मधेशमा महिला हिंसा

‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भनि मूल नाराका साथ मंसिर ९ गतेबाट सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मंसिर २४ गते सम्पन्न भएको छ । यो अभियानले महिला हिंसा कति कम हुन्छ, त्यो त अध्ययनकै विषय हुन जान्छ तर यस्तो अभियानले समाजमा एक किसिमको चेतना र जागरण ल्याउने काम अवश्य भएका हुन्छन् ।
विभिन्न संघ संस्था तथा सरकारी निकायले देशैभरी विभिन्न कार्यक्रम गरी यो महिला हिंसा दिवस मनाएका छन् । तर सरकारी तथ्याङ्क हेर्न हो भने विगतको भन्दा महिला हिंसामा कुनै कमै आएको छैन, बरु बढेकै देखिन्छ । मान्छे जति शिक्षित हुँदै गइरहेका छन्, त्यति नै महिला हिंसामा वृद्धि भएको विभिन्न रिर्पोटले देखाइ रहेका छन् । विभिन्न रिपोर्टहरुलाई अध्ययन गर्दा पछिल्लो समय गरिब तथा अशिक्षित महिलामाथि हिंसा हुनुभन्दा पढे लेखेका र हुनेखाने परिवारमा बढी भएको देखिन्छ । र त्यस्तो हिंसा सबभन्दा बढी आफन्त र आफ्ना नजिकबाट नै भएको देखिन्छ ।
श्रीमानबाट, सासु ससुरा, भाइ, भाउजुलगायतबाट महिलामाथि हिंसा हुने गरिन्छ । महिला हिंसा घरबाट नै सुरु भएको देखिन्छ । तराई मधेशमा देखिएको कुरा, श्रीमान विदेश गएको अवस्थामा विवाहित महिलामाथि सबभन्दा बढी हिंसा हुने गरेको देखिन्छ । श्रीमानले पैसा पठाउँदा त्यसको व्यवस्थापन तथा खर्चबर्च गर्नका लागि घरमा विवाद हुन्छ र महिलामाथि हिंसा हुने गरेको देखिन्छ । श्रीमान घरमा नभएको मौका पारेर छरछिमेक तथा आफन्तबाट ती महिलालाई कुदृष्टिले हेरिरहेका हुन्छन् । उनीमाथि अन्य हिंसात्मक प्रहार भएको हुन्छ । महिला हिंसा हुने अर्को सबभन्दा महत्वपूर्ण कारण भनेको दहेज हो । दहेजकै कारण कतिपय महिलाको हत्या भएका छन् भने कतिपय महिलामाथि श्रीमान, सासु, ससुराबाट दुरव्यवहार भइरहेका हुन्छ ।
छोराछोरीमाथिको भेदभावले पनि समाजमा महिला हिंसामा वृद्धि भएको हो । कुनै महिलाले छोरीलाई नै जन्म दिएका छन् भने घरमा त्यसमाथि हिंसा हुने, दुरव्यवहार र भेदाभाव हुने निश्चित हुन्छ । छोरालाई जन्म दिएन भने घरबाट निकाला गर्ने, छोरालाई अर्को विवाह गर्ने, घरबाट निस्कन नचाहेमा हत्यासम्म गर्ने कार्य तराई मधेशमा देखिन्छ । यस्तो काममा मधेश सबभन्दा अगाडि रहेको तथ्यांकले देखाउँछ ।
आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि असोज तीन महिनासम्म महिला तथा लैङ्गिक हिंसासम्बन्धी देशभर छ हजार ३९ वटा उजुरी प्रहरीमा परेका छन् । जसमध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा एक हजार ७९१ र सबैभन्दा कम गण्डकीमा २८२ हिंसाका घटना दर्ता भएका छन् ।
यो वर्ष पछिल्लो साउनदेखि असोज महिनासम्ममा मधेशमा एक हजार ७९१, कोशीमा ७८९, बागमतीमा ४६९, गण्डकीमा २८२, लुम्बिनीमा ९८८, कर्णालीमा ३२५, सुदूरपश्चिममा ४६८, उपत्यकामा ९२६ महिला सम्बन्धी हिंसा भएको देखिन्छ । देशभरका छ हजार ३९ मध्ये चार हजार ८५१ घटना घरेलु हिंसासम्बन्धी छन् । त्यसमध्ये मधेशमा एक हजार ६२५, कोशी प्रदेशमा ५३७, बागमतीमा ३४४, गण्डकीमा २१०, लुम्बिनीमा ७९०, कर्णालीमा २१९, सुदूरपश्चिममा ३७३, उपत्यकामा ७५३ गरी जम्मा चार ८५१ वटा घटना दर्ता भएका छन् ।
घरेलु हिंसापछि धेरै जबरजस्ती करणीसम्बन्धी घटना छन् । यस सम्बन्धमा देशभर ६६७ मध्ये कोशीमा १५१, मधेशमा ९२, बागमतीमा ६७, गण्डकीमा ४२, लुम्बिनीमा १११, कर्णालीमा ६३, सुदूरपश्चिममा ४३, उपत्यकामा ९८ घटना छन् ।
महिला हिंसा कम गर्नका लागि एक त शिक्षामा जोड दिनु नै पर्छ त्यो भन्दा पनि दोषीलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ । खासगरी तराई मधेशमा महिला हिंसा, घरेलु हिंसा तथा जवर्जस्ती करणी जस्ता आपराधिक घटना लुकाउने काम बढी हुन्छ । घरमा भएको घटनालाई घरमै दबाउने प्रयास भइरहेका हुन्छन् भने समाजमा भएको घटनालाई समाजमै मिलाउने दबाउने प्रयास भइरहेका हुन्छन् ।
राजनीतिक गर्ने व्यक्तिहरुले आफ्नो पहुँचको आधारमा जस्तोसुकै घटनालाई दवाउने प्रयास गरेका हुन्छन् । त्यसले गर्दा अपराधीको मनोबल बढेको हुन्छ र त्यस्ता घटनामा कमी आउनुको सट्टा बढेको देखिन्छ । छानविनमा जो दोषी देखिएका हुन्छन् त्यसलाई कडाभन्दा कडा सजाय दियो भने अर्को त्यस्तो अपराध गर्न एक पटक अवश्य सोचलान् । तर अपराधीलाई कारवाही गर्नु कहाँ हो कहाँ बरु त्यसलाई उम्काउने काम भइरहेका हुन्छ ।

तपाईको प्रतिक्रिया