उपेन्द्र यादवको व्यस्तता, आन्दोलनका लागि यसरी तयार हुँदैछ मधेश

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव २०६३ को मधेशी जनअधिकार फोरमको अवस्थामा फर्किनु भएको छ । २०६२–०६३ तिर जसरी मधेशी जनअधिकार फोरमलाई लिएर मधेशलाई आन्दोलनका लागि तर गरेर २०६४ मा मधेशमा आन्दोलनको आँधीबेहरी ल्याउनु भएको थियो । ठिक अहिले त्यसरी मधेशलाई जगाउनेतिर लाग्नु भएको छ । उहाँले भन्नुहुन्छ, ‘मधेश एउटा आन्दोलनको आवश्यकता छ र यो आन्दोलन वारपारको हुन्छ ।’
त्यसका लागि उहाँ दिनरात मेहनत गरिरहनु भएको छ । उहाँ एक्लै भएपनि प्रशिक्षणदेखि लिएर विभिन्न अन्तरक्रिया गोष्ठी कार्यक्रम गर्नुको साथै पार्टी प्रवेशलगायत अन्य भेटघाटलाई तीब्रता दिनुभएको छ । अहिले उहाँको अधिकाँश समय तराई मधेशमा बित्ने गरेको छ । कुनै काम पर्यो भने मात्र उहाँ काठमाडौ आउनु हुन्छ नभए अधिकाँश समय मधेशमा बिताउँदै आउनु भएको छ ।
२०६३–०६४ को मधेश आन्दोलनको तयारी चलि नै रहेको थियो कि अचानक आन्दोलनको सुरुवात भएको थियो । त्यो आन्दोलनमा प्रशिक्षित युवाहरु थिएन । आफ्नो अधिकार र पहिचानका लागि लडाई लड्यो तर वैचारिक रुपमा पराजित गर्न नसकिएको निष्कर्ष निकाल्दै उपेन्द्र यादवले यसपटक युवालाई प्रशिक्षण दिइरहनु भएको छ ।
आन्दोलनका लागि युवा तयार गर्नका लागि प्रशिक्षक तयार गर्ने र ती प्रशिक्षकले आन्दोलनको क्रममा वैचारिक र सैद्धान्तिक रुपमा त्यसलाई लिड गर्ने भनि सोचका साथ अध्यक्ष उपेन्द्र यादवले तयारी थाल्नु भएको छ । त्यसका लागि हालसम्म उहाँले पाँच हजार भन्दा बढीलाई प्रशिक्षकको तालिम दिइसक्नु भएको छ । अब उनीहरुले पनि टोलटोल, गाउँगाउँमा गएर तालिम दिने उपेन्द्र यादवको आन्तरिक तयारी रहेको छ ।
तीन महिने अभियानमा पार्टीले संगठन निर्माण तथा पुनर्गठन गर्ने कार्य गर्नुको साथै प्रशिक्षण पनि सञ्चालन गर्दै आइरहेको छ । ती सबै प्रशिक्षणमा अध्यक्ष यादव आफै स्वयं सहभागी हुँदै आइरहनु भएको छ । जसपाले प्रदेशदेखि जिल्ला स्तरमा पनि प्रशिक्षण कार्यक्रमको आयोजना गर्दै आउनु भएको छ । अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, सुदुरपश्चिम प्रदेश, लुम्बनी प्रदेशमा गएर प्रशिक्षण दिइसक्नु भएको छ । त्यस्तै, धनुषा, महोत्तरी, मोरङलगायतका जिल्लामा प्रशिक्षण दिइसकेका छन् । त्यस्तै, उहाँले भातृ संगठनलाई पनि प्रशिक्षण दिनुभएको छ । अरु बाँकीलाई पनि प्रशिक्षण दिइने भने उहाँको आन्तरिक तयारी चलिरहेको छ ।
उहाँले पार्टीको वैचारिक धारणा, देशको समसामयिक राजनीतिक अवस्था, राजनीतिक दलका तुलनात्मक अध्ययन, अन्तराष्ट्रिय अवस्थालगायतको विषयमा प्रशिक्षण दिने गर्नुभएको छ । उहाँले एउटा कार्यक्रममा ६ घण्टादेखि ८ घण्टासम्म प्रशिक्षण दिँदै आउनु भएको छ ।
अध्यक्ष यादवले भन्नुभयो, मैले आठ घण्टा मात्र होइन, दिनभर पनि कुनै पनि विषयमा कुरा राख्न सक्छु, म मास्टरी गरेर आएकाले मलाई सजिलो भएको छ ।’ पछिल्लो समय प्रायः प्रत्येक दिन नेता तथा कार्यकर्तालाई कुनै नकुनै रुपमा प्रशिक्षण दिइरहेको र यसले राजनीतिक चेतनाको विकास भइरहेको आफूले पाएको उहाँले बताउनु भयो ।
यो चार वर्षमा १० हजार प्रशिक्षक तयार गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै उहाँले जबसम्म राजनीतिक रुपमा नेता तथा कार्यकर्ता प्रशिक्षित हुँदैन तबसम्म मधेशी, आदिवासी जनजाति, उत्पीडित समुदायले मुक्ति नपाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मधेश मुक्तिका लागि अर्को संघर्ष गर्न यो तयारी भइरहेको छ, राज्यले मधेशसँग धोकाधडी गरेको छ त्यसका लागि संघर्ष गर्न म आफै तयारीमा लागेको छु ।’

तपाईको प्रतिक्रिया