Khadya Bibhag

जसपाले पारित गर्यो महाधिवेशन कार्यतालिका

काठमाडौँ पुस २७ गते । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठकले पार्टीको महाधिवेशन सम्बन्धी कार्यतालिका पारित गरेको छ ।
आज बसेको बैठकले आगामी जेठ २८–३० गतेसम्म जनकपुरमा आयोजना हुने पार्टी महाधिवेशनको कार्यतालिका पारित गरेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण वस्नेतले बताउनुभयो ।
पारित कार्यतालिका अनुसार संगठित पार्टी सदस्यता वितरण तथा नविकरण गर्न फागुन २५ गतेसम्मको समय सीमा तोकेको छ । त्यसै गरी संसदीय निर्वाचन क्षेत्र अनुसार संगठित पार्टी सदस्यहरुको अभिलेख तयार गरी जिल्ला समितिले राष्ट्रिय समिति र राष्ट्रिय समितिले प्रदेश समितिमार्फत केन्द्रीय कार्यालयमा चैत्र १० गतेसम्म पठाइसक्नु पर्नेछ ।
यसरी सदस्यता वितरण गर्दा मंसिर ३० गतेसम्म पार्टी सदस्यता प्राप्त गरिसकेका वा पार्टी संगठनमा आवद्ध तथा पार्टी संगठनमा कार्यरत पार्टी सदस्यलाई मात्र संगठित पार्टी सदस्यता प्रदान गर्नुपर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
उक्त पार्टी संगठित सदस्यता सम्बन्धी दाबी बिरोध अथवा उजुरी दिने व्यवस्था गरिएको छ र त्यसका लागि चैत्र १० गतेसम्मको समयावधि तोकिएको उहाँले जानकारी गराउनुभयो ।
संसदीय निर्वाचन क्षेत्रको प्रतिनिधि निर्वाचनका लागि पार्टी केन्द्रीय कार्यालयले निर्वाचन समिति गठन गरेको बताइएको छ । महाधिवेशन प्रतिनिधिको चयन तथा निर्वाचन चैत्र २० गतेदेखि २०८१ बैशाख २० गतेसम्म गरिसक्नुपर्ने छ । यसरी निर्वाचित महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रीय कार्यालयमा २०८१ बैशाख ३० गतेभित्र पठाइसक्नु पर्ने प्रावधान राखिएको उहाँले बताउनुभयो ।
महाधिवेशन सम्बन्धी प्रक्रिया एवम् कार्यविधि केन्द्रीय कार्यकारिणी समितिले तोक्ने तथा केन्द्रीय निर्वाचन समिति गठन गर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया