Khadya Bibhag

विश्वविद्यालय भवनको शिल्यानासपछि सिके राउतको आयो यस्ता विज्ञप्ति

मधेश प्रदेशका मुख्यमन्त्री तथा जसपा अध्यक्षको निर्देशनमा सप्तरीमा भएको प्रहरी दमनको घोर-भर्त्सना।
=========================================================
२०८० माघ ८ गते मधेश कृषि विश्वविद्यालयको ऐन-कानून र कार्यविधि विपरीत, सो विश्वविद्यालय हेर्ने मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालयको निर्णय विपरीत, सो विश्वविद्यालयका सहकुलपति तथा सभा (सिनेट)का अध्यक्ष मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री समेतलाई जानकारी नगराई, दलीयकरण, अनियमितता, डि.पि.आर. तथा ठेक्कापट्टा सम्झौतामा भएको भ्रष्टाचार आदि विषयलाई लिएर हाल स्थानीय जनताहरूले गरिरहेको आन्दोलनको अपहेलना गर्दै तथा सप्तरीका आमजनताको चाहना विपरीत सो विश्वविद्यालयको शिलान्यास कार्यक्रम जनता समाजवादी पार्टीको पार्टीगत कार्यक्रमको रूपमा सैकडौं प्रहरी परिचालित गरेर घेराको बीचमा गर्ने प्रयास गरियो।
सो क्रममा सरोकारवाला मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मा. महेश प्रसाद यादव आफैं पनि उपस्थित हुन खोज्दा उहाँमाथि सांघातिक हमला गरी टाउको फुटाइयो र उहाँको अंगरक्षक समेतलाई घाइते बनाइयो। त्यसैगरी गाँधीवादको अनुशरण गर्दै प्रमुख अतिथिको आकांक्षीलाई स्वागत गर्न फूलमाला लिएर जानुभएका मा. सतिश कुमार सिंह, मा. भाग्यश्री चौधरी, मा. रंजु खंग सहित का सैकडौं जनतामाथि प्रहरी लगाएर लाठी चार्ज गरी दर्जनौंलाई घाइते बनाइयो। उनीहरूको उपचार अस्पतालमा भइराखेको छ।
यस कार्यक्रमको विषयमा सो पार्टीले बलपूर्वक कार्यक्रम गराउन नजिकका गाउँहरूमा लडाकू र लठैतहरू समेत जम्मा गरेको, बाँसको भाटाहरू ठूलो संख्यामा बनाएर राखेको तथा हातहतियार पनि तैयार अवस्थामा राखेको सूचना प्राप्त भएको, सो संगठनले यस अगाडि गौरमा नरसंहार गरी दर्जनौंको हत्या गरेको र सप्तरीमा पनि नरसंहारको घटना मच्चाउन सक्ने आँकलन गर्दै अप्रिय घटना घट्न नदिन सो गैरकानूनी गैरवैधानिक कार्यक्रम स्थगित गराउन तथा सप्तरी जिल्लामा शान्ति सुरक्षा कायम गरिदिनका लागि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सप्तरी तथा जिल्ला प्रहरी कार्यालय, सप्तरीलाई हामीले पत्राचार समेत गरेका थियौं।
तर नेकपा(माओवादी केन्द्र) नेत्तृत्वको नेपाल सरकार र जसपा नेत्तृत्वको प्रदेश सरकारले लोकतन्त्रको न्यूनतम मर्यादा पनि कायम नराख्दै मन्त्री, प्रदेश सभासद् तथा आमजनतामाथि बल प्रयोग गरी दमन गर्दै, लाठी चार्ज गर्दै, घाइते बनाउँदै फासीवादी प्रवृत्ति देखाउने मात्रै होइन, मधेशमा गुण्डाराज र जंगलराजको पक्षपोषण गर्दै आएको कुरा साबित भएको छ। यसअगाडि पनि बाराको उपनिर्वाचनमा यही प्रवृत्ति देखिएकै थियो।
साथै यही २०८० पौष १६ गते काठमाडौंमा राष्ट्रिय पोशाक दिवस (धोती दिवस) मनाउने क्रममा यही सरकारले आफ्नै संघीय मन्त्री र राष्ट्रिय अध्यक्षलाई सहित ५१ जनालाई धोती खोल्दै लछारपछार गर्दै पक्राऊ गरेको घटना पनि सरकारको निरंकुश तानाशाही फासीवादी असहिष्णु चरित्र देखाउँदै आएको छ।
नेपाल सरकार तथा मधेश प्रदेश सरकारबाट जनता समाजवादी पार्टीको निर्देशनमा भएको यस चरम दमनको हामी घोर-भर्त्सना गर्दछौं। पार्टीको बैठकले यस सम्बन्धी थप निर्णय गर्ने जानकारी समेत आम-जनता तथा जनमत पार्टीका नेता कार्यकर्तालाई गराउँदछौं। यस चरम-दमनका बाबजूद संयमता अपनाएर सप्तरी जिल्लामा ठूलो दङ्गा हुनबाट बचाउनु भएकोमा सबै जनताप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

तपाईको प्रतिक्रिया