Khadya Bibhag

साढे छब्बीस बिघामा थारु आलु खेती

कैलालीको कैलारी गाउँपालिकामा साढे २६ बिघा जमिनमा रैथाने थारु आलुको खेती गरिएको छ । पकेट क्षेत्र बनाएर विभिन्न वडामा थारु आलुको खेती गरिएको हो । थारु आलुको उत्पादन वृद्धि एवम् रैथाने बालीको संरक्षण गर्ने उद्देश्यका साथ महिला कृषक समूह यस कार्यमा अग्रसर छन् । उनीहरुले सामूहिक रुपमा आलु खेती गरेका हुन् । कैलारी गाउँपालिकाको कार्यालयका अनुसार वडा नम्बर २ को बड्का मुडामा सात बिघा र वडा नम्बर २ मा १४ बिघा जमिनमा थारु आलुको खेती गरिएको छ । बड्का मुडामा आलु प्रवद्र्धन कार्यक्रम र वडा नम्बर २ को कैलारी, बसौटी लगायतका गाउँमा रैथाने बाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत थारु आलु खेती गरिएको हो ।
दुवै वडालाई थारु आलु पकेट क्षेत्र बनाएर गाउँपालिकाको कार्यालयले सो खेतीका लागि अनुदान सहयोग दिएको कृषि शाखा प्रमुख मैँया चौधरीले बताउनुभयो । उहाँका अनुसार यस वर्ष कैलारीमा थारु आलु उत्पादनमा वृद्धि गर्ने लक्ष्य राखिएको छ । यसैगरी, कृषि ज्ञान केन्द्रको सहयोगमा वडा नम्बर ७ को छटकपुर बसन्तामा साढे पाँच बिघा जमिनमा थारु आलु खेती गरिएको छ । सो वडाको साढे चार बिघाको एक प्लट र १०÷१० कट्ठाको दुई छुट्टाछुट्टै प्लटमा थारु आलुको खेती गरिएको छ ।
रैथाने बाली थारु आलु अन्य आलुको तुलनामा स्वादिष्ट र मिठो मानिन्छ । थारु समुदायमा पाइने यो आलुलाई धेरैले मन पराउने गरेका छन् । विगतमा थारु आलुको खेती एकल रुपमा परम्परागत तरिकाले हुने गरेकोमा पछिल्लो समय स्थानीय सरकार, कृषि ज्ञान केन्द्रको सहयोगमा आधुनिक तरिकाले सामूहिक रुपमा आलु खेती गर्न थालिएको छ । उत्पादित थारु आलु गाउँघरसहित धनगढीमा बिक्री हुने गरेको जनाइएको छ ।
यसैबीच, थारु आलु उत्पादक महिला कृषक समूहलाई कृषि उपकरण सहयोग गरिएको छ । कैलारी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा थारु आलु खेतीमा संलग्न कृषक समूहलाई कृषि उपकरण दिएको हो । वडा नम्बर २ स्थित जागरण महिला कृषक समूहलाई दुई वटा पावर ट्रिलर र दुई वटा पानी तान्ने मोटर दिएको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । कृषकलाई कृषि उपकरण हस्तान्तरण गर्दै गाउँपालिकाका उपाध्यक्ष भगवती चौधरीले थारु आलु उत्पादन बढाउन कृषकलाई आग्रह गर्नुभयो । उत्पादित आलुको बजारीकरणमा गाउँपालिकाले सहयोग गर्ने पनि उहाँको प्रतिवद्धता थियो ।

तपाईको प्रतिक्रिया