Khadya Bibhag

हिन्दु राष्ट्रका लागि यसरी तयार हुँदैछ नेपाल

नवलपरासी (पूर्व) को प्रथम जिल्ला सम्मेलनलाई मंसिर १२ गते सम्बोधन गर्दै काँग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र पुनःस्थापना गर्न सकिदैन तर संविधानबाट धर्म निरपेक्षता हटाएर हिन्दु राज्य राख्ने विषयमा छलफल गर्न सकिने अभिव्यक्ति दिनुभएको थियो । यो कुरा उहाँले त्यो दिन मात्र होइन, केही समयदेखि उहाँले लगातार कुरा उठाउँदै आउनु भएको छ ।
पार्टीको बैठकमा पनि उहाँले हिन्दु राष्ट्रको कुरा उठाउनु भएको थियो भने प्रमुख तीन दलका अध्यक्ष केपी शर्मा अ‍ोली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बैठकमा पनि उहाँले हिन्दु राष्ट्रको विषय प्रवेश गराउनु भएको थियो । हिन्दु राष्ट्रप्रति देउवा मात्र होइन, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा.सिके राउत, जसपाका अध्यक्ष उपेन्द्र यादव पनि सकारात्मक हुनुभएको छ ।
देउवा जतिको स्पष्ट रुपमा यी नेताहरुले अभिव्यक्ति नदिए पनि विभिन्न समयमा आशय व्यक्त गरिरहनु भएको छ । एउटा टिभीमा अन्तरवार्ता दिँदै सिके राउतले संविधानमा सनातन धर्मको कुरा उल्लेख गरिएको छ, त्यो हिन्दु राष्ट्रकै अवधारणा हो भन्नुभएको थियो । ठिक त्यही लाइनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि अभिव्यक्ति दिनुभएको छ । उहाँले अहिलेको संविधान पनि हिन्दु राष्ट्रकै संविधान रहेको दावी गर्नुभयो ।
पार्टीको आधिकारिक युटुयुव च्यानेलमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष यादवले अहिलेको संविधान हिन्दु राष्ट्रकै संविधान हो, हिन्दु राष्ट्रका लागि टाउको दुखाईको विषय नरहेको स्पष्ट पार्नुभएको छ । नेपालको संविधानमा स्पष्ट रुपमा हिन्दु लेखिएको छ भन्दै उहाँले पहिलाको संविधान र अहिलेको संविधानमा खासै फरक नदेखिएको पनि दावी गर्नुभयो । अहिलेको संविधानमा पनि सनातन हिन्दु धर्मलाई मान्यता दिएको कारण अहिलेको संविधान पनि हिन्दु राष्ट्रको संविधान रहेको बताउनु भयो ।
तीन दलका शीर्ष नेताको बैठकमा देउवाका प्रस्तावमाथि एमालेका अध्यक्ष अ‍ोली र प्रधानमन्त्री प्रचण्डले मौन समर्थन जनाई सक्नुभएको छ । गत जेठमा भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री प्रचण्ड उतैबाट हिन्दु राष्ट्रको एजेण्डा लिएर स्वदेश फर्किनुभयो । भ्रमणको क्रममा भारत मध्यप्रदेशको उज्जयनमा महाकालेश्वर मन्दिरमा गेरुवावस्त्र धारण गरी प्रचण्डले जुन अवतारमा आउनु भएको थियो, नेपाल हिन्दु राष्ट्र बन्न गइरहेको छ भनि संकेत थियो ।
भारत भ्रमण सकाएर आएपछि भित्रैभित्र हिन्दु राष्ट्र निर्माणको नाममा गृहकार्य सुरु भइसकेको छ । ओली, देउवा, उपेन्द्र यादव, महन्थ ठाुकर, सिके राउतलगायतका नेता भित्रभित्रै सहमति जनाई सकेपछि प्रधानमन्त्री प्रचण्ड एउटा कुनै मौकाको तालासमा हुनुहुन्छ । प्रचण्डले आफ्नो कार्यकालमा हिन्दु राष्ट्र घोषणा नगरे पनि देउवाले आफ्नो कार्यकालमा हिन्दु राष्ट्रको घोषणा गर्ने धेरै सम्भावना रहेको छ ।
संविधानमा उल्लेख भएको धर्मनिरपेक्षताको विषयमा कांग्रेस नेता शंशाक कोइराला, शंकर भण्डारी, मधु आचार्यलगायतको ठूलो पंक्ति असहमत रहेको छ । त्यसैले, यो समूहले काँग्रेसको बस्न लागेको महासमितिको बैठकमा पनि संविधान संशोधन र सनातन धर्मको पक्षमा एजेण्डा प्रस्तुत गर्ने अनौपचारिक तयारी पनि गरेको बुझिएको छ । पछिल्ला दिनमा धर्मको विषयमा शेखर कोइरालाको मत पनि धेरै फरक भइरहेको छ ।
शेखर कोइरालालाई हिन्दु राष्ट्रको बारेमा विभिन्न सञ्चारमाध्यममा सोधेको प्रश्नमा उहाँले नाइ कतै भन्नुभएको छैन । घुमाउरो तरिकाले हिन्दु राष्ट्र हुनुपर्ने कुराको संकेत गर्नुभएको छ । महामन्त्री गगन थापाले औपचारिक रुपमा धर्मको विषयमा केही नबोले पनि भित्रभित्रै पार्टीका नेताहरुलाई साथ दिइरहनु भएको छ । हरेक दिन टिका र फूल लगाएर कार्यक्रम पार्टीको कार्यक्रममा निस्किनुहुन्छ । त्यसलाई धेरैले गगनलाई हिन्दु राष्ट्रसँग पनि जोडेर हेर्ने गरेका छन् ।
संविधान निर्माणको चरणमा भारत पुगेका देउवा, प्रचण्डसहितका नेताहरूले धार्मिक स्वतन्त्रताको पक्षमा सहमति जनाएर आएको चर्चा पनि हुन्छ । शीर्ष नेता अन्तिममा संविधानमा धर्मनिरपेक्षता उल्लेख गर्न राजी भएपछि भारत रुष्ट भएको र २०७२ को संविधान अस्वीकार गरी नाकाबन्दी लगाएको विश्लेषण हुने गरेको छ ।
अब ती शीर्ष नेताहरुले त्यस्तो रिश्क लिने पक्षमा छैन । पछिल्ला दिनमा एमाले अध्यक्ष केपी ओलीको सनातन धर्मको पक्षमा आउने अभिव्यक्ति, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा क्रममा उज्जयनमा भएको तीर्थाटन र अहिले देउवाको अभिव्यक्तिले परिस्थितिमा फेरबदल हुन खोजेको अर्थमा विश्लेषण भइरहेको हो ।

तपाईको प्रतिक्रिया