Khadya Bibhag

थमन बिक कुटपिटका फोटो खिचेका युवा खै ? (फरकमत)

–रञ्जन भण्डारी माली
२०७२ सालमा मधेश आन्दोलनको बिगुल फुकिदा म पत्रकारितामा प्रवेश गरेको केही समय भइसकेको थियो । र पत्रकारिता जिवनको यो मेरो पहिलो आन्दोलनको रिर्पोटिंगको अनुभव थियो । विस्तारै दिन बित्दै जाँदा आन्दोलनले स्वरुप लिदै थियो । त्यती बेला म रातोपाटी र मिथिलाञ्चल एफएमको लागि तथा सम्भवतः द पब्लिक टुडेमा समाचार पठाउदै थिए । सायद म अप्पन टिभीमा पनि त्यही बेला आवद्ध थिए । केही मित्रहरुले आफ्नो रेडियोमा पनि कहिले काहि लाईभ जोड्ने गरेका थिए । केहि जिल्ला भित्रका केही अन्य जिल्लाको एफएमहरुले निरन्तर सम्पर्क गर्ने गरेका थिए । पुरै याद छैन तर सायद त्यती बेला म नयाँपत्रिकासंग आवद्ध भएको थिएन वा थिए ठ्याक्कै याद भएन ।

सोहि बेला काठमाडौं ब्युझाउन नाकामा धर्ना लगायतका कार्यक्रम मधेशवादी दलहरुले निरन्तर गर्दै थिए । एकातर्फ नाकामा धर्ना अर्को तर्फ शहरमा आन्दोलन चल्दै गर्दा भदौं २३ गते अचानक जलेश्वरमा आन्दोलनकारीको भिड बढेको थियो । त्यही बेला सुरक्षाकर्मीबाट पहिलो पटक चार जनाको ज्यान जानेगरि गोली चलाइएको थियो । गोली लागेर केही घाइते समेत भएका थिए । एकडाराका शंकर पासमान सहितका केही व्यक्ति सोही दिन गोली लागेर घाइते भएका थिए । प्रहरीले लाठीचार्ज समेत गरेको कारण पक्कै कोही घाइते भएका होलान् भनि गल्लीकै बाटो प्रयोग गरि जलेश्वर अस्पताल पुगेको थिए । त्यही गोली लागेका घाईतेहरु ल्याइदै थिए । त्यो दिन मलाई पनि आश्रु ग्यास लागेको थियो ।

मेरो आँखाकै अगाडी गोली लागेका व्यक्तिहरुले अन्तिम साँस लिएको प्रत्यक्ष देखेको थिए । मेरो जिवनको त्यो पहिलो सहन नै नसक्ने अवस्था थियो । त्यहीबेला पत्रकार मित्र घनश्याम मिश्रले लाईभको लागि मलाई फोन गर्दा म फोनमै रोएका थिए । पछि उहाँले मलाई फोनमै निकै बेर सम्झाउनु भयो । उहाँले सम्झाए पछि मैले आफूलाई सम्हालेका थिए । त्यो दिनको अवस्था हेरेर हरेकको मनमा सुरक्षाकर्मीप्रति आक्रोस थियो । जुन स्वभाविक थियो ।

लगत्तै सुरक्षानिकायले कर्फ्यु लगाएको थियो । दुई दिनपछि मात्र बिहान केही समयको लागि कफर््यु खोल्दा मानिसहरु अतिआवश्यक कामको लागि बजार निस्केका थिए । त्यही बेला हो सशस्त्र असई थमन विकलाई जलेश्वर बजारमा घेराहाली कुटपिट गरेको । त्यही भिडियो खिचेका युवक अझै घर फर्कन सकेका छैनन् । घाईते अवस्थामा असई बिकलाई जलेश्वर अस्पताल ल्याउदा उनी बोल्न सक्ने अवस्थामा थिए । एम्बुलेन्समा हालेर जनकपुर लग्ने क्रममा प्रकौलीमा एम्बुलेन्समाथि ढुंगामुढा गरिएको बताईन्छ र पछि एम्बुलेन्स चालकले बाटो परिवर्तन गर्दै सोनुषडाको बाटो रोजेका थिए । तर त्यही बाटोमा एम्बुलेन्सबाट थुतेर उनको हत्या भएको हो ।

यदि यो आन्दोलन युद्ध नै थियो भने युद्धको सिद्धान्त छ रात्रीकालिन समयमा हमला नगर्ने र घाईते भइसकेकोलाई नमार्ने वा सरेन्डर गरेकोलाई नमार्ने । तर उनी मारिए । निश्चय पनि दुई दिन अगाडीमात्र जलेश्वरले चार जना युवा गुमाएको थियो । जलेश्वर र जलेश्वरमा रहेर आन्दोलन गरिरहेकाहरु त्यती बेला शोक र आक्रोशमा थिए । तथापी एम्बुलेन्सबाटै थुतेर मार्नु गलत हो । तर कसले मार्यो त्यो पत्ता लगाउने काम प्रहरीको हो र प्रमाण हेरेर फैसला गर्ने काम अदालतको हो । त्यसमा मैले भन्नु केही छैन । तथापी प्रहरीले घटनामा नभएकाहरुलाई समेत विभिन्न दबावमा नाम हालेर मुछेको आरोप प्रहरीमाथि लागेको छ ।

चारजना सर्वसाधारणको मृत्युको आक्रोशले एक सशस्त्र प्रहरीको मृत्यु र सशस्त्र प्रहरीको मृत्युको आक्रोश स्वरुप फेरी दुई दिन पछि दुईजनामाथि गोली प्रहार गरि हत्या गरिएको बिर्सिने घटना होइन । पहिलो घटनाको प्रतिशोध दोस्रो घटना र दोस्रो घटनाको प्रतिशोध तेस्रो घटना भन्दा सायद सहि होला ।

तथापि दल र सुरक्षा निकाय दुईतर्फ केही समझदारी अपनाइएको भए सम्भवतः आन्दोलनको यस्तो भयावह स्वरुप नै हुने थिएन । त्यहाँ दलहरु समेतले आन्दोलनको नेतृत्वमा चुक गर्दा भिड अनियन्त्रित भई सृजित अवस्थाको नतिजा सात जनाको ज्यान गएको मेरो बुझाई छ । सुरक्षाकर्मीहरुले समेत थप सहनशिलता अपनाएको भए सम्वतः घटना रोकिन सक्ने थियो ।

घटना घटिसकेको अवस्थामा सुरक्षाकर्मीको हत्या भएको भनि पिडित पक्षबाट जाहेरी परेको र अहिले सोही जाहेरी मुद्दामा परिणत भई अदालतको आदेशले आरोपीमध्येको सात जनालाई दोषी ठहर गरि जन्मकैदको सजाय सुनाएको हो । तर त्यही छ जना सर्वसाधारणको हकमा हालसम्म कुनै जाहेरी गएको भनि जानकारी हुन सकेको छैन । तथापि रामविवेक यादवका बुवाले जाहेरी लिएर जाँदा सुरक्षा निकायबाट सो जाहेरी नलिइएपछि पुनरावेदन पुगिएकोमा त्यहाँ दरपिठ गर्दै जाहेरी फिर्ता गरि दिएको अवस्थामा न्याय केवल शक्ति र सत्ताकै लागि रहेको छ भनि आम जनताको बुझाई हुन गयो ।

यसमै राष्ट्रिय मानव अधिकार आयोगकै तर्फबाट घटनाका सरोकारवाला व्यक्तिमाथि कार्यवाहीको सिफारिस गर्न सकिने भएपनि यसबारे आयोगले आन्दोलनमा मरेकाहरुको हकमा उनलाई गोली हान्ने वा गोली हान्ने आदेश दिनेहरुमाथि अनुसन्धान र कार्यवाहीको सिफारिस गरे वा नगरेको अझै खोजबिन गर्न आवश्यक छ ।
(लेखक रञ्जन भण्डारी माली महोत्तरीका पत्रकार हुनुहुन्छ)

तपाईको प्रतिक्रिया