भइरहेको थियो । मधेशी, आदिवासी, जनजातिको पहिचान संविधानमा उल्लेख गराउन माओवादी केन्द्रले खेलेको भूमिकाले बिर्सिन सकिदैन । २०७३ कै साउनमा मधेश केन्द्रीत दलले खुल्लामञ्चमा रिले अनसन सुरु गरेको थियो । त्यहाँ अरु कुनै दलका नेताले ऐक्यबद्धता जनाउन गएका थिएन, माओवादीका अध्यक्ष प्रचण्ड मञ्चमै गएर सो आन्दोलनको समर्थन जनाउनु भएको थियो । त्यहाँ आफ्नो कुरा पनि राख्नु भएको थियो । अर्थात मधेशलाई माओवादीलाई पाइला पाइलामा साथ दिएको इतिहास छ ।
मधेश र माओवादी फ्युजन
त्यसैले मधेश र कम्युनिष्टको नङग र मासुको सम्बन्ध छ । नेपाली राजनीतिमा माओवादी र मधेश एक सिक्काको दुई पाटा हुन् भन्दा पनि फरक पर्दैन । त्यसैले मधेश र कम्युनिष्ट (माओवादी) फ्युजन गराएर देशमा एउटा नयाँ शक्तिको निर्माण गर्ने अवस्था आइसकेको छ ।
मधेशमा एउटा राष्ट्रिय पार्टीको आवश्यकता भइसकेको छ । मधेश केन्द्रीत जति वटा दलहरु छन् ती सबै क्षेत्रीय पार्टी हुन् । क्षेत्रीय पार्टीले अब केही हुँदैन, एक दुईटा सीटमा मात्र सिमित हुन जान्छ, त्यो भन्दा बढी अरु केही गर्न सक्दैन । क्षेत्रीय पार्टीले मधेशको मुक्ति हुँदैन भन्ने कुरा जनताले पनि बुझि सकेका छन् । मधेशवादी दलहरु जति संघर्ष गरे पनि अधिकार र पहिचान नपाउने लगभग निश्चित भइसक्यो किनभने अब त्यसको लागि मधेशवादी दलको शक्तिले मात्र पुग्दैन । भएका शक्ति छिनभिन्न भइसकेका छन् । मधेश शक्तिमाथि चौतर्फी प्रहार भइरहेको छ । त्यसैले अब क्षेत्रीय पार्टी होइन, माओवादी र मधेशवादीलाई फ्युजन गरेर एउटा राष्ट्रिय पार्टी निर्माणको आवश्यकता भइसकेको छ ।
मधेशको शक्ति
मधेशवादी दलले शक्ति निर्माण गर्ने प्रयास नगरेको होइन । पटक पटक प्रयास भएको हो । मधेश आन्दोलनबाट मधेशी जनअधिकार फोरम नेपाल, तमलोपाको जन्म भएको थियो । त्यो एउटा ठूलो शक्ति थियो । त्यही शक्तिका कारणले मधेशले केही पाउने आशा जागेको थियो । त्यतिबेला राज्य पनि मधेशको अगाडि झुकेको थियो । आठ बुँदे सम्झौता भएको थियो । मधेशका सबै माग पुरा गर्ने सम्झौता भएको थियो ।
तर जब शक्ति कमजोर भयो अनि ती मागहरु पुरा गर्न राज्य तयार भएन । मधेशसँग राज्यले मुसो बिरालोको खेल खेल्यो । मधेशवादी दलहरु सत्ताको खेलमा यसरी अल्झे कि कतिखेर आफूसँग भएको शक्ति साथ छाडेर गयो थाहै पाएनन् । मधेशी नेताको आपसी स्वार्थ र सत्तालिप्सा, परिवारवाद, नातावाद, व्यक्तिवादका कारणले मधेशको मुद्दा विसर्जन भएको हो । मधेशमा गलत नेतृत्वका कारण मधेशी जनताले दुख पाइरहेका छन् ।
दोषी को ?
मेरो व्यक्तिगत प्रयासले विभिन्न छ वटा दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बनेको थियो । उपेन्द्र यादवजीको समाजवादी पार्टीसँग त्यो राजपाको एकीकरण गराएर जनता समाजवादी पार्टी बनाएका थियौं । मधेशमा यो धेरै ठूलो काम भएको थियो । मधेशका सम्पूर्ण शक्ति एक ठाउँमा आएको थियो । तर दुई जना (उपन्द्र–महन्थ) नेताको अदुरदर्शिता, अहम्पना, हठपनाका कारण त्यो शक्ति छिनभिन्न भयो ।
मधेशको शक्ति कमजोर हुनुमा सबभन्दा गल्ती उपेन्द्रजीबाट भएको हो । उहाँले मधेशमा सांगठिनक शक्ति होइन, व्यक्तिलाई केन्द्रमा राखेर संगठन बनाइरहनु भएको छ । उहाँले आफूबाहेक अरु कसैलाई मान्ने तयार हुनुहुन्न । उहाँ कसैलाई नेता बनाउन चाहनु भएको छैन, सबैलाई झोले कार्यकर्ता बनाएर मात्र चाहनु भएको छ । झोले कार्यकर्ताबाट उहाँले पार्टी चलाउन चाहनु भएको छ ।
उहाँले सुरुदेखि नै मधेशसँग बेइमानी गर्नुभएको छ । उहाँ यदि ठिकठाक रहनु भएको भए आज मधेशको अवस्था यस्तो रहने थिएन । उहाँले सहिदलाई भर्याङ्ग बनाएर सत्ताको राजनीति गर्नुभयो तर ती सहिद र सहिदको परिवारका लागि केही गर्नुभएन ।
उपेन्द्र यादवमाथि माओवादीको ठूलो लगानी छ । तर माओवादीलाई उहाँले पटक पटक धोका दिनुभएको छ । उहाँ जुन मधेशी जनअधिकार फोरमबाट उदाउनु भयो त्यो मधेशी जनअधिकार फोरम पनि माओवादीले नै गठन गरिदिएको हो । फोरम गठन गर्नुमा माओवादीको लगानी छ । उपेन्द्र यादवलाई राजनीतिमा अगाडि बढाउन सिर्फ माओवादीको लगानी छ । माओवादीका अध्यक्ष प्रचण्डले उपेन्द्र यादवलाई साथ नदिएको भए उहाँ उहिले समाप्त भइसक्नु भएको थियो । माओवादी जनयुद्धको अवस्था होस् या शान्ति प्रकृयामा आइसकेको अवस्था होस्, उपेन्द्र यादवलाई प्रचण्डले साथ दिन कहिले छाड्नु भएन । कतिपय अवस्थामा माओवादीले आफूलाई कमजोर बनायो, आफू घाटा सह्यो तर उपेन्द्र यादवलाई साथ दिएको थुप्रै उदाहरणहरु छन् ।
पछिल्लो उदाहरण हेर्दा हुन्छ, बैशाखमा बारा–२ मा भएको उपनिर्वाचनमा माओवादी केन्द्रले उपेन्द्र यादवलाई साथ नदिएको भए कुनै पनि हालतमा चुनाव जित्नुहुन्थेन । प्रधानमन्त्री प्रचण्डले उपेन्द्र यादवलाई चुनाव जिताउन सारा शक्ति लगाई सक्नुभएको थियो । बारा–२ बाट चुनाव जिताउनका लागि प्रचण्डले आफ्नो भागको उपराष्ट्रपति उपेन्द्र यादवलाई दिनुभयो । प्रचण्डले आफ्नो भागको उपराष्ट्रपति नदिएको भए रामसहाय यादव उपराष्ट्रपति बन्न सक्नु हुन्थेन ।
रामसहाय यादव उपराष्ट्रपति नबनेको भए उपेन्द्र यादव बारा–२ मा चुनाव लड्न पाउनु हुन्थेन । सत्ता सहकार्य होस् या गठबन्धन निर्माण प्रचण्डले उपेन्द्र यादवलाई कहिले एक्लै छाड्नु भएन एक सिक्काको दुई पाटा जस्तै रहनु भयो तर उहाँले पटक पटक माओवादीलाई धोका दिनुभएको छ । त्यसले गर्दा मधेशी जनता निराश भएका छन् । आजसम्म कुनै पनि माग पुरा भएन । अब त्यो माग पुरा गराउने एउटै उपाय हो, माओवादी र मधेशको फ्युजन अर्थात मिलन ।
माओवादीलाई मधेशको साथ
पहिलो संविधान सभाको बखत मधेशवादी दल र माओवादी मिलेको कारण नतिजा निकै सकारात्मक आएको थियो । यो होइन कि माओवादीले मात्र मधेशका लागि गरेको छ, माओवादीको लागि मधेशले पनि ठूला ठूला योगदान दिएको छ । माओवादीको जनयुद्धमा मधेशको ठूलो योगदान छ । माओवादीको क्रान्ति सफल पार्नका लागि थुप्रै मधेशीले ज्यानको आहुती दिएका छन् । मधेशी जनताले माओवादीका अध्यक्ष प्रचण्डलाई मधेशबाट चुनावै जिताएर पठाएका थिए । माओवादी शान्ति प्रकृयामा आइसकेपछि माओवादीका अध्यक्ष प्रचण्डलाई हरेक मोडमा मधेशले साथ दिएको थियो ।
माओवादी र मधेशवादी दलको माग र मुद्दा एउटै हो । मधेशको मुद्दा र माओवादीको मुद्दामा कुनै फरक छैन । लडाई र संघर्ष एउटै हो । त्यही भएर एक ठाउँमा आएर एक साथ लडाई लड्नुपर्छ । एक एउटा शक्ति बनाउनुपर्छ, जुन शक्तिले देशका सम्पूर्ण उत्पीडित समुदायका लागि लड्न सकोस् ।
देशमा जुन प्रकारको शंकट उत्पन्न भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको छ । अहिले विभिन्न वादीहरु टाउको उठाउन थालेका छन् । संविधानमाथि पनि खतरा उत्पन्न भएको छ । प्राप्त उपलब्धी पनि गुम्ने खतरा देखिएको छ । अब त्यसलाई बचाउनका लागि भए पनि मधेशवादी र माओवादी एक ठाउँमा आउनुपर्छ । यो संघीयता, समावेशी, लोकतन्त्र गणतन्त्रप्रति मधेशवादी दल र माओवादीको जति माया छ, त्यति अरु दलको छैन । यो संघीय गणतन्त्र ल्याउनका लागि मधेशवादी र माओवादी मात्र लडेका छन् । मधेशवादी र माओवादी नलडेको भए देशमा गणतन्त्र आउने थिएन । गणतन्त्र र संघीयता काँग्रेस र एमालेको एजेण्डा थिएन ।
मधेशवादी र माओवादीको दबावका कारण मात्र काँग्रेस र एमाले तयार भएका थिए । एमाले त अहिले पनि संघीयता र गणतन्त्रको पक्षमा देखिदैन । त्यसैले हरेक कुरालाई मध्यनजर गर्दै मधेशवादी र माओवादी मिल्नुको विकल्प छैन । यी दुई शक्ति मिले भने मात्र सबै कुराको रक्षा हुनसक्छ । माओवादीले अहिले पार्टीको नाम परिवर्तन गर्न तयार भएको छ, त्यसले मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिमका लागि साझा शक्ति बन्न सक्छ । सबैको साझा चौतारी बन्न सक्छ । मधेशवादी र माओवादीको फ्युजनका लागि नाम, चुनाव चिन्ह, झण्डा परिवर्तन गर्न आवश्यक छ ।
एकताको प्रयास
माओवादी केन्द्रसँग हाम्रो पार्टी (नेपाल समाजवादी पार्टी)को एकता प्रकृया अगािड बढेको छ । त्यसका लागि वार्ता कमिटी गठन भएको छ । त्यसले औपचारिक अनौपचारिक कुराकानी गरिरहेको छ । माओवादीले आफ्नो पार्टीको नाम परिवर्तन गर्ने भनि निर्णयसहितको पत्र हाम्रो पार्टीलाई पठाएको छ ।
नेकपा समाजवादी पार्टी बनाएर सम्पूर्ण उत्पीडित समुदाय त्यसमा गोलबद्ध हुनुपर्छ । एक्लै एक्लैले कुनै पनि लडाई जित्न सकिदैन । सबैलाई गोलबद्ध गर्नका लागि माओवादीले आफ्नो नाम परितर्वन गर्न समेत तयार भएपछि यो भन्दा अर्को त्याग के हुनसक्छ । माओवादीको पहिचान नै माओवादी हो, आज पनि माओवादीलाई माओवादी जनयुद्धका कारण चिनेको हो । त्यस नामलाई पनि परिवर्तन गर्न तयार हुनु भनेको सबैलाई एक ठाउँमा ल्याउने प्रयास हो भनि बुझ्न सकिन्छ ।
(नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं खानेपानी मन्त्री महेन्द्रराय यादवसँग गरिएको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया